स्वास्थ्य

काभ्रेपलाञ्चोकमा आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो ।

केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५० हजार एक सय बिरामीले सेवा लिएका थिए । अघिल्लो आवमा ४२ हजार ३८ बिरामीले सेवा लिएका थिए । केन्द्रका प्रमुख डा बसंवदम्बा कौडिन्यायनीले नेपालमा कोरोना सङ्क्रमणपछि आयुर्वेद उपचार लिनेको सङ्ख्या बढेको बताए । “चालु आवमा पनि सेवा लिने विगतभन्दा दोब्बर बढ्ने देखिएको छ”, उनले भने । चालु आवमा हालसम्म बनेपा सेवा केन्द्रबाट मात्रै १५ हजार जनाले सेवा लिइसकेका छन् ।

जिल्ला स्वास्थ्य केन्द्र बनेपा, धुलिखेल आयुर्वेद औषधालय, मङ्गलटार, दाप्चा, बालुवा आयुर्वेद औषधालय, नागरिक आरोग्य केन्द्र भुम्लु, बेथानचोक, मण्डननेउपुर र पनौतीमार्फत बिरामीलाई आयुर्वेद उपचार सेवा प्रदान गरिएको डा कौडिन्यायनीले बताए । उनले भने, “केन्द्र, विभिन्न स्थानमा रहेका आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा केन्द्रमार्फत जिल्लामा रहेका बिरामीलाई उपचार सेवा प्रदान गरिँदै आएको छ ।”

आयु्र्वेद उपचार सेवाअन्तर्गत जिल्लामा बहिरङ्ग सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, स्तनपायी आमा, योग सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, स्वास्थ्य जीवन कार्यक्रम तथा ल्याब सेवा प्रदान गर्दै आएको छ । औषधालय र आरोग्य केन्द्रले ल्याबबाहेकका सेवा प्रदान गर्दै आएका छन् ।

यसैगरी केन्द्रमार्फत मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि समावेश गरिने भएको छ । डा कौडिन्यायनीका अनुसार नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने छ । बनेपामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि रु पाँच करोड विनियोजन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत आएको उक्त बजेटबाट प्रारम्भिक चरणमा २५ शय्याबाट सेवा प्रदान गरिने र क्रमशः ५० शय्याको अस्पताल बनाइने बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो । अस्पतालका लागि बनेपा नगरभित्र जग्गा व्यवस्थापन गरिनेछ । काभ्रेपलाञ्चोकमा केही महिनाअघि जिल्ला नागरिक आरोग्य समिति पनि गठन गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!