सौन्दर्य

शरीरमा अनावश्यक रौँ हटाउने तरिका

शरीरमा अनावश्यक रौँ हटाउने तरिका । मानिसको शरीरमा अनगिन्ती रौं हुन्छन् । बाल्यावस्थामा त्यति रौं नदेखिए पनि युवावस्थामा शरीरभरि रौं आइसकेको हुन्छ । अलि काला र मोटा रौं सामान्य किसिमले सबैले देख्न सकिने हुन्छ भने भुवादार मसिना रौं झट्ट हेर्दा नदेखिने हुन्छ । यस्तो भुवादार रौं प्रायः सबैको शरीरभरि हुन्छ र नियालेर हेरेमा मात्र देख्न सकिन्छ । तर कसै–कसैको त स्पष्ट देखिने गरी शरीरका अनावश्यक ठाउँमा पनि रौं आएको हुन्छ ।

पुरुषमा दाह्री–जुँगा आउनु एउटा स्वाभाविक जैविक प्रक्रिया हो । तर महिलाको अनुहार र हातगोडामा आएका यस्ता रौंले चिन्ता बढाउने गर्छ । अनुहारमा आएको रौं सजिलै देखिने हुनाले आफूलाई अरुले लोग्ने मान्छेजस्ती रहिछ भन्ने ठाने होलान् भनेर हीनताबोध हुने गरेको ब्युटीपार्लरमा आउनेहरु नै बताउने गर्छन् । तर आजकल विभिन्न डिजाइनमा कपाल मिलाउने, आँखिभुइँ मिलाउने, पाखुरा–गोडामा देखिएका रौं हटाउने धेरै महिलाका लागि सामान्य भइसकेको छ । महिला मात्र होइन, पुरुषहरु पनि आफ्नो सौन्दर्यप्रति चासो राख्न थालेका छन् । उनीहरुले पनि आँखिभुइँ मिलाउने, नाक–कानमा आएका अनावश्यक रौं उखेल्ने गरेको पाइन्छ । प्रायः ब्युटिपार्लरमा आँखिभुइँ मिलाउनकै लागि भनेर युवतीहरु आउने गर्छन् । हुन पनि थ्रेडिङ गरेर आँखिभुइँ मिलाएपछि उनीहरुको अनुहारको चमक नै अर्कै हुन्छ ।

अहिले मात्र होइन, प्राचीनकालमा पनि अनावश्यक रौं हटाउने गरिन्थ्यो । त्यतिखेर ढुंगा वा फलामका धारिला हतियार बनाएर रौं खौरिने गरिन्थ्यो । अझ इजिप्सियनहरुले त हिलो र फिट्किरी दलेर रौं हटाउँथे । केही पछि कागती र चिनीको मिश्रण दल्ने र रगड्ने गरेर रौं हटाउन थालियो । यसरी जुन पायो त्यही तरिकाले रौं हटाउँदा घाउ हुने, इन्फेक्सन भई जटिलता थपिने, एलर्जी हुनेजस्ता विभिन्न समस्या आउन सक्छ । त्यसैले विशेषज्ञ वा तालिमप्राप्त व्यक्तिबाट मात्र यस्ता काम गराउनु बुद्धिमानी हुन्छ ।

वाक्सिङ

वाक्स भन्नाले एक किसिमको मइन भन्ने बुझिन्छ । यो माहुरीको चाका, रुखबाट आउने खोटो वा अन्य टाँसिने पदार्थबाट बनाइएको हुन्छ । तर रौं उखेल्नकै लागि भने तयारी वाक्स पनि पाइन्छ । रौं भएको ठाउँमा वाक्स लगाएर त्यसमाथि एक किसिमको वाक्स पेपर लगाइन्छ । यसमा रौं कतातिर लर्केको वा बहेको छ भन्ने खूब विचार पुर्याउनुपर्छ । रौं बहेतर्फ नभएर उल्टोबाट वाक्स पेपर उप्काइन्छ । यसो गर्दा रौं वाक्स पेपरसँगै उखेलिएर आउँछ । यस विधिमा जरैदेखि रौं उखेलिने भएकाले पछि–पछि त्यस ठाउँमा रौं आउन बिस्तारै कम हुँदै जान्छ । तर यो विधिमा धेरै होसियारी हुनुपर्छ ।

सेभिङ

यो रौं हटाउने सबैभन्दा सजिलो र स्वास्थ्यका हिसाबले सुरक्षित तरिका हो । यस विधिमा दाह्री काटेजस्तो ब्लेडले खौरेर अनावश्यक रौं हटाउन सकिन्छ । तर यसमा रौंको जरा जस्ताको त्यस्तै रहने भएकाले चाँडै पुनः उम्रिन्छ । त्यसैले समय–समयमा खौरिरहनुपर्ने हुन्छ ।

ट्वीजिङ

चिम्टीले एक–एक गरी रौं उखेल्ने विधि नै ट्वीजिङ हो । एकादुई फाट्टफुट्ट रुपमा आउने रौंलाई यस विधिले जरैदेखि उखेल्न सकिन्छ । यसरी उखेल्दा फेरि सो रौं उम्रने सम्भावना कमै हुन्छ । एक–दुई वटा रौं फुलेका छन् भने यसरी चिम्टीले निकाल्ने विधि उपयुक्त हुन्छ ।

रिमुभर क्रिम

बजारमा पाइने हेयर रिमुभर क्रिमको प्रयोग गरेर पनि रौं हटाउन सकिन्छ । यो सजिलो उपाय भए पनि छालाको एलर्जी हुने सम्भावना हुन्छ । किनकि यसमा केमिकल मिश्रण गरिएको हुन्छ । त्यसैले विनापरीक्षण यसको प्रयोग गर्नुहुँदैन ।

थ्रेडिङ

धागोको प्रयोगबाट अनावश्यक रौं हटाउने विधिलाई थ्रेडिङ भनिन्छ । प्रायजसो ब्युटिपार्लरमा यही विधिद्वारा आँखिभौंको अनावश्यक रौं उखेल्ने गरिन्छ । यसका लागि धागो समाउने र प्रयोग गर्ने तरिका भने सिक्नुपर्ने हुन्छ । केही दिनको अभ्यासपछि सजिलै जानिन्छ । थ्रेडिङ विधि मसिना भुवादार रौं हटाउन बढी उपयोगी हुन्छ । रौं र स्थानअनुसार २–३ हप्तामा पुनः थ्रेडिङ गर्नुपर्ने हुन्छ ।

ब्लिचिङ

छालाको रंगजस्तै हुने गरी ब्लिचिङ गरेमा रौं देखिँदैन । यस विधिमा सामान्य रौं त्यहीँ छिपाइन्छ र छालाजस्तै देखिन्छ । तर यो ब्लिच हटेपछि रौं देखिन्छ । छोटो समयका लागि यो तरिका उपयोगी हुन्छ । कसै–कसैले छालाका दाग छिपाउन पनि यसको प्रयोग गर्छन् भन्ने सुन्नमा आएको छ । तर जे कामका लागि बनेको हो, सोही काममा मात्र प्रयोग
गर्नु बेस हुन्छ ।

अन्य विधि

रौंको जरामा विद्युत् प्रवाह गरी रौं नष्ट गर्ने इलेक्ट्रोलाइटिस विधि, विकिरण दिएर रौं नष्ट गर्ने विधि, अप्रेसन गरेर रौं हटाउने विधि पनि विकास भैसकेका छन् । तर यी विधिहरु सामान्य प्रशिक्षणका भरमा सम्भव हुँदैन र बढी नै रिस्क पनि हुने भएकाले विशेषज्ञद्वारा मात्र गराइन्छ । अनावश्यक रौं हटाउन आफैंले प्रयास गर्नुभन्दा तालिमप्राप्त व्यक्ति वा विशेषज्ञको परामर्श र सहयोग लिनुपर्छ । अनावश्यक रौं आउने विभिन्न कारण हुन्छन् । ती कारण पत्ता लगाई सो अनुसार कारणकै उपचार गराउनु राम्रो हुन्छ । थाइराइडजस्तो समस्या, तनाव, हर्मोनयुक्त औषधिको सेवन, जातीयता, वंशाणुगत, उमेर आदि विभिन्न कारणले रौं उम्रने कार्यमा प्रभाव पर्ने हुनाले यसतर्फ पनि विचार गर्नुपर्ने हुन्छ । जे होस्, अनावश्यक ठाउँमा रौं आयो भनेर चिन्ता गर्नुभन्दा सर्वप्रथम डाक्टरी परीक्षण गराएर रौं आउनुको कारण पत्ता लगाएपछि सो कारणअनुसार रौं हटाउने उपायतिर लाग्नु बुद्धिमानी हुन्छ । ( साभार स्रोत : साधना )

यो पनि पढ्नुहोस्  

महिलाको अनुहारमा दाह्री जुँगा किन आउदैन ?

किन केटीहरु दारी पाल्ने केटाप्रति आकर्षित हुन्छन

महिलाको शरीरमा अनावश्यक रौँ आउने कारणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!