यौन जिज्ञासा

यौन र स्वास्थ्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सेक्स मानव जीवनको लागि महत्वपूर्ण विषय हो, तर यसलाई हेर्ने तरिका फरक छ । कुनै पनि बैवाहिक जीवनले सफलता पाउनको निम्ति सफल र स्वस्थकर यौन जिबन हुन अत्यन्त जरुरी छ । यस कुराहरुबाट यौनले मानब जीबनमा कति महत्व राख्दछ भन्ने कुराको पुष्टि हुन्छ । यौनको बारेमा मानिसको मस्तिस्कमा अधिकांश समय यसले प्रधानता पाईरहेको हुन्छ, उसले गर्ने धेरै क्रियाकलापहरु जानी वा नजानी यौनसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्दछ ।

यौनलाई बुझ्न जरुरी छ, कुनै पनि कुरालाई नबुझीकन त्यसै धारणा बनाउनु भनेको घातक हुनसक्छ । पहिलो कुरा त हामी यसको गहिरो तथ्य र रहस्य जान्नबाट बन्चित हुन्छौ जसले हामीलाई अन्योल अनि अन्धकारको स्थितिमा धकेल्दछ ।

हाम्रो समाजमा यौनलाई यति गलत तरिकाले ब्याख्या गरियो कि एउटा कन्डोम, एचआइभी र यौन रोगको ज्ञानबर्दक बिज्ञापन आउदा समेत हामी आफ्नो परिवारसंग बसेर हेर्न सक्ने अवस्था छैन । ज्ञानले मानिसमा रहेको अज्ञानलाइ हटाउदछ र अँध्यारोबाट प्रकाशको दिशातर्फ लिएर जान्छ ।

यौनको बिषयमा अनभिज्ञ रहेर जीबनमा ठुलो दुर्घटनामा पर्नुभन्दा यसबारे सहि जानकारी राखी लाभ लिन सक्दा समाजलाई धेरै हितकर हुने थियो । त्यसैले यसको बारेमा सबैले जानकारी र ज्ञान राख्न जरुरी छ ।

यौन एउटा ठुलो उर्जा हो जसले एकजना व्यक्तिलाई जन्म दिनसक्छ । प्राकृतिक बाहेक संसारका सबै आविष्कार मानब निर्मित हुन्, जुन आविष्कार गर्ने मानबको जन्म यौनबाट भएको हो । एउटा मानब निर्मित फोटोकपी मेसिनले हुबहु कपि गर्दा कसरी यस्तो हुन्छ होला भनेर हामी आश्चर्य चकित हुन्छौ, जबकी त्यो फोटोकपी मेसिन बनाउने मानिसको जन्म यौन प्रक्रियाबाट भएको हुन्छ ।

मानब जिबनमा यौन अत्यन्त महत्वपूर्ण उर्जा हो । हामीले हाम्रो सृष्टिकर्तालाई ब्रह्मा नाम दियौ, त्यो अर्थमा भन्ने हो भने यौन ब्रम्हा हो जसले सिर्जना गर्दछ । त्यसैले पनि होला हामीले ठुला-ठुला मन्दिरका टुडालहरुमा यौनको चित्र र मुर्तिहरु प्रतिस्थापित गर्यौ । हुनसक्छ, यसैकारणले गर्दा आज पनि हामी शिव लिङ्गको पुजा अर्चना गर्दछौ ।

भनिन्छ एकजना मानिसभित्र जति धेरै यौन उर्जा हुन्छ उसंग त्यतिनै धेरै सिर्जना गर्नसक्ने क्षमता पनि हुन्छ, मात्र त्यो गलत ठाउँमा खर्च हुने उर्जालाई सहि ठाउँमा लगाउन जरुरी छ । मेरो अध्ययनमा आधारित बुझाई अनुसार मानिसको यौन उर्जा नै अन्तत सिर्जनामा परिणत हुने हो ।

तन्त्र योगले यहाँसम्म भन्छ कि मानिसको शरीरमा रहेको सात चक्रहरूमध्ये पहिलो चक्र यौन केन्द्र हो भने सातौ तथा अन्तिम केन्द्र समाधि हो । योगको भनाई अनुसार मानिस ध्यान र योगको मध्यमबाट पहिलो यौन केन्द्रबाट उर्जालाई माथि केन्द्रित गराउदै अन्तिम केन्द्र यानी समाधिको अवस्थासम्म पुग्न थाल्दछ ।

मेरो बुझाईमा, जुन कुरामा आनन्द र खुसी छ त्यो कुरालाई समाजले जहिले पनि दमनको नीति अपनाएको छ चाहे त्यो यौन, प्रेम वा ड्रग्स नै किन नहोस् । यौन अनि त्यसको रुपान्तरित उर्जा प्रेम वा ड्रग्समा भन्दा सुख र आनन्द अरु कुरामा पाउन कठिन छ ।

सुखी मानिसको तुलनामा दु:खी मानिसलाई काबुमा राख्न धेरै सजिलो हुन्छ, त्यसैले जहाँ-जहाँ सुक्ख छ, त्यहाँ-त्यहाँ समाजले दमन र बर्जितको नीति अपनाएको छ । धर्म, समाज र राज्यको लागि सुखी र आनन्दित मानिस जहिले पनि घातक हुने सम्भावना हुन्छ ।

यो पनि पढनुहोस्

सुखी दाम्पत्य जीवनको रहस्य

महिनावारी भएको कति दिनमा सेक्स गर्दा गर्भ रहन सक्छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!