खोपले कसरी काम गर्छ ?

खोप

खोप भनेको रोग लाग्नबाट बचाउन भ्याक्सीन दिई शरीरको रोगसंग लड्ने क्षमता बढाउनु हो । वास्तवमा खोप दिनु भनेको शरीरमा प्रतिरोधात्मक प्रणाली निर्माण गर्नु हो । बच्चा जन्मेको पाँच वर्ष नपुग्दै उसलाई विभिन्न थरिका खोपहरु लगाइन्छन् । पोलियो, हेपाटाइटिस, दादुरा आदि जस्ता रोगका खोपहरु लगाइँदा शिशुमा पछि यी रोगहरु देखा नपर्ने बताइन्छ । यस्ता खोपहरुले काम कसरी गर्छन् त ?

हामीहरुमध्ये धेरैले के सोचेका हुन्छौँ भने रोग लाग्दा दिइने औषधि जस्तो खोप पनि कुनै प्रकारको औषधि नै होला । तर, खासमा खोप दिइँदा रोग सम्बन्धित भाइरस वा ब्याक्टेरिया नै शरीरभित्र पसाइन्छ । उदाहरणको लागि दादुराको खोपमा दादुरा लगाउने किटाणुहरु नै हुन्छन् । तर, खोपमा ती कटिाणुहरुलाई शिथिल बनाइएका हुन्छन् । त्यसैले ती किटाणुहरुसँग रोग लगाउने क्षमता हुँदैन । शिशु अवस्थामा नै खोपमार्फत यस्ता किटाणुहरु शरीरमा प्रवेश गराइएको खण्डमा शरीरमा सम्बन्धित रोगविरुद्धको प्रतिरोधात्मक क्षमता बढ्छ । र, भविष्यमा पनि रोग लगाउने किटाणु शरीरभित्र पसेमा केह कठिनाइ विना ने त्यसको प्रतिरोध हुने स्थिति कायम हुन्छ ।

शरीरमा जब शिथिल बनाइएका किटाणुहरु प्रवेश गराइन्छन्, तब शरीरमा रहेका बि–सेलहरु (एक प्रकारको सेतो रक्तकोष) क्रियाशील हुन्छन् । बि–सेलहश्र क्रियाशील हुँदा शरीरमा एन्टिबडीहरुको निर्माण हुन्छ । यी एन्टिबडीले रोग लगाउने ब्याक्टेरिया वा भाइरसविरुद्ध प्रतिरोध गर्छन् । त्यसैले कैयन् खोपहरु एकपटक दिइसकेपछि जीवनभरको लागि शरीरमा निश्चित प्रकारको रोगविरुद्ध प्रतिरोध गर्ने क्षमता कायम रहेको हुन्छ ।

तर कुनै-कुनै खोपले जीवनभरको लागि काम गर्दैन् । उदाहरणको लागि टिटानसको खोपले खास समय-सीमाको लागि मात्र काम गर्छ । यो र यस्ता खोपहरु निश्चित समय अन्तरालमा दिइनुपर्ने हुन्छ । मानिस जन्मिँदा ऊसँग निश्चित प्रकारका रोगहरुविरुद्ध मात्र लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । यो प्रतिरोधात्मक क्षमताको कारक तत्व उसको शरीरमा आमामार्फत प्राप्त हुने एन्टिबडीहरु हुन् । तर, यी एन्टिबडीहरुले शिशुलाई एक वर्षसम्म मात्र सुरक्षा दिन सक्छन् । त्यस्तै, अन्य कैयन् रोगविरुद्ध प्रतिरोध गर्ने एन्टिबडीहरु शिशुमा आमामार्फत् प्राप्त हुँदैनन् । त्यसैले भविष्यमा लाग्न सक्ने रोगविरुद्ध लड्न शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई तयार राख्नको लागि शिशुलाई खास-खास रोगका खोपहरु दिइन्छन् ।

रक्सी पिउँदा किन मात लाग्छ ?

रक्सी पिउँदा मात

रक्सी एक किसिमको पेय पदार्थ हो जसमा इथिनोल हुन्छ । रक्सी यस्तो मादक पदार्थ हो, जसको अधिक सेवनपछि मान्छेको मस्तिष्क ठीक ठाउँमा रहँदैन । रक्सी एक प्रकारको मन्द विष पनि हो । रक्सीको पिउने चलन प्राचीनकालदेखि नै कुनै न कुनै रूपमा भइरहेको पाइन्छ । रक्सीलाई विभिन्न समय अनुसार विभिन्न उपनाम जस्तै: सोमरस, अङ्गुरको छोरी उपनाम दिईने गरिन्छ । रक्सीको आनन्द रिक्सा चलाउने मजदुरदेखि उच्च ओहदाको अधिकृत र राजनीतिज्ञले समेत लिइरहेका हुन्छन । रक्सी सेवनकै कारण विश्वभरि प्रत्येक वर्ष लगभग ३३ लाख मानिसको मृत्यु हुन्छ भने रक्सी सेवनका कारण दुई सयभन्दा बढी रोग लाग्न सक्छ ।

हामीले आएको रक्सीले सबैभन्दा चाँडो केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ। केन्द्रीय स्नायु प्रणालीले बोली, मांशपेशीहरु, ज्ञानेन्द्रीयहरु तथा पसिना ग्रन्थीहरुको नियन्त्रण गर्ने गर्छ। केन्द्रीय स्नायु प्रणालीले आँखा, कान, छालाजस्ता अङ्गहरुबाट सूचना लिई सामान्यतः मांसपेशी खुम्याई त्यसको प्रतिक्रिया दिन्छ । तर, रक्सीले केन्द्रीय स्नायु प्रणालीको काम गर्ने क्षमता घटाउने हुनाले अधिक रक्सी सेवन गर्दा मान्छे अनियन्त्रित हुने, उसले नसोची बोल्ने, आँखा तिर्मिराउने, पसिना धेरै आउने र पीडा चाल नपाउने जस्ता समस्याहरु देखापर्छन् । रक्सीले मस्तिष्कको बाहिरी तह फ्रोन्टल कोर्टेक्स्मा पनि असर गर्छ । फ्रोन्टल कोर्टेक्स्ले विचार गर्ने कार्यको नियन्त्रण गर्ने गर्छ ।

रक्सीले शरीरबाट धेरै पानी बाहिर निकाल्ने कार्यको नियन्त्रण गर्ने हर्मोनहरुको उत्पादनमा कमी ल्याउँछ, जसको कारण रक्सी खाँदा धेरै मात्रामा पसिना र पिसाब आउँछन् । यही कारणले शरीरमा पानीको कमी हुन्छ । त्यसैले रक्सी धेरै खायो भने पानी पनि धेरै खान मन लाग्छ । शरीरमा पानीको कमी हुँदा पोटासियमको मात्रामा पनि असर पर्छ । यही कारणबाट शरीरले आफ्नो नियन्त्रण गुमाउँछ । रक्सी सेवन गर्दा शरीरमा ग्लुकोजको मात्रा बढ्न जान्छ । यसबाट रगतमा ग्लुकोजको मात्रा कम गर्ने इन्सुलीनको उत्पादन बढ्न थाल्छ । इन्सुलीनले विस्तारै रगतमा ग्लुकोजको मात्रालाई घटाउँदै लान्छ । ग्लुकोजको मात्रा निकै घट्यो भने काँप्ने, धेरै पसिना आउने, थकाइ लाग्ने र आँखा तिर्मिराउने हुन्छ ।

हाम्रो शरीरमा रक्सीलाई पचाएर शक्तिमा बदल्ने (मेटाबोलाइज गर्ने) प्रमुख अङ्ग कलेजो हो । यसले शरीरभित्र प्रवेश गरेको ९० प्रतिशत रक्सी मेटाबोलाइज गर्छ भने १० प्रतिशत मात्र पिसाब वा श्वासप्रश्वासबाट शरीरबाहिर पठाउँछ । तर, कलेजोमा रक्सी मेटाबोलाइज हुने प्रक्रिया निकै ढिलो हुन्छ । कलेजोलाई आफ्नो काम गर्न पानीको निकै आवश्यक पर्छ । तर, रक्सीले शरीरमा पानीको मात्रा घटाउने हुँदा कलेजोलाई काम गर्न पानी अपुग हुन्छ । यस्तो स्थितिमा कलेजाले मस्तिष्कबाट पनि पानी लिन्छ । यही कारणले गर्दा रक्सी सेवनपछि टाउको दुख्ने हुन्छ । साथै, कलेजोमा रक्सी मेटाबोलाइज हुूँदा एसिटलडिहाइड नामक विषालु पदार्थको निर्माण हुन्छ । यसले कलेजो स्वयं, मस्तिष्क र पेटमा समेत असर गर्छ । यी कारणहरुबाट टाउको दुख्ने, वाकवाक लाग्नेजस्ता समस्याहरु देखा पर्छन् ।

जन्मदा शरीरमा भएका चिन्हहरुको शुभ र अशुभ फल

जन्मदा शरीरमा भएका चिन्हहरु

हाम्रो हिन्दु शास्त्र र संस्कार अनुसार शरिरका विभिन्न ठाँउमा हुने यस्ता जन्म निशान तथा कोठीहरुको बारेमा संस्कृति अनुसार बिभिन्न कथाहरु चल्दै आएका छन् । यस्ता रहस्यहरुमा कतिको सत्यता छ भनेर भने भन्न सकिदैन तर पौराणिक तथा घटना नै बयान गर्ने यस्ता कथाहरु भने अति प्रसिद्ध रहेका भने छन् । के तपाइलाई लाग्छ कि यस्ता सदियौंदेखि चल्दै आएका कथाहरु सान्दर्भिक छन् ? पढ्न र सुन्न रमाईलो लागेपनि यिनीहरुको बारेमा अझसम्म बैज्ञानिक ठोस आधारहरु खोज हुन् बाँकी नै होला।

निधारमा कोठि वा जन्म चिन्ह

आँखी भौँको बिच वा निधारमा कतै जन्म चिन्ह हुने व्यक्तिहरु सहयोगी हुन्छन्। उनीहरुमा आत्मविश्वासको कमी हुदैन। सफलताको शिखरमा आफ्नै मेहेनतले पुग्छन यस्ता व्यक्ति। बोल्ने भन्दा काम गर्नमा विश्वास गर्छन र आफैमा गर्वशाली ठान्छन्। यस्तो व्यक्तिहरु आफ्नोलागि अरुसंग सहयोग माग्न अप्ठ्यारो मान्छन्। अरु मानिसको फाइदा उठाउने मनसाय बोक्दैनन र परिवारसंगै खुसी मान्छन्। शान्ति, न्याय, धर्म, संस्कृति तथा चालचलनको अनुसरण गर्छन्।

निधारको बिचमा नाकको सिधा माथी भएको जन्म चिन्ह

टाउकोको बीचबाट निधार हुदै नाकको सीधा माथी सम्म आएको जन्म चिन्हले उक्त व्यक्ति सामाजिक हुने बताउछ। जीवनलाइ रमाइलो तवरले लिने, आफ्नो अनुभवबाट सिक्दै जाने बानी हुने तथा अरुको सहयताबिना कुनै काम सुरु गर्न भने हिचकिचाउने गुण हुने हुन्छ यो ठाँउमा चिन्ह हुनाले। कलाको क्षेत्रमा केही गर्ने सामर्थ्य राख्ने हुन्छन्।

कनचटको देब्रे वा दाहिनेमा भएको जन्म चिन्ह

यस्ता व्यक्ति शिष्ट, सभ्य, शान्त तथा धार्मिक हुन्छन्। धैर्यवान हुनुको साथै, विचारशील, नम्र र व्यावहारिक हुन्छन यस्ता व्यक्ति। बालककालमा राम्रो बितेपनि युवाअवस्थाको सुरुवात संगै अलि गाह्रो जीवन सुरु हुने हुन्छ। २२ वर्षको उमेर पश्चात भने विस्तारै खुसी प्राप्त हुने गर्दछ। मानिसहरुले राम्रो व्यवहार नगर्नसक्छन तर अरुले भने नम्र र भद्रहुने भएकाले आदार सम्मान गर्ने गर्दछन्।

आँखी भौं को बिचमा भएको जन्म चिन्ह

आँखी भौं को बिचमा जन्म चिन्ह भएका व्यक्ति सावधानी अपनाउने प्रवृतीका हुन्छन। सिधा सादा हुनुको साथै अत्यन्त सहनशील हुन्छन यस्ता व्यक्ति। कर्म अनुसारको फल सजिलै पाउछन पनि। युवाअवस्थाको सुरुवाती समय भने त्यति खुसीमा बित्दैन, तर जब आफ्नो खुट्टामा उभिन्छन तब सबैकुरा परिवर्तन हुन्छ। परिवार, आफन्त तथा समाजको सहयोहमा खुसी मान्छन। कुनै काम गर्नुभन्दा पहिले धेरै सोचेर मात्र गर्ने गर्दछन यी व्यक्तिहरु।

दाँया वा बाँया आँखी भौंमा भएको जन्म चिन्ह

यस्ता व्यक्तिहरुले जीवनमा राम्रो चिजहरुमात्र खोज्ने गर्दछन्, राम्रो घर वा राम्रो जागिर। केटा हो भने, उ जीवनमा धेरै महिलाहरुसंगको सम्बन्धमा बाधिएको हुन्छ। त्यसैले महिलाले गर्दा नै जीवनमा दुख पाउने अधिक सम्भावना हुन्छ। कलामा बिषेश चाख राख्ने गर्छन। खासै गाह्रो व्यवहारमा फस्ने नभएता पनि स्वास्थ्यले भने दुख दिने गर्छ यी व्यक्तिहरुलाइ।

आँखामा भएको जन्म चिन्ह

यदि आँखामा नै जन्म चिन्ह छ भने यी व्यक्तिहरुको बानी व्यवहार सफा हुने गर्दछ । स्वार्थी हुनुका साथै पैसा सम्बन्धि कारोबारमा लोभी हुन्छन । बुद्धिमान हुनुका साथै छिटो रिसाउने प्रवृतीका हुन्छन् यी व्यक्तिहरु । गरिबीले कहिल्यै नसताहने हुन्छ, किनकी मानिसहरुले विश्वास गर्ने हुन्छन्। यस्ता व्यक्तिहरुले धनी तथा सफा व्यवहार भएकाहरु संगै विवाह पनि गर्ने गर्दछन् ।

कानमा भएको जन्म चिन्ह

कानमा जन्म दाग हुनु शुभ मानिन्छ। छिटो सोच्न सक्ने गुणका हुन्छन् यस्ता व्यक्ति। यदि दुवै कानमा यस्तो चिनो छ भने ति व्यक्तिहरु अत्यन्त प्रभावशाली हुन्छन् र खुसी खुसी सफल जीवन बिताउछन्। बाँया कानको चिन्हले विवाह सफल हुने बताइन्छ।

आँखाको तल वा माथी भएको जन्म चिन्ह

आँखाको तल वा माथी भएको जन्म चिन्हले आँसु जनाउँछ। यस्तो ठाँउको चिन्हले पैसा र राम्रो साथीको प्राप्तीलाइ जनाउँछ। तर विपरित लिंगका मानिसहरु प्रति भने अत्याधिक आकर्षित हुने गर्दछन् यी व्यक्तिहरु।

नाकमा भएको जन्म चिन्ह

शारीरिक सम्बन्धको भोको हुने गर्छन् नाकमा जन्म चिन्ह वा कोठी हुँदा। साथै अति छिटो रिसाउने प्रवृतीका पनि हुन्छन्। जुवा तास तथा केटा वा केटी जिस्काउदै बस्ने पनि हुन्छन यी व्यक्तिहरु। नाकको डाँडीमा चिन्ह हुनु नराम्रो स्वास्थ्यको सुचक पनि हो। नाकको वरीपरि हुने चिन्हले भने राम्रो संकेत गर्दछ।

गालामा भएको जन्म चिन्ह

देब्रे गालाको चिन्हले उक्त व्यक्ति उदार भावनाको, सहानुभूति प्रकत गर्ने एंव समय बिताउन वा संगै बस्न सजिलो हुने बताइन्छ। केटाकेटी जस्तो व्यवहार गरिरहने तथा जिस्किरहेन गर्दछन् यस्ता व्यक्तिहरु। दाहिने गालामा जन्म चिन्ह हुने व्यक्तिले सोच्दै नसोची बोल्ने गर्दछन्। गफ छाँटेर बस्ने र कुनै कुरा पनि लुकाएर राख्न नसक्ने हुन्छन्। अरुलाइ आदार सम्मान नदिने गर्दछन् यी व्यक्तिहरु।

ओठमा भएको जन्म चिन्ह

धेरै बोल्ने हुन्छन् यस्ता व्यक्तिहरु। धेरै कुरा सोधिरहेन, अनि धेरै कुरा बोलिरहने गर्दछन्। यौनको कुरामा अति अगाडि हुन्छन्। धेरै खाने अनि लामो समयसम्म कुरा लुकाएर राख्न नसक्ने हुन्छन् यी व्यक्तिहरु। माथिल्लो ओठको कोठीले उक्त व्यक्ति अरुको अगाडी प्रभावशाली बन्न सक्छ। बिशेष गरि विपरित लिंगको मानिसलाइ आफ्नो वशमा पार्न सक्ने खुबी हुन्छ। तल्लो ओठमा हुने कोठीले भने उक्त व्यक्ति मेहनती र ईमानदार भएको पाइन्छ। माथिल्लो ओठको छेउ-छेउमा कोठी छ भने त्यसलाइ ‘भोजन लक’ पनि भनिन्छ। यस्ता व्यक्तिहरु भोजनमा खुसी हुने गर्दछन् र अधिकांश समय आफ्नो भोजनको लागि खर्च पनि गर्न नपर्ने हुन्छ।

कुममा भएको कोठी

राजकिय हुन्छन् यस्ता व्यक्ति। अधिंकास राम्रा चिजहरु हुने गर्दछ ती व्यक्तिहरु संग। भेटेकालाई इमान्दार एंव नम्र सेवा दिन्छन् पनि। चलाख हुनुको साथै मेहेनति पनि हुन्छन्। वास्तवमा अति धेरै मेहेनतको फल राम्रो नआउदा बेखुसी पनि हुने गर्दछन्।

ढाँडमा भएको कोठी

यस्ता व्यक्तिहरु अल्छी हुन्छन्। प्रकृतिले नै यी व्यक्तिहरुलाइ लम्पट बनाएको हुन्छ। अरुमा भर पर्दछन् र संसारनै उ प्रति ऋणछ भन्ने सोच्दछन् यी व्यक्तिहरु। वैवाहिक सम्बन्धको लागि भने अति नै गाह्रो हुने गर्छ जीवन साथी पाउनको लागि।

विहान उठेर हत्केलाको दर्शन गर्नाले दिन नै शुभ हुन्छ

हत्केला

हाम्रा दैनिक जीवनका पनि संस्कार छन् । दैनिक संस्कार पालना गर्न सक्यो भने जीवन सुखमय हुनसक्छ । दिनचर्याको शुरुवात जहिले पनि विहान उठेपछि हुन्छ । उठ्ने वित्तिकै हामीले जे गर्छौ त्यसको प्रभाव दिनभरी रहन्छ । यहाँ उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ ।

हत्केलाको दर्शन

विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ । हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ । यसका लागि हामीले उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्ने गर्‍यो भने दिन शुभ हुने शास्त्रमा उल्लेख छ ।

विहान उठ्ने वित्तिकै पुस्तक हेरे जस्तै गरी हत्केलाको गर्दा दिनभर मन शान्त र प्रसन्न रहने उल्लेख छ ।

कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती।
कर मूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम्॥

अर्थात- मेरो हातको अग्र भागगमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ ।

हातको दर्शन गर्दा आफ्नो भाग्यमा नभएर कर्ममा विश्वास गर्नुपर्छ । यसरी हातको दर्शन गर्दा जीवनमा धन, सुख र ज्ञान प्राप्त हुने शास्त्रको भनाइ छ । हातको दर्शन गर्नुको अर्थ हो मेरा हातबाट कुनै पनि खराव काम नहुन् । सबै कल्याणको काम मात्र होस् ।

हातको दर्शन नै किन

हाम्रो संस्कारले सदैव सत्कर्मको सन्देश दिन्छ । र अधिकाँश कर्म हातबाटै गरिन्छ । धर्म, अर्थ, काम र मोक्ष पाउनु पुरुषार्थ मनिन्छ । यी सबैमा हातको भूमिका प्रधान हुने भएका कारण पनि हातको दर्शन गर्न भनिएको हो ।

यो पनि पढ्नुहोस् 

विहान उठेर यी कामहरु लागु गरेमा तपाईको जीवन सफल हुनेछ

सामान्य सापेक्षतावादको सिद्धान्त (Theory of General Relativity) भनेको के हो ?

General Theory of Relativity
Gopal Bhandari
गोपाल भण्डारी

सन् १९१५ मा वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले “सामान्य सापेक्षतावादको सिद्धान्त” प्रतिपादन गरेका थिए । यस सिद्धान्तले गुरुत्वाकर्षणको नियम र प्रवृत्तिका अन्य बलहरूसँगको यसका सम्बन्धहरूलाई व्याख्या गर्दछ । यस सिद्धानतले ब्रम्हाण्डमा प्रकाशको किरण सिधा रेखामा होइन, बक्र रेखामा (Curved line) हिडछ भन्ने कुराको व्याख्या गर्यो र यसले प्रकाश त्यसरी बक्ररेखामा हिंड्नुको अर्थ अन्तरिक्षको आकार नै बक्र (Curvature) हुनु हो भन्ने व्याख्या गर्यो । यो कुराले त्यतिखेरसम्म अन्तरिक्ष चेप्टो (Flat) आकारको छ भन्ने विश्वासलाई पनि तोडिदियो ।
यस सिद्धान्तलाई पनि मुख्य रूपमा पाँच कुराहरूमा केन्द्रित गर्न सकिन्छ ।
१. अन्तरिक्ष तथा अन्तरिक्ष समय पहिले विश्वास गरिए झैं चेप्टो नभई यो घुमाउरो (Curved or warped) छ ।
२. न्यूटनले भने झैं ग्रहहरू गुरुत्वाकर्षणको कारणले घुमाउरो कक्ष (Orbit) मा रही घुमिरहेको नभई घुमाउरो अन्तरिक्षमा सबभन्दा छोटो सोझो बाटोलाइृ पछ्याउँदै जाँदा सूर्यलाई घुम्न पुगेका हुन् ।
३. अन्तरिक्षमा कुनै पनि पिण्डले जहिले पनि चौआयामिक अन्तरिक्ष समय (Four Dimensional Space Time) मा सोझो बाटो नै पछ्याएको हुन्छ ।
४. सूर्य जस्तो ठूलो पिण्डको गुरुत्वाकर्षणको क्षेत्रमा प्रकाश वाड्डिन पुग्छ । यो कुरालाई सन् १९१९ को खग्रास सूर्यग्रहणको समयमा सूर्य नजिक देखिएका ताराहरूको अवलोकन बाट बेलायती वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।
५. कम गतिमा रहँदा भन्दा बढी गतिमा रहँदा समय ढिलो चल्छ । अर्थात् दर्शकको गति अनुसार समय ढिलो वा चाँडो चल्ने हुन्छ ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

विशेष सापेक्षतावादको सिद्धान्त भनेको के हो ?

Special Theory of Relativity
Gopal Bhandari
गोपाल भण्डारी

अल्वर्ट आइन्स्टाइनले सन् १९०५ मा विशेष सापेक्षतावादको सिद्धान्तलाई प्रतिपादन गरेका हुन् । उनको यो सिद्धान्तको प्रतिपादनबाट नै विश्वमा पारमाणिक शक्ति स्रोतको बाटो खुल्यो । यस सिद्धान्तबाट अन्तरिक्ष (Space) र समय (Time) पनि एक अर्कामा सम्वन्धीत छन् भन्ने कुराको जानकारी प्राप्त हुन आउँछ । यस सिद्धान्तले मूख्य रूपमा पाँच कुराहरूलाई दर्शाउँछ ।
१. जतिसुकै गतिमा रहेका भए पनि स्वतन्त्र रूपले गतिमा रहेका सबै दर्शकहरूका लागि विज्ञानका सबै नियमहरू समान रूपले लागू हुन्छन् ।
२.  दर्शकहरू जुनसुकै गतिमा रहेका भएपनि सबैले प्रकाशको गति एउटै भएको पाउँछन् । यो कुरालाई वैज्ञानिक माइकेल्सन र मोर्लीको परीक्षणले पुष्टि गरिदिएको छ ।
३.  पदार्थ (Space) र शक्ति (Time) । एक अर्कामा बदलिन सक्छन् । उनले यसका लागि एक विशेष सूत्रको आविष्कार गरे ।
E = mc2
यहाँ, E = Energy (शक्ति), M = Mass (पिण्ड), C = Velocity of light (प्रकाशको गति) जनाउछन । यस अनुसार शक्तिलाई पिण्ड र प्रकाशको गतिको वर्गको गुणनफलले नाप्न सकिन्छ ।

यस सिद्धान्त अनुसार पदार्थ गतिमा जाँदा शक्तिमा बदलिन्छ र शक्ति स्थिरतामा आउँदा पदार्थमा बदलिन्छ । त्यसैले पदार्थ र शक्ति दुवै सापेक्ष कुराहरू हुन् । उनको यो सिद्धान्तले त्यतिखेरसम्म मानिएको पदार्थ न सिर्जना हुन सक्छन् न नष्ट नै हुन्छ भन्ने धारणाप्रतिको वैज्ञानिकको विश्वासलाई चकनाचुर बनाइदियो । यहाँ पदार्थ भन्नाले भौतिक विज्ञानले व्याख्या गरे अनुसार मानव चेतनाबाट स्वतन्त्र रहेको पिण्ड सहितको भौतिक वस्तु भनेर बुझ्नुपर्छ । भौतिक विज्ञानमा शक्तिलाई पदार्थ भनिदैन । तर दर्शनशास्त्रमा शक्ति समेतलाई पनि पदार्थको रूपमा हेरिन्छ । यसरी पदार्थ र शक्ति दुवै सापेक्ष भएको कुरालाई वैज्ञानिकहरूले अनुसन्धानशालाहरूमा प्रमाणित गरी देखाइसकेको छन् । जस्तो गामा किरण (Gamma-ray) भन्ने पिण्ड (Mass) नभएको शक्त्शिाली किरणबाट इलेकट्रोन र प्रोजिट्रोन भन्ने दुई कणहरू पैदा भएको कुरा वैज्ञानिकहरूले उल्लेख गरेका छन् । त्यस्तै पिण्ड (Mass) भएका इलेक्ट्रोन र पोजिट्रोन कणहरू मिलेर “गामा किरण” मा परिवर्तित भएको पाइएको छ ।

त्यस्तै परमाण वममा १ ग्राम पदार्थ विलाउँदा २१ अरब किलोक्यालोरी तापशक्ति उत्पन्न हुन्छ । यो भनेको दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै जाँदा २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटी बाल्दा जति तापशकित उत्पन्न हुन्छ त्यति बराबरको ताप शक्ति १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने पदार्थलाई शक्तिमा परिवर्तन गर्न सकेको खण्डमा कल्पना नै गर्न नसक्ने शक्ति उत्पन्न हुन्छ । यो उनको सिद्धान्तलाई पछि दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकी वैज्ञानिक ओपनहाइमरले परमाणु वम बनाएर प्रयोगात्मक रूपमै पुष्टी गरिदिए । उनले नाभिकीय विखण्डन प्रतिक्रियाबाट पदार्थको केही अत्यन्तै सानो अंशलाई मात्र भएपनि शक्तिमा बदलेर देखाइदिए । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ शक्तिमा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थमात्र शक्तिमा बदलिएको हुन्छ । पदार्थ पूर्ण रूपमा शक्तिमा बदल्ने प्रविधिको विकास भने अहिलेसम्म विश्वमा भइसकेको छैन ।

Special Theory of Relativity

४.  कुनै पनि वस्तुको गति प्रकाशको गति भन्दा बढी हुन सक्दैन । किनभने वस्तुको पिण्ड त्यसको गतिको सापेक्षतामा कायम भएको हुन्छ । वस्तु जति बढी गतिमा जान्छ, त्यति नै त्यसको पिण्डमा वृद्धि हुन्छ । यदि वस्तुलाई प्रकाशको गतिको आधा गतिमा लाने हो भने, त्यसको पिण्डमा डेढीले वृद्धि हुन्छ, तर जति बढी पिण्डमा वृद्धि हुन्छ, त्यति नै फेरि वस्तुलाई गतिमा लाने शक्तिको पनि जरूरी हुन्छ । त्यसैले प्रकाशको गतिमा वस्तु चलायमान हुन खोज्न भने त्यसको पिण्डमा दोब्बरले वृद्धि भई त्यसलाई त्यो गतिमा कायम राख्न त्यसको सम्पूर्ण पदार्थ शक्तिमा बदल्नुपर्ने हुन्छ । यसले गर्दा वस्तुको गति प्रकाशको गतिभदन्दा बढी हुन सक्दैन ।

५.  समय निरपेक्ष नभई यो पनि अरूजस्तै सापेक्ष छ । यो पूर्णत स्वतन्त्र नभई यसले अन्तरिक्षसित मिली अन्तरिक्ष-समय (Space-time) भन्ने चीज बनाउँछ ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

गणित र यन्त्र विज्ञानमा ग्यालिलियोको योगदान के रहेको छ ?

Galileo Galilei

गणित र यन्त्र विज्ञान (In Mathematics and Mechanics) मा ग्यालिलियोको योगदान यस प्रकार छ ।

१. माथिबाट तल खस्ने वस्तुको आधारभूत सिद्धान्त (Basic law of Falling Bodies)

२००० वर्ष अगाडिको अरस्तुको सिद्धान्त अनुसार “समान उचाइबाट भिन्न भार भएका दुई वस्तुहरू एकैपटक तल खसाल्दा कम भार भएको हलुङ्गो बस्तु ढिलो खस्दछ र बढी तौल भएको गह्रुङ्गो वस्तु छिटो खस्दछ” भन्ने थियो । ग्यालिलियोले पीसाको “झुकेको धरहरा”बाट हलुङ्गो र गह्रौ“ दुई वस्तु एकैसाथ खसालेर तिनीहरू एकै समयमा भुइ“मा बज्रेको घटना देखाएबाट अरस्तुको त्यो विचार सही नभएको पुष्ठी भयो ।

२. छड्के सतहको नमूना (A Model of the Inclined Plane)

३. ब्राकिष्टोक्रोन ओरालो (Branchistochrone Oescent)

४. पानी तान्ने यन्त्र (Machine for Raising Water)

५. ज्यामितिय र सैनिक कम्पास (Geometric & Military Compass)

ग्यालिलियोले पदुवामा ज्यामितिको हिसाबमा प्रयोग हुने कम्पासको आविस्कार गरे । परिवारको खर्च धान्न गाह्रो भएपछि उनले आफूले आविस्कार गरेको कम्पासको डिजाइन एकजना मिस्त्रीलाई दिएर त्यसको उत्पादन गर्न लगाए र त्यसरी उत्पादित कम्पासहरू पनि उनले धमाधम बेच्न थाले । पदुवामा उनले गणितका समस्याहरूको व्यावहारिक समाधानका उपायहरू खोज्न निरन्तर जुटिरहे । त्यही क्रममा नै उनले कम्पासको आविष्कार गरेका थिए ।

आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त भनेको के हो ?

Einstein Theory of Relativity
Gopal Bhandari
गोपाल भण्डारी

वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले प्रतिपादन गरेको “सापेक्षतावादको सिद्धान्त” ले विश्व ब्रम्हमाण्ड (Universe) सम्बन्धी त्यतिखेर सम्मको धारणामा नयाँ क्रान्ति नै ल्याइदियो । उनीद्वारा प्रतिपादित सापेक्षतावादको सिद्धान्तले अर्का महान् वैज्ञानिक न्यूटनको दुई सय वर्ष पुरानो भैतिकशास्त्रका सारा नियमहरूलाई अप्रयाप्त र संकीर्ण ठहयायो । त्यस समयसम्म सारा भौतिकशास्त्र न्यूटनका नियमहरूमा आधारित थियो । सापेक्षतावादको सिद्धान्तले भौतिक विज्ञान र खगोल विज्ञानका सिद्धान्तहरू समेत छायाँमा परेका थिए । उनको समीकरण E = mc2 प्राय: सबै विद्वान् मानिसको मन मस्तिष्कमा रहेको हुन्छ । यो सिद्धान्तको प्रयोगबाट नै आणविक ऊर्जा उत्पादन गर्न र आणविक वम बनाउन सकिएको हो । उनको यो सिद्धानत र पाण्डुलिपि अहिले पनि “लाइब्रेरी अफ काँग्रेस” वासिड्डटन डिसिमा सुरक्षित छ ।

उनको सापेक्षतावादको सिद्धान्त प्रतिपादन हुँदा त्यसलाई बुझ्ने मानिस विश्वभरी एक दर्जन मात्र थिए भनिन्छ । सापेक्षतावादको सिद्धान्त अनुसार ब्रम्हाण्डमा सम्पूर्ण गति, वस्तु, घटना आदि सापेक्ष हुन्छन् र यी सबै प्रकाशको परम गतिसँग सम्वन्धीत रहन्छन् । उनको सापेषतावादको सिद्धान्तलाई दुई भागमा विभाजन गरिएको छ । (१) विशेष सापेक्षतावादका सिद्धान्त (Special Theory of Relativity) र (२) सामान्य सापेक्षतावादको सिद्धान्त (General Theory of Relativity) । सन् १९०५ मा अल्वर्ट सन आइन्स्टाइनले यी समस्यालाई बुझ्न निरपेक्ष विश्राममा रहेको इथरको अस्तित्व र निरपेक्ष समयको कुरालाई त्याग्नुपर्ने विषयमा आफ्नो प्रसिद्ध सापेक्षताको सिद्धान्तमा प्रकाश पारे । उनले इथरको अस्तित्व नभएको र जसरी अरू विद्युत चुम्बकीय तरड्डहरूलाई फैलिनुका लागि कुनै माध्यमको जरूरी हुँदैन, त्यसरी नै प्रकाशका तरंगहरूलाई पनि कुनै माध्यमको जरूरी नभएको पुष्टि गरिदिए ।

यसरी न्यूटनको गतिसम्बन्धी नियमले अन्तरिक्षमा निरपेक्ष स्थान (Absolute Position in Space) को विचारलाई अन्त्य गरिदियो भने आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले निरपेक्ष समयको विचारलाई अन्त्य गरिदियो । यसरी सापेक्षतावादको सिद्धान्तले हाम्रो सम्बन्धमा रहेका वस्तुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुरा बताउँछ । आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त हाम्रो दैनिक व्यवहारमा भन्दा पनि ब्रम्हाण्डका रहस्यमय जटिल प्रश्नहरू तथा दार्शनिक सत्यहरू पुष्टि गर्न बढी उपयोगी भएको देखिन्छ ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

उर्जा (Energy) भनेको के हो ?

energy
Gopal Bhandari
गोपाल भण्डारी

कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञानमा कार्य गर्न सक्ने क्षमतालाई ऊर्जा भन्दछन् । सूर्यका प्रकाशमा ऊर्जा हुन्छ जसको उपयोग प्रकाश सेलहरूद्वारा बिजलीको धारा उत्पन्न गर्नमा गर्न सकिन्छ । बिजलीको धारामा ऊर्जा हुन्छ जसदेखि बिजलीको मोटर चलाउन सकिन्छ । बारूदमा ऊर्जा हुन्छ, जसको उपयोग पत्थरको शिलाहरू तोडने अथवा तोपदेखि गोला दागनमा हुन सक्छ। अणुबममा नाभिकीय ऊर्जा रहन्छ जसको उपयोग शत्रुको विध्वंस गर्न अथवा अन्य कार्यहरूमा गरिन्छ।  परन्तु सारा ऊर्जालाई कार्यमा परिणत गर्नु सर्वदा सम्भव हुँदैन ।

महान् वैज्ञानिक आइन्सटाइनको विशेष सापेक्षतावादको सिद्धान्त (Special Theory of Relativity) को वैज्ञानिक सूत्र E = mc2  अनुसार ऊर्जाको मान पिण्ड वृद्धिलाई प्रकाशको गतिका वर्गदेखि गुणा गर्नमा प्राप्त हुन्छ । पिण्ड  र उर्जालाई एकअर्कामा रूपान्तरण गर्न सकिन्छ । कुनै वस्तुको पिण्ड नष्ट गर्दा उर्जा प्राप्त गर्न सकिन्छ । दोस्रो विश्व युद्धताका यसै सूत्रको दुरुपयोग गरी लिटिल व्वाई र फ्याट म्यान नामक परमाणु वम बनाई अमेरिकाले जापानको हिरोसिमा र नागासाकी शहरमा ठूलो धनजनको क्षति पुर्याएको थियो । ताप उर्जा, प्रकाश उर्जा, चुम्बकीय उर्जा, रसायनिक उर्जा, वायु उर्जा, रसायनिक ऊर्जा, भुगर्भिय ताप उर्जा, ध्वनि उर्जा आदि पृथ्वीमा उपलब्ध उर्जा हुन् । आधुनिक भौतिक विज्ञानमा प्रत्येक कार्यका लागि ऊर्जालाई आवश्यक बताइएको छ । ऊर्जा संरक्षण सिद्धांतका अनुसार ऊर्जालाई न त सरक्षण गर्न सकिन्छ न त नष्ट गर्न सकिन्छ  केवल यसको स्वरूप मात्र बदल्न सकिन्छ ।

एक किलो ग्राम युरेनियम २३५ ले झण्डै २० हजार मेगावाट प्रति घण्टा बराबरको उर्जा उत्पन्न गराउन सक्छ जुन ३० लाख टनको दाउरा बालदा निस्कने उर्जा बराबर हुन आउँछ । एटम वममा १ ग्राम पदार्थ विलाउँदा २१ अरब किलो क्यालोरी उर्जा उत्पन्न हुन्छ । यो भनेको दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै जाँदा २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटी बाल्दा जति उर्जा उत्पन्न हुन्छ त्यति बराबरको उर्जा १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने पदार्थलाई उर्जामा परिवर्तन गर्न सकेको खण्डमा कल्पना नै गर्न नसक्ने उर्जा उत्पन्न हुन्छ । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ उर्जामा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थमात्र उर्जामा बदलिएको हुन्छ । पदार्थ पूर्ण रूपमा उर्जामा बदल्ने प्रविधिको विकास भने अहिलेसम्म विश्वमा भइसकेको छैन ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

युरेनियम (Uranium) भनेको के हो ?

Uranium
Gopal Bhandari
गोपाल भण्डारी

युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो । युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ परमाणविक भार भएको रेडियोधर्मी धातु हो । यो तत्वको खोज जर्मन रसायनविद मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए । लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ ।

विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । खानीबाट निकालिएको युरेनियम ओरलाई प्रशोधन गरी एल्लो केक बनाइन्छ । एल्लो केक वा युरेनिया भनेको युरेनियम ओरलाई प्रशोधन गरी बनाईएको मिश्रीत युरेनियम अक्साइड्को रुप हो । यो पानीमा नघुल्ने पिरो गन्धको धुलो हो । यो २८८० डिग्रीमा पग्लन्छ र यसमा ८० % युरेनियम अक्साइड हुन्छ । एल्लो केकलाई विदेश निर्यात गर्न सकिन्छ ।

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । प्रायः युरेनियम खानी भएका सबै देशमा एल्लो केक बनाइन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन : युरेनियम-२३८ र युरेनियम-२३५ । प्राकृतिक रुपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ ।

बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेनमा ३०% वा यो भन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ । काजकास्तान, क्यानडा, अष्टेलिया, नामिविया, रसिया लगायतमा मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ । यो धातुको विश्व बजारमा पनि उच्च माग छ, तर नेपालमा आणविक ऐन नै तर्जुमा नभएको हुँदा ऐनको तर्जुमाका साथै यसको खोजीमा तत्काल पहल गर्न जरुरी छ ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।