लेखहरुविज्ञान

विज्ञान तथा प्रविधि मन्त्रालयको परिचय

Gopal Bhandari
गोपाल भण्डारी

पृष्ठभूमि र परिचय

विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल सरकारको बैज्ञानिक अनुसन्धान तथा प्रविधिको उचित विकास गर्ने बारेमा नीति तथा कार्यक्रम बनाउने मन्त्रालय हो । विज्ञान तथा प्रविधिको विकास र विस्तारको निमित्त यस मन्त्रालयले मुख्यतः प्रबर्द्धक, सहजकर्ता र नियामकको रूपमा भूमिका निर्वाह गर्दै आईरहेको छ । नेपालमा विज्ञान तथा प्रविधिलाई दिगो विकास र उच्चतम आर्थिक वृद्धि हासिल गरी रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्न प्रमुख आधार स्तम्भ मानिएको छ । कुनै पनि देशको मुहार फेर्नको लागि विज्ञान तथा प्रविधिको विकासवाट मात्र सम्भव हुन्छ।तर दीर्घकालिन कार्ययोजना विना नै ब्यक्ति र भागबण्डाका लागि केन्द्रीय सांगठानिक संरचनाहरूमा हेरफेर गर्दा संगठनका लक्ष्यहरू हासिल हुन नसकेकोतर्फ सबैको ध्यान पुग्न जरूरी रहेको छ ।

वि.सं. २०३३ साल (ई.सं. १९७६) मा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदको स्थापना भएको थियो । विज्ञान तथा प्रविधि क्षेत्रको उचित विकासका लागि अनुकुल वातावरण सृजना गरी देशको समुन्नती र विकासका लागि विज्ञान तथा प्रविधि सम्बन्धी कार्य गर्न वि.सं. २०३९ (ई.सं. १९८२) मंसिर २० गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना भयो। अर्कोतर्फ, वातावरण संरक्षण, प्रदूषण रोकथाम र नियन्त्रणर राष्ट्रिय सम्पदा संरक्षणमा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्धता व्यक्त गरी प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले नेपाल सरकारदवारा २०५२ सालमा जनसंख्या तथा वातावरण मन्त्रालयको स्थापना गरियो । विज्ञान तथा प्रविधिको उचित विकासका लागि अनुकूल वातावरण सृजना गरी नेपालको विकास कार्यमा विज्ञान तथा प्रविधि सम्वन्धी कार्य गर्न सबै निकायहरूबीच समन्वय ल्याउन र तत्सम्वन्धी क्रियाकलाप प्रभावकारी रूपमा अगाडि बढाउन वि.सं.२०५३ साल जेठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना भएको हो ।

नेपाल सरकारको मिति २०६१।१२।१८को निर्णय अनुसार तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालय खारेज गरी सो मन्त्रालयको वातावरण महाशाखालाई यस मन्त्रालयमा गाभे पश्चात् मन्त्रालयको नाम वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयराखिएको थियो। पछि यसको नाम परिवर्तन भएर विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय नाम रहन गएकोमा नेपाल सरकारको मिति २०७२।९।९ को निर्णयबाट साविकको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय दुईवटा मन्त्रालयमा विभाजन भई जनसंख्या तथा वातावरण मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय कायम भएको छ ।

मन्त्रालयको दुरदृष्टि

विज्ञान तथा प्रविधिलाई मुख्य आधारको रूपमा लिएर यसको समग्र विकासबाट रोजगारी सिर्जना र गरिवी निवारणमा योगदान पुर्याउने गरी दिगो विकास र फराकिलो आर्थिक बृद्धिदर हासिल गर्ने ।

मन्त्रालयको उद्देश्य

विज्ञान तथा प्रविधि क्षेत्रको अनुसन्धानाथत्मक कृयाकलापको विकास र प्रवर्द्धनको माध्यमबाट नयाँ प्रविधिको पहिचान गर्ने एवं अनुसन्धानबाट उपयुक्त र नयाँ प्रविधिको विकास गरी गरिवी निवारण सम्बन्धी राष्ट्रिय उद्देश्य प्राप्तिमा सहयोग पुर्याउने ।
१. परम्परागत प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।
२. विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत बौद्धिकवर्गलाई उपयुक्त अवसरको सिर्जना गरी प्रोत्साहित गर्ने।
३. नवीनतम प्रविधिको उपयोग गर्दै दिगो आर्थिक विकासमा सहयोग पुर्याउने ।

मन्त्रालयका कार्यहरू

नेपाल सरकार कार्य विभाजन नियमावली, २०७२ अनुसार विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यहरू देहाय बमोजिम रहेको पाईन्छ ।
१. विज्ञान र सूचना प्रविधि सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन ।
२. विज्ञान र प्रविधि सम्बन्धी अध्ययन तथा अनुसन्धान र सर्वेक्षण, तालिम र राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठी, सम्मेलन आदि ।
३. विज्ञान र प्रविधि सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासंग सम्पर्क र समन्वय ।
४. सरकारी तथा गैह्सरकारी संङ्घ संस्थाद्वारा कार्यान्वयन गरिएका विज्ञान र प्रविधि सम्बन्धी कार्यक्रमको मूल्याङ्कन तथा समिक्षा ।
५. विज्ञान र प्रविधि सम्बन्धी जनशक्तिको विकास र उपयोग ।
६. विज्ञान र प्रविधिको विकास तथा विस्तारका कार्यक्रम ।
७. विज्ञान र प्रविधिको क्षेत्रमा भएका प्रगतिको अन्वेषण तथा अनुसन्धान ।
८. विज्ञान र प्रविधि सम्बद्ध विश्वविध्यालयसंग सम्पर्क र समन्वय ।
९. विज्ञान र प्रविधिसंग सम्वन्धीत सामाग्रीको उत्पादन, आपुर्ति तथा ब्यबस्थापन ।
१०. अत्याधुनिक प्रविधि विषयक तथ्याङ्क संकलन, प्रशोधन र सर्वेक्षण ।
११. विज्ञान र प्रविधि विषयक द्धिपक्षीय र बहुपक्षीय संझौता तथा समझदारीपत्र ।
१२. सूचना प्रविधिको विकास र विस्तार ।
१३. पारमाणविक प्रविधिको उपयोग तथा प्रवर्द्धन र त्यसको अनुगमन, नियन्त्रण र नियमन ।
१४. रासायनिक पदार्थको उपयोग तथा प्रवर्द्धन र त्यसको अनुगमन, नियन्त्रण र नियमन ।
१५. अन्तरीक्ष विज्ञान सम्बन्धी अध्ययन तथा तथा अनुसन्धान ।
१६. सूचना प्रविधि सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्था ।
१७. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ।
१८. विज्ञान तथा प्रविधि परिषद ।
१९. राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ।
२०. प्लानेटेरियम, बेधशाला र विज्ञान संङग्रहालय ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक हुनहुन्छ ।

स्रोत :  विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार, काठमाडौं, नेपाल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!