विज्ञानसम्पादकीय

विज्ञान तथा प्रविधि मन्त्रालयको उतार चढावको हिजोदेखि आजसम्मको ईतिहास

Gopal Bhandari
गोपाल भण्डारी

२० वर्षे इतिहासमा कहिले जोडिने अनि कहिले फुट्ने अवस्थाबाट गुज्रिएकाले विज्ञान तथा प्रविधि मन्त्रालय गतिहीन भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय २०५३ साल जेठ २ गते स्थापना भएपछि पटक-पटक जोडिने र फुट्ने क्रम चलेको छ । २०६१ सालमा यो मन्त्रालयमा जनसंख्या तथा वातावरण पनि जोडियो । यसको ४ वर्षपछि २०६५ सालमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय गठन गरिएको थियो । २०६६।०२।२९ देखि २०६९।०२।०५ सम्म वातावरण मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय छुट्टाछुट्टै अस्तित्वमा रहे । फेरि, ४ वर्षपछि बाबुराम भट्टराई सरकारको पालामा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय नामाकरण गरियो । पछिल्लोपटक २०७२ साल पुस ९ गते पुनः केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रालय टुक्र्याई विज्ञान तथा प्रविधि बनाएको थियो ।

बाबुराम भट्टराई सरकारको पालामा भविष्यमा पनि नटुक्र्याउने भन्दै विज्ञान तथा प्रविधिमा वातावरण जोडेर विज्ञान, प्रविधि र वातावरण मन्त्रालय बनाइएकोमा ओली सरकारले राजनीतिक भागबन्डा मिलाउन टुक्र्याएर विज्ञान तथा प्रविधि मन्त्रालय बनाएको थियो । भागबन्डा मिलाउन मन्त्रालय फुटाउँदा त्यसले मन्त्रालयको कामकारबाहीमा दीर्घकालीन रूपमा असर पार्ने विज्ञहरूको धारणा छ । त्यतिमात्र नभई टुक्र्याइएपछि तत्कालीन जनसंख्या तथा वातावरण मन्त्री विशेन्द्र पासवानको सक्रियतामा वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रलाई वातावरण मन्त्रालयमा राखिएको थियो । व्यक्तिगत आग्रह तथा चाहनामा मन्त्रालय टुटाउने र जोड्ने क्रम जारी रहेसम्म मुलुकले विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति हुन नसक्ने पनि विज्ञहरूको भनाई छ । संक्षेपमा मन्त्रालयको गठन तथा पुनर्गठनको विवरण यस प्रकारको रहेको छ :

सि.नं. निकाय मिति कैफियत
विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान वि.सं. २०३९।०८।२० स्थापना (तत्कालिन ने.रा.प्र.प्र.)
विज्ञान तथा प्रविधि मन्त्रालय वि.सं. २०५३।०२।०२ स्थापना
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय वि.सं. २०६१।१२।१८ वातावरणसँग गाभियो
विज्ञान तथा प्रविधि मन्त्रालय वि.सं. २०६६।०२।२९ वातावरण मन्त्रालय छुट्टै गठन भएको
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय वि.सं. २०६९।०२।०५ वातावरणसँग गाभियो
विज्ञान तथा प्रविधि मन्त्रालय वि.सं. २०७२।०९।०९ जनसंख्या तथा वातावरण मन्त्रालय छुट्टै गठन भएको

मन्त्रालय अर्न्तर्गतका निकायहरू

१. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)
२. राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
३. सूचना प्रविधि विभाग
४. वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति
५. राष्ट्रिय सूचना प्रविधि केन्द्र
६. प्रमाणीकरण नियन्त्रकको कार्यालय
७. विज्ञान प्रविधि परिषद

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक हुनहुन्छ ।

स्रोत : विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार, काठमाडौं, नेपाल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!