राजा जनकको वारेमा एक जनश्रुति

राजा जनकको वारेमा एक जनश्रुति
Surendra Prasad Sigdel
सुरेन्द्र प्रसाद सिग्देल

राजा जनकको वारेमा एक जनश्रुति

राजा जनकको कुनै सन्तान छैनन्, तसर्थ यज्ञ गरेर पृथ्वीबाट सीता उत्पत्ति भएको पौराणिक दृष्टान्तहरु पाइन्छन् । तर मिथिला क्षेत्रमा बुढा–पूराना व्यक्तिहरु राजा जनक निःसन्तान नभएको र उनको एक पुत्र र एक पुत्री भएको विचार प्रमाणसहित वर्णन गर्दछन् । यसको उदाहरणको रुपमा जनकपुरको जनक दरवारमा सीताराम विवाहको उपलक्ष्यमा वैठक वस्दा बीचमा राजा जनक तथा उर्मिला र छोरा लक्ष्मीनिधी भएको मण्डप हालसम्म पनि विद्यमान नै रहेको पाइन्छ ।

उपरोक्त अनुसार उपस्थित रहेको मान्यता भएको पनि जनकपुरमा देख्न पाउदा उक्त जनश्रुतिलाई मान्यता दिनुपर्ने हुन्छ । जसमा कि राजा जनकको पुत्र अर्थात् सीताको भाई लक्ष्मीनिधि र वहिनी जनकपुत्री उर्मिला हुन् भन्ने मान्यता छ । साथै यसै मान्यतालाई पुष्टि गर्ने अर्को एउटा पौराणिक दृष्टान्त विभिन्न पुराण तथा उपनिषद्हरुमा व्याख्या गरेको पाइन्छ । उदाहरणको लागि पौराणिककालमा निमि राजाको पुत्र जनक, जनक हुँदै जनक (शिरध्वज) शिरध्वजको पुत्र लक्ष्मीनिधि २२ पुस्ता जनक हुन् । विभिन्न नाम तर जनक ५४ पुस्ता अर्थात् सत्ययुगदेखि द्वापरयुगसम्म पनि जनकले राज्य गरेको पुष्टि महाभारतमा जनक र पाण्डवहरुको भेट भएको प्रसङ्गले यसलाई पुष्टि गर्दछ । स्मरणको लागि ५४ जना जनकहरु अति वुद्धिमान, ज्ञानी भएको पढ्न र सुन्न पाइन्छ ।

* सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक प्रकाशित छ ।

रामनवमी र यसको महत्व

रामनवमी र यसको महत्व
Madhusudhan Subedi
मधुसूदन सुवेदी

रामनवमी र यसको महत्व

नवम्यामङ्क भूतेन एक भक्तेन राघव ।

इक्ष्वाकुवंश तिलकः प्रीतो भव भवप्रिय ।।

चैत्र शुक्ल नवमी रामनवमी हो । रामनवमी यो शब्दले आफ्नो साँच्चिकै पुरानो इतिहासलाई व्यक्त गरिरहेको छ । आजभन्दा करिब ९ लाख वर्ष पहिले आजकै पवित्र दिन त्रेतायुगमा मर्यादा पुरूषोत्तम भगवान् रामले पृथिवीमा अवतरण गरेको कुरा स्पष्ट छ । आदर्श र मर्यादाक्रम पन्छाउँदै धर्मबाट विमुख हुँदै गएको भारत बर्षमा आफू स्वयं सच्चरित्र र आदर्शवान् वनी आदर्श र मर्यादा स्थापना गर्नु श्रीरामको विशेषता हो । यही वैशिष्ट्यले गर्दा श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको पाइन्छ । विश्वमा प्रसिद्ध रामराज्यको संस्थापक श्री प्रभुले आजको दिनमा अवतरित भएर यस तिथिलाई आफ्नो दिव्य आलोकद्वारा पूर्णता दिइयो । भगवान् राम र उहाँको आदर्श चरित्र चिरकालदेखि कति लोकप्रिय र स्मरणीय रहेको छ भन्ने कुरा सबैले बुझ्नु मनन गर्नु अत्यावश्यक छ । वास्तविक कुरा भगवान् रामको चरित्र उहाँको जीवन कहानी हो, जुन स्वभावतः संसारको सम्पूर्ण व्यक्तिले अनुभव गरिरहेका छन् ।

राम केवल विरक्त साधु—सन्यासीहरूको लागि मात्र नभई गृहस्थाश्रमिहरूको लागि पनि सञ्जीवनी बुटिरूपी अमृत हो । गृहस्थी मानिसको लागि गर्न कृत्य जुन यथार्थता रामायणमा अङ्गित छ । दशरथ पिता हुन् र  कौशल्या जननी हुन् । राम लक्ष्मण आदि भाई, तथा सीता उर्मिला आदि भाउजूहरू हुन् । यस्तै प्रकारले गुरु, माता–पिता, भाई, पति—पत्नी, शत्रु–मित्र, स्वामी–सेवक इत्यादि सम्पूर्ण र।मायणको लागि हाम्रो प्रत्येक घरमा मौजुद छन् । रामायणमा उल्लेख घटनाहरू आदर्श भए तापनि यो सांसारिक सत्य घटना भएको छ । यसरी रामचरित्र प्रत्येक गृहस्थको सच्चा आदर्श कहानी हो । यो देशका प्रत्येक बालबालिकाको ह्रृदयमा रहेको छ । देशका धनीदेखि गरीव व्यक्ति सम्म यो अमृतरूपी आकर्षक वस्तु बनी पौडिरहेको छ कुनै आश्चर्य छैन । साँचो कुरा त यो हो कि संसार सागरमा बहदै गइरहेको जीवनरूपी डुङ्काको लागि भगवान्को यो पुण्यचरित्रले  दिव्य प्रकाशको काम गरेको छ र भविष्यमा पनि गरिनै रहने छ ।

रामनवमी हाम्रो राष्ट्रिय र सांस्कृतिक पर्व हो । यस पर्वले सनातन आर्यसंस्कृतिको उदात्त आदर्शको सम्झना दिलाउँदै आज पनि धर्मविमुख मानव समाजको लागि सुख एवं शान्तिको सन्मार्ग प्रदर्शित गर्न समर्थ भएको छ । आज संसारमा सबैतिर स्वार्थ र लोलुपताको विशाल तृष्णा छाएको छ । सबै मानिस कहिले नभरिने नहुने लालची पात्रपूर्तिमा अडिग छन्, यसरी  सबै मानिस आफ्नो कर्तब्य भुलेर केवल आफ्नै स्वार्थको लागि पाइन्छन् । मान—सम्मान, जाति, समाज, धर्म र संस्कृतिको लागि एकले अर्कालाई समाप्त गर्न पनि हिचकिचाउँदैनन्, भाइ–भाइ, बाबु–छोरा, सासू–बुहारी, मित्र–मित्र, जनता—जनतामा रात दिनको झगडाले हाम्रा परिवारलाई नरककुण्डभन्दा पनि घृणित वबाइ दिएको छ । त्यसकारण रामनवमी जस्तो पर्वको महत्वलाई अझ बढावा दिनुपर्दछ ।

हामीले यो पर्वलाई मन्दिरमा गएर दर्शन गरी अथवा घरमा बसेरमात्र नमनाई यसलाई सामूहिक रूपदिनु महत्वबोध गराउनु राम्रो हुनेछ  । ठूलो धार्मिक जुलूस निकाली झाँकी प्रदर्शन गराई ठूलो जमघट गराई जनतामा रामको आदर्श स्मरण गराउनु राम्रो कुरा हो । मानव कर्तव्यमा भावनाको बलिदान गराउन सिकाउनाले पनि वास्तविक मानसिक विकास हुन सक्तछ ।

भगवान् श्रीरामले लोककल्याणको निमित्त जुन सन्देशहरू दिनु भएको थियो, त्यसले भूत, भविष्यत् र वर्तमान तीनै कालमा सबैले लोक कल्याणको निमित्त अनिवार्य रूपले पालन गर्नु पर्ने हुन्छ । जसले मर्यादा तोडदछ, जो लोकहितका विरुद्ध स्वार्थपूर्ण पापकृत्यमा लाग्दछ, जसले सच्चरित्रताको अपमान गर्दछ, त्यस्तो व्यक्तिले सज्जनको बिचमा कहिले पनि सम्मान पाउँदैन । मानिस आफूलाई जतिसुकै वीर पुरूषार्थी मानोस् ऊ कुलीन हो वा अकुलीन हो, पवित्र हो वा अपवित्र हो यो उसको चरित्रले नै स्पष्ट बताउँदछ । हामीहरूले सुनेका छौं आÇनो प्रतिज्ञा पूरा नगर्ने, चञ्चल र अस्थिर मनोवृत्तिको कर्तव्यच्युत पुरूषप्रति न देवताहरू न पितृहरू आशावान् हुन सक्तछन् अर्थात् त्यस्ता मानिसबाट कुनै पनि गर्व गर्नलायक उत्तम कार्यको आशा रहँदैन । यसैले मानिस मर्यादाशील हुनुपर्छ, पुरुषार्थी बन्नुपर्छ मर्यादाको सन्देश दिने प्राणीमात्रमा रमण गर्ने र सबैलाई आनन्द गराउने महान् प्रतिभाको नाम नै  राम हो ।

राम दशरथ राजाको पुत्र र सीताजीका पति थिए, यो उनको स्थूल अवतार रूप थियो । यस अवतारको चरित्र सवैले धेरै पटक पढेका, सुनेका वा हेरेका होलान्, तर कथारूपी यो अमृत पिएर कसलाई तृप्ति होला । अत एव यस चरित्रको फेरि स्मरण गरौं ।

ततो यज्ञसमाप्ते तु ऋतूनां षट् समत्ययुः ।

ततश्च द्वादशे मासे चैत्रे नावमिके तिथौ ।।

नक्षत्रे दिति दैवत्ये स्वोच्चसंस्थेषु पञ्चषु ।

ग्रहेषु कर्कटे लग्ने वाक्पताबिन्दुना सह ।।

प्रोद्यमाने जगन्नाथ सर्वलोकनमस्कृतम् ।

कौशल्याजनयद् रामं दिव्य लक्षण संयुत्तम् ।।

यज्ञ समाप्ति भएपछि जब ६ ऋतु बितेर गयो तब बाह्र महिनामा चैत्र शुक्लपक्ष नवमी तिथिको पुनर्वसु नक्षत्र एवं कर्कट लग्नमा कौशल्यादेवीबाट दिव्य लक्षणले युक्त सबै लोकले मान्ने जगद्का ईश्वर श्रीरामले धर्तीमा जन्म लिनुभयो । त्यस समय (सूर्य,मङ्कल,शनि,गुरु र शुक्र) यी पाँच ग्रह आफ्नो आफ्नो उच्च स्थानमा विद्यमान थिए तथा लग्नमा चन्द्रमाको साथ बृहस्पति विराजमान हुनुहुन्थ्यो ।

मार्यादा पुरूषोत्तमका रूपमा चिनिएका भगवान् रामले जुन रूपमा मानव समाजको मर्यादालाई नमुनाको रूपमा प्रस्तुत गर्नुभयो त्यस्को सबैले अनुसरण गर्नु अति आवश्यक छ । उहाँ प्रजातान्त्रिक राजा हुनुहुन्थ्यो, रामराज्य भए पनि, हामी लिन र मनन गर्न सक्दछौं । किनभने उहाँले आफ्नो देश, समाज र परिवारप्रतिको कर्तव्य र मर्यादाको पालन गर्नुका साथै लोक कल्याण कसरी गर्न सकिन्छ भनी आफूलाई उत्सर्ग गर्नु परे पनि कम्मरै कसेर अमर कीर्ति प्राप्त गर्नुभयो । यिनै महान् कुराको अवलोकन गरेर नै प्रत्येक वर्षको चैत्र शुक्ल नवमीका दिनलाई उहाँका जन्मको सार्थक दिन मानी राममहोत्सवको रूपमा मनाइँदै आएको हो ।

सगुण तथा निर्गुण दुवै  लीलासँगै सँगै गर्दै आउनु भएका श्रीराममा मानवीय स्वभाव ओतप्रोत भएको पनि पाइन्छ । पिताको आज्ञा पालन भाइहरू प्रतिको अटल प्रेम, प्रजावत्सलताको अटल आदर्श, पत्नीप्रतिको अमर प्रेम, जीवात्मा र परमात्मा तर्फ एकै किसिमको भाव राख्ने राममा मानवभित्र समाहित हुनको लागि चिन्ता, आशा, निराशा, कुण्ठा आदि पनि अन्तर्निहित भएको पाउँन सक्दछौं ।

रामायण रामचरित्र विस्तारको महान् ग्रन्थ हो । जो पूर्वीय आदर्श मार्यादा र जीवनमूल्यको सर्वोच्च शिखरको रूपमा संरक्षित छ । यो सभ्यता र संस्कृतिको सिरानी हो, कलात्मक र काव्यात्मकताको गौरीशङ्गर हो ।अनि  भावव्यञ्जना र कल्पनशीलताको गङ्कोत्तरी हो । तसर्थ भगवान् श्रीरामचन्द्रको जन्मजयन्ती रामनवमीका दिन राम नाम स्मरण (हरेराम हरे राम राम राम हरे हरे) गर्नु कर्तव्य संझिन्छ । शक्ति सम्पन्न यो नाम भक्तिपूर्वक पाठ गर्नुपर्दछ । यसैमा विश्व शान्ति, देशको कल्याण, नरेशको अभ्युदय र नेपाल र नेपालीको सदा सर्वदा आदर कदर तथा शक्ति सम्पन्नता छ । यो नाम सङ्गीर्तनबाट नै हामी देश तथा संसारमा यश, गौरब हासिल गर्न सफल हुनेछौँ र भगवान् श्रीराम चन्द्रबाट आशीर्वाद प्राप्त गर्नेछौं यसैमा सबैको कल्याण छ । रामले जो गरेर देखाउनु भयो धार्मिक विश्वासमा यस्तो अरू कुनै पनि उदाहरण सांसारिक इतिहासमा देखिंदैन । तसर्थ यस्ता सदगुणीको जीवलक्ष्यलाई अपनाइ देश र जनताको सेवामा सँधै तत्पर रहन सक्ने बनौं यही सद्गुणग्रहण गर्न सक्नु नै रामनवमी पर्व मनाउनुको विशेषता हो ।

पितृ—आज्ञामा दृढ रहनुका समानरूपले सुखदःुखमा अटल रही श्रीराम चन्द्रको धार्मिक मूल्य र मान्यतालाई उल्लङ्घन गर्ने रावणरूपी दुष्टहरू समाजमा रहेसम्म त्यस समाजले धार्मिक गति लिन सक्तैन । यस स्थितिमा मर्यादा पालन, सहिष्णुता, दया—धर्म आदि कुनै पक्षमा पनि प्रगति गर्न नसक्ने हुनुका साथै सामाजिक तथा धार्मिक अराजकता हुने कुरा स्पष्ट थियो । यस्तो मर्यादाहीन कार्य गर्ने रावण रूपी दुष्टहरूको उन्मूलन हुनुपर्दछ र सद्गुणीको प्रोत्साहन र स्थापन हुनुपर्छ भन्ने लक्ष्य अपनाई देश नरेशको सेवामा तत्पर रही रहने भावना श्रीराम प्रभुबाट जगाइबक्स्यो । यही प्रेरणा आजको दिनले हामी सबैलाई स्पष्ट औंल्याएको देखिन्छ ।

यसरी रामनवमी पर्वले हामीलाई रामको आदर्शमा हिंड्न प्रेरित गर्नेछ । हामी श्रीरामको जीवनबाट शिक्षा ग्रहण गरेर उनीकै समान आदर्श पुत्र, दाजु—पति या जनसेवक बनौं र मानव सद्भावनाको सेवा गरौं । यस्तो गरेर नै संसारमा फेरि रामराज्य कल्पना साकार हुन सक्छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

होली पर्व र यसको महत्व

होली पर्व र यसको महत्व
मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

होली पर्व र यसको महत्व । हिन्दू संस्कृतिमा रङ्गहरूको चाड होली नेपालीहरूको प्रमुख चाड हो । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ ।

सर्व दुष्टापहो होम सर्वे रोगो पशान्तये

क्रियते स्यां द्विजैपार्थ तेन सा होलिका स्मृता ।

निशागमे प्रपूज्येत होलिका  सर्वदा जनैः

नदिवा पूजयेद् ढुण्ढां पूजिता दुःखदा भवेत् ।।

होली हामी सनातनी आर्यहरूको अतिप्राचीन धार्मिक तथा सांस्कृतिक पर्व हो ।  यो फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । यस दिन साना ठूला, उँच–नीचको विचारलाई छाडेर सबैले यस फागु पर्व मनाउँदछन् । होलीले सबैको मनमा भएको मैलोलाई धोएर नयाँ प्रेमको रङ्क दिने हो । यस दिन पुरानो शत्रुतालाई त्याग गरेर एकजुट भई होली पर्व मनाउँदछन् । नेपालको सम्बन्धमा होली पर्व फाल्गुन शुक्लअष्टमीका दिन हनुमान ढोकाअगाडि चीर गाडेर सुरुवात गरिन्छ र पुर्णिमाको दिन चीर दाह गरेर समाप्त गरिन्छ । यस समय विशेष गरेर जाडो समाप्त हुन्छ । किनकि शिशिर ऋतु समाप्त भई वसन्त ऋतुको आगमन भइसकेको   हुन्छ । यसद्वारा सबै जनजीवनमा एक नयाँ आनन्द भरिएको हुन्छ । यस समय किसानहरूले आफ्नो बाली नाली भरखर भित्रयाएका र राम्रो बालीनाली भएको कारण बडा प्रशन्न रहन्छन् । ईश्वरसँग प्रार्थना गर्दछन् कि हजुर धन्य हुनुहुन्छ भनी यो होली पर्व खुसीका साथ तराई पहाड सबैतिर मनाउँदछन् ।

यस पर्वको सुरुवात श्रीमद्भागवत् दशमस्कन्दको उत्तराद्र्धको अन्तिम अध्यायमा बताइए अनुसार  भगवान् श्री कृष्णले आफ्नो महिषीहरूलाई रङ्क विरङ्कका पचकारी आदिबाट रङ्काइ दिनुभएबाट ती महिषीहरू आनन्दले विêल भएर शरीर आदिको भाव रहित भएर श्रीकृष्णमय भएका थिए । त्यसै बेलादेखि यो पर्व प्रचलित भई मनाउँदै आएको भन्ने कुरा स्पष्ट देखिन्छ ।

यस होली पर्वबारे दुईवटा लोककथा प्रसिद्ध छन्– एक ढौण्डा राक्षसी र दोस्रो होलिका र प्रल्हाद ।

ढौण्डा राक्षसीको बारेमा यस प्रकार कथन छ–सत्य युगमा पृथु नाम गरेका एक महान् र प्रतापी राजा थिए । उनको राज्यमा प्रजा हरतरहले सम्पन्न र सुखी थिए । अचानक राजा पृथुलाई यो समाचार प्राप्त भयो कि उनको राज्यमा ढौंण्डा नाम गरेकी राक्षसी आई बालकहरूलाई उठाएर लान थाली । जसले गर्दा राज्यमा ठूलो डर र आतङ्ग पैदा भयो । उसलाई मार्नका लागि विभिन्न किसिमको प्रयास गरियो तर मार्न सकिएन । तसर्थ राजा पृथु बडो चिन्तित हुनुभयो र तुरुन्त आफ्नो कुलगुरु वशिष्ठ मुनि कहाँ जानुभयो । राजाले आफ्नो गुरुसँग विनम्र भावले भन्नुभयो कि ढुण्ढा राक्षसी केही गरे पनि मर्दिन यसको कारण के हुन सक्दछ हजुरले मलाई सबै कुरा कृपापूर्वक बताइदिनुहोस् । उसबाट कसरी मुक्ति पाउँन सकिन्छ ताकि प्रजाहरू भय र आतङ्गबाट सदाको लागि आनन्दित रहुन् ।

वशिष्ठ मुनि महान् योगी हुनुहुन्थ्यो । उहाँले तत्काल ध्यान लगाएर हेर्नुभयो र भन्नुभयो, हे राजा यस राक्षसीलाई भगवान् शङ्गरले वरदान दिनुभएको छ । ऊ कुनै पनि प्रकारले मर्दिन तापनि एउटा उपाय छ सो गर्नुपर्दछ । फागुन शुक्लपूर्णिमाको दिन एक उत्सव गर्नु उक्त उत्सव शहरको बीच भागमा होवोस तथा वहाँ एक अग्नि कुण्ड बनाउनु जसमा दाउरा गुईंठा राखेर आगो बाल्नू । आगो बालेपछि सवै जनता आगोको वरिपरि रहेर गाउनु, हाँस्नु र नाँच्नु । यसो गर्नाले ढौण्ढा राक्षसी भाग्दछे र फेरि कहिले पनि यस ठाउँमा आउँदिन । राज पृथुले वशिष्टजीले बताएमुताबिक पुरा आयोजना गर्नुभयो । यसको प्रभावले गर्दा राक्षसी भागेर गई साथै फेरि कहिले पनि फर्केर आइन । त्यसवेलादेखि यो पर्व मनाउँदै आएको हो ।

अर्को कथा यस प्रकार छ–

एक समय हिरण्यकश्यप नाम गरेको बडो बलवान  राजा राज्य गर्दथिए उनी भगवान्लाई मान्दैन थिए । यसकारण उनको राज्यमा भगवान्को पूजा भजन, जप–तप कसैले गर्दछ कि भनी पूरा निगरानी थियो । तसर्थ डरले गर्दा कोही पनि भगवान्को कार्य गर्दैन थिए । यिनैको एक छोरा थियो जसको नाम प्रल्हाद हो । पिताको ठिक विपरीत इनी ईश्वरको निकै भक्त थिए । साथै सदैव भगवान्को तप र भजन गर्दै   रहन्थे । हिरण्यकश्यपलाई यो राम्रो लाग्दैन थियो । उनले धेरै प्रयत्न गरेकि छोराले भगवान्को भजन, तप गर्न छोडिदेओस् । तर उनले सोचे जस्तो भएन । प्रल्हादलाई धेरै किसिमबाट डराउने काम गर्नु, धमकाउनु, आदि अनेक कष्ट दिंदा पनि भगवान्को भक्तिमा अडिक रहे ।

केही उपाय नलागि निराश भएर हिरण्यकश्यपले आफ्नी बहिनी होलिकालाई बोलाए । उनको एउटा ठूलो शक्ति थियो कि उनी आगोमा जल्दैन थिइन् । तसर्थ राजाले उनैको काखमा प्रल्हादलाई बसालेर आगोमा जलाई दिने षड्यन्त्र गरे । तर राजाको यो प्रयास पनि असफल  भयो । उल्टो उनको बहिनी होलिका नै आगोमा जलेर भष्म भइन् । प्रल्हादलाई एक छेउ पनि केही भएन र त्यसबेलादेखि भगवान्का भक्त यो पर्व मनाउँदै आइरहेका छन् । रातमा प्रत्येक घरमा होलिका जलाइन्छ र भगवान्को कृपाको याद गरिन्छ । त्यही आगोमा नयाँ अन्न भूटदछन् र सबै एक अर्कासँग मिलेर खान्छन् । तसर्थ सबैले होलिकालाई जलाइनु भन्नु आफ्नो घमण्डलाई जलाई घर घरमा एकता ल्याउनु हो यसैमा सबैको कल्याण छ धर्म छ । यस पर्व फाल्गुन शुक्ल अष्टमीका दिन हनुमान ढोकामा चीर गाडेपछि बाटामा हिड्ने बटुवा आदिलाई अवीर रङ्क हाली केटा केटीले हैरान गर्न थाल्दछन् द्वादशीदेखि त निकै नैं सर्तक भइ हिड्नुपर्दछ । हुनत सरकारले वटुवालाई फागु हाल्न मनाही गरेको हुन्छ तर केटाकेटी लुकिछिपी दुःख दिन्छन् । विशेष गरेर भारतमा यो पर्व मनाउने चलन छ ।  गोबर पनि रेल बस आदिमा फालिदिन्छन्, पूर्णिमाको दिन त परस्परमा अवीर रङ्क पिचकारी हाली सारा शरीर नै रङ्कले रङ्किएका हुन्छन् मध्यानपछि स्नान गरी भोजनखाइ सेता नयाँ लुगा लगाइ देवताका स्थानमा जाने परम्परा छ । त्यहाँ परस्परमा बन्धुवर्गहरू मेलमिलाप गरी सानो टीका मात्र देवताको प्रसाद स्वरूप अवीर लगाउँदछन् । चीर दाह गर्ने दिन प्रायःजसो भद्रा पर्ने हुँदा भद्राको घडी बिताएर मात्र आधारात भए पनि ढिलो चीरदाह गर्दछन् । भद्रामा चीर दाह गरेमा गाउँ गाउँमा दैवीप्रकोप आग लागि आदि हुन्छ भन्ने धर्मशास्त्रको निर्णय छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

के हो शिवलिङ्ग् ?

के हो शिवलिङ्ग् ?

के हो शिवलिङ्ग् ?  प्राय: जसो मानिसले शिवलिङ्ग भन्नाले शिवको लिङ्ग  भनेर  बुझ्दछन। भनिन्छ शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप मानिने लिङ्ग आकारको मूर्ती हो। यो देवी शक्ति वा पार्वतीको प्रतिक मानिने योनी माथि रहने गर्छ। शिव भनेको ईश्वरको एउटा नाम हो । लिङ्ग भनेको संस्कृत शब्द हो जसको अर्थ चिन्ह हो । शिवलिङ्गको अर्थ हुन्छ ईश्वरको कल्याणकरी स्वरूपको प्रतिक ।

शिवलिङ्ग बास्तबमा प्रकृती र पुरुषको प्रतिक हो । यसको तलको गोलाकार भाग प्रकृती हो भनेको माथीको भाग पुरुष हो । जब प्रकृती र पुरुष मिल्छ तब मात्र सारा सृष्ठी सम्भव हुन्छ । चेतन पुरुषले अचेतन वा जड प्रकृतीमा बिज स्थापना गरेपछी मात्र नै सृष्ठी सम्भव छ । लिङग पुराण अनुसार शिवलिङ्ग बास्तबमा निराकार चिन्ह हो, सम्पुर्ण प्राणीहरुको सिर्जनाको आधार हो । यो ब्रह्माण्डमा जति पनि सृजित बस्तु छन ती सब प्रकृती र पुरुषको संयोजनबाट बनेका छन ।

महाशिवरात्रि र आराध्यदेव श्री पशुपतिनाथ

महाशिवरात्रि र आराध्यदेव श्री पशुपतिनाथ
मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

महाशिवरात्रि र आराध्यदेव श्री पशुपतिनाथ

फाल्गुने कृष्णपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।

तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।

तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।

नस्नानेन न वस्त्रेण न धूपेन न चार्चया ।।

तुष्यामि न तथा पुष्पैर्यथा तत्रोपवासतः ।।

यो विष्णुः सः शिवः प्रोक्तो यः शिवोविष्णुरेवचः ।।

                                                                                             — देवी भागवत

फाल्गुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्री व्रत बसी शिवजीको पूजा गर्नुपर्दछ । यिनका सत्, चित्, आनन्द स्वरूप परब्रम्हको उत्पत्ति, स्थिति र संहार गर्ने तीन स्वरूप छन् जुन ब्रम्हा, विष्णु, महेश भनिन्छन् । उहाँहरू अनन्त अविनाशी, अमर, निराकार, तथा निर्गुण हुनुहुन्छ । तथा एक भएर पनि साकार सगुण अनेक हुनुका साथै बेग्ला बेग्लै नाम गणेश, कृष्ण, राम, ब्रम्हा, विष्णु, शिव शक्ति आदि अनादि कालदेखि नै अनेक रूप धारण भएको भए तापनि केवल एउटै हुनुहुन्छ । शिव पुराणमा आद्योपान्त यिनै ब्रम्हलाई शिवको रूपमा वर्णन गरिएको पाइन्छ । वेद, पुराण, उपनिषद आदिमा ब्रम्हको नै वर्णन छ किनकि शिव नै ब्रम्ह हुन् ।

सृष्टिको आरम्भमा केवल शिव नै विद्यमान हुनुहुन्छ । अरु कोही हुदैनन् । त्यसकारण यो सिद्ध हुन जान्छ कि परब्रम्हको जुन प्रलयकारी या संहारकारी स्वरूप छ त्यसैको नाम रुद्र । उहाँको एउटा शक्ति रुवाउनको लागिमा रुद्र र जगतको भलाइँ गर्नामा शिव यसरी परस्पर विरोधी नामले पुकारिन्छ । झट्ट हेर्दा रुद्र र शिव यसरी परस्पर विरोधी भान हुन्छ, किनकि जस्ले रुवाउँछ उ कल्याणकारी कसरी हुन सक्छ, तर राम्ररी विचार गर्ने हो भने भावना सर्वथा भ्रमपूर्ण हुन्छ । हामी प्रतिदिन देख्दछौं कि प्रकृतिको कार्यमा विनाश या प्रलय नै शिव अथवा शुभको कारण बन्दछ । विनाश नभइकन सृष्टि नै हुँदैन । जस्तो कुनै अन्नलाई जमिनमा मिलाएर रोपिन्न विनष्ट गराइन्न तवसम्म धेरै अन्न फलाउन सकिंदैन । यसबाट यो प्रतीत हुन्छ कि बिउलाई माटोमा मिलाएर बरबाद गराउनु ईश्वरको रुद्र रूपको कार्य हो । अतः हामी एउटा शक्तिको रुद्र र शिव यी दुवै नामबाट पुकार्दछौ यो वास्तविक स्थिति हो, कल्पित होइन । यिनै रुद्र अथवा शिवको महोत्सव दिवस हो शिवरात्रि ।

पुरानो पात झरेर नयाँ पालुवाको मनमोहक समय शिशिर ऋतु शिवको असली स्वरूप नयाँ पालुवाको अङ्कुरित हुन् फागुन महिना यस उत्सवको लागि राखिएको जस्तो देखिन्छ । अतः परब्रम्हको संहारक विभूति भगवान् रुद्रको कृष्ण पक्षको अन्तमानै उत्सव मनाउनु उचित मानिएको छ । ईश्वरले यो नियम राख्नु भएको छ कि पूर्णतया समाप्तिया मृत्युको अनन्त र प्रकृति कुनै पनि वस्तुको पुनर्जीवित गराउँदैन । जबसम्म अलिकति पनि जीवनकला अवशिष्ट रहन्छ तबसम्म मन्त्र, औषधि र भगवत्प्रार्थना आदि जीवनको साधनले काम गर्दछ । यही नियम संझाउनको लागि भगवान् शिवको महोत्सव चतुर्दशी राखिएको हो, त्यस बखतमा जीवन दाता चन्द्रमाको एक कला अवशिष्ट रहन्छ ।

श्वेताश्वर उपनिषद्ले स्पष्ट बताएको छ कि ”एकोहिरुद्रो न द्वितीयाय तस्थै“ अर्थात् केवल रुद्रमात्र एक हुनुहुन्छ दोस्रो अरु कोही    छैन । वृहद् धर्म पुराण पूर्वखण्ड अध्याय ९।१० मा यति मनमोहक आनन्ददायक कथा बताइएको छ –

कुनै समय भगवान् विष्णु वैकुण्ठमा सुकला भएको बेला यति राम्रो सपना देख्नुभएछ । करौडौ चन्द्रमाको ज्योतिले युक्त भै त्रिशूल डमरु बाहुमा धारण गर्नु भएको गहनामा सुन, सर्प, चन्द्रमा आदिले सुशोभित, तीन नेत्र हुनु भएका भगवान् शिव प्रेममा मस्त रही उहाँको अगाडि नाचिरहनु भएको देख्नुभयो । भगवान् विष्णु प्रसन्न हुनु भई ओछ्यानमा विराजमान हुनुभयो । सो देख्दा भगवती लक्ष्मीलाई अचम्म लागेर कारण सोध्नुभयो । तर भगवान् बाट कुनै उत्तर तुरुन्त आएन । केही बेरपछि भन्नु भयो– देवी, मैले भरखरै सपनामा वडा आनन्ददायक महेश्वरको दर्शन पाएँ । मलाई यस्तो भान हुन्छ कि वहाँले मलाई सम्झना गरिरहनुभएको   छ । तसर्थ हामी वहाँको दर्शनकोलागि जाऔँ ।

तुरुन्तै दुवैजना कैलास तर्फ प्रस्थान गर्नु भयो अलिपर नपुग्दै उमा महेश्वर त्यसतर्फ आउँदै गरेको देख्नुभयो । जव दुवैको भेट भयो बडा आनन्दले प्रेमालाप गर्नु भयो । यसबाट स्पष्ट हुन्छ कि भगवान् शिवलाई पनि रातमा सपना भएछ जसरी विष्णुले जुन रूपले जस्तो देख्नुभएको छ त्यस्तै भयो होला र विष्णुलाई भेट गर्न आउनुभयो ।

दुवैको प्रेमालाप पछि एक अर्काले आफ्नो धाममा जानको लागि आग्रह गर्नु हुँदा कहाँ जाने दुवैमा अन्योल पयो र आखिर उमा भगवतीले जे भन्नु हुन्छ सोही अनुसार गर्ने निधो भयो र उमा भन्नु हुन्छ–हे विष्णु हजुरहरूको अटल प्रेमलाई देखेर यस्तो लाग्दछ कि कैलाश भनेको नै वैकुण्ठ हो र वैकुण्ठ भनेको नै कैलास हो । केवल नाममा मात्र द्विविधा हो । मलाई यस्तो लाग्दछ कि यहाँहरूको आत्मा एकै हो केवल शरीरले मात्र दुई देखिएको हो । जो म हुँ त्यही नै यी लक्ष्मी हुन् र जो लक्ष्मी हुन् उनै म हुँ ।

तसर्थ यसबाट स्पष्ट हुन्छ कि ब्रम्ह  नै शिव हो शिव नै ब्रम्ह हो केवल शिव सिवाय दोस्रो अरु कुनै छैनन् ।

शिवरात्रि मनाउन पशुपतिलाई ३१ तोपको सलामी दिइन्छ मान सम्मान गरिन्छ । पशुपतिलाई महाभारत कालमा किरातीहरूको शासन कालदेखि पशुपतिलाई किरातेश्वर महादेव र अर्जुनलाई किरातेश्वरको अवतार भन्ने चलन अहिलेसम्म छ । पशुपतिको कृपाले नै अर्जुनले पाशुपातास्त्र प्राप्त गरेका हुन् भनिन्छ । श्री आराध्यदेव पशुपति नाथको शरीरको दर्शन गर्न जाँदा उहाँको लिङ्कमा पूर्व पश्चिम दक्षिण र उत्तर दिशामा ४ मुखको दर्शन हुन्छ । शिवशास्त्र अनुसार वहाँको मुख मस्तक भागमा र तल्लो भाग पातालतर्फ छ, यो भौतिक दृष्टिद्वारा देख्न सकिंदैन । पूर्वमा– तत्पुरुष, उत्तरमा– वामदेव, दक्षिणमा– अघोर, पश्चिममा–सद्योजात, उध्र्वमा– ईशान, अधःपातालमा– कालाग्नि रुद्र मानिन्छ । वहाँले बन्धनमा परेका जीवलाई मुक्त, अज्ञानीलाई ज्ञानी गराइदिनुहुन्छ । अज्ञान भनेको पशुत्व हो पशुलाई ज्ञान प्रदान गरेर उनीहरूलाई अज्ञानबाट मुक्त गर्न हुने शिवको नाम पशुपति हो । पशुहरूको मालिक पशुत्वबाट मुक्त गर्ने ईश्वर नै पशुपति हुनुहुन्छ ।

दुःखहरूको अन्त्य स्वयं पशुपतिको प्रसादबाट मात्र छिट्टै प्राप्त हुन सक्दछ । तसर्थ भक्तजनहरूले यस ब्रम्हाण्डमा ३३ करोड देवतामा महादेव शिव पशुपतिनाथलाई नै सर्वोपरि मानेका छन्

यस दिनलाई महाशिवरात्रि भनेर मानेको छ । यस रात्रिको प्रहर प्रहरमा शिवजीको पूजा गर्ने विधि छ । यस विषयको पौराणिक कथामा— मृग आदि पशुहरू मारेर सधैँ जीविका चलाउने कुनै व्याधाले दिनभरि कुनै सिकार नपाउँदा रातमा पानी खान आएका मृगलाई मारेर घर लैजान्छु भनी पानी पोखरीको नगिच बेलको रुखमा लुकेर बसेको र त्यस रुखको तल भूमिमा शिव लिङ्क भएको लुकेर वसेको ठाउँबाट बेलको हाँगा र पातले वाण हान्न अप्ठ्यारो भई छेकिदाँ  बेलको पात टिपेर तल फाल्दा शिवको रातको प्रहर प्रहरको पूजा भएकोले त्यसले उत्तम गति प्राप्त भएको उल्लेख छ । शिवजी आशुतोष अर्थात् चाँडै प्रसन्न भएर इच्छा अनुसार वर  दिनुहुने हुनुहुन्छ भनी सर्वत्र प्रसिद्ध छ ।

हामी नेपालीको राष्ट्र देव आराध्यदेव श्री पशपुति नाथ नै हुनुहुन्छ, उहाँकै छत्र छाँयामा हामीहरू रहेका छौं । यस्ता परमाराध्य पशुपतिनाथ प्रभुको दर्शन गर्न भारत आदि देशहरूबाट यस महापर्वमा भक्तहरू र साधु सन्तको ठूलो जमघट हुन्छ । हामी पनि यस दिन व्रत बसी शिवको आराधनामा संलग्न होऔं यसैमा परम कल्याण छ । ॐ नमः शिवाय !

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ? हिन्दूका संस्कार अनुसार शिरको केन्द्रस्थानमा नकाटी-नखौरी राखिने रौंलाई टुप्पी भनिन्छ । वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिसहरुले टुप्पी राख्ने चलन छ । व्रतबन्ध गरेपछि हरेक बैदिक हिन्दु धर्मालम्बीहरुले टुप्पी राख्नुपर्ने शास्त्रीय मान्यता छ । पहिला-पहिला भनिन्थ्यो टुप्पी ब्राह्मणको पहिचान हो । प्राय: ब्राह्मण परिवारमा जन्मिएको मानिसको टाउकोमा लामो ‘टुप्पी’ हुने गर्थ्यो । टुप्पी धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण प्रतीकात्मक चिह्नको हो ।

शरीरको सवैभन्दा टुप्पो वा शिर्षस्थानमा राखिने भएको हुनाले यसलाई नेपाली भाषामा टुप्पी र संस्कृत भाषामा शिखा भनिन्छ। एरियल बिना रेडियो, एन्टिना/डिस्क/केवललाईन बिना टेलिभिजन आदिहरुले काम गर्दैन। भनिन्छ टुप्पीले भगवानसँग प्रत्यक्ष सम्वन्ध राख्दछ । अनि टुप्पी बिना वैदिक हिन्दु धर्मालम्वीहरुको अध्यात्मक्षेत्रको कुनै अर्थ छैन् । त्यसैले वैदिक हिन्दुहरुले परापुर्वकालदेखि टुप्पी राख्दै आएका हुन्। गोखुर प्रमाण (गाईको खुर), वच्छखुर प्रमाण (वाछाको खुर) कुश प्रमाण (कुशजत्रो) टुप्पी राख्नुपर्दछ भन्ने धार्मिक मान्यता छ ।  गायत्रीमन्त्रेण शिखांवद्धवा “अर्थात् गायत्री मन्त्र उच्चारण गर्दै टुप्पी पवित्र बनाएर बाँध्नुपर्दछ।

“आन्तरो मस्तिस्कस्योर्ध्वं शिरासन्दसमागम:/

रोमावर्तोSधिपो नाम यस्तु मर्म हर्त्यसुन्।।”

अर्थात् टाउकोको उच्चस्थानमा रौँहरुको भुमरीको नाम मालिक हो, यो मर्मस्थल छ,जहाँ कुनै चोट लाग्नासाथ मानिसको मृत्यु हुन्छ । त्यहि संवेदनशील भागमा नै टुप्पी राख्नुपर्दछ । यसरी राख्दा “यशसे श्रिया शिखा ” अर्थात् यश र ऐश्वर्य प्राप्ति गर्नको लागि टुप्पी धारण गर्नुपर्दछ। टुप्पीले दिमाग वा प्रतिभाको प्रतिनिधित्व गर्दै मानिसमा धैर्य-धारण गर्ने सहनशक्ति र स्मरणशक्ति, स्फुर्ति बढाउँछ। वैदिक धर्मालम्वीहरु हौँ भने टुप्पी अवश्य राख्नुपर्दछ किनकि टुप्पी उनीहरुको पहिचान हो ।

विश्वको अग्लो स्थानमा रहेको सगरमाथाको टुप्पोमा संसार जलमा डुवेको अवस्थामा सप्तऋषिहरुले माछोरूप एकसीङ्गे डुङ्गालाई बाँधेका थिए भन्ने शास्त्रीय मान्यता छ । त्यस्तै शरीरको सगरमाथा टुप्पी हो । यसलाई संरक्षण गर्नका लागी हामीहरुले टुप्पी पाल्नु पर्दछ । टुप्पी राख्ने स्थानबाट अमृत बग्दछ किनकी साधनारत साधुसन्तहरु जिब्रोलाई मुखभित्रबाट यहाँसम्म पुर्याएर अमृत सेवन गरी हजारौं वर्षसम्म बाँच्दछन्।

विवाह उत्सवमा हुने क्रियाकलाप

Marriage
मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

विवाह उत्सवमा हुने क्रियाकलाप ! वरको स्वगत– (गोडा धुने इत्यादि) घरको नजीक आइपुगेका वरलाई कन्यापिता अथवा कन्यादाताहरूले अघ्र्य आदि उपचार सामग्रीले पूजा गर्नु स्वागत हो । विवाहमा वरलाई विष्णुको रूप र वधूलाई लक्ष्मीको रूप मानिएको छ । पाउका अधिष्ठाता (आधार) देवता विष्णु मानिन्छन् । अतः विष्णुरूपी वरको र लक्ष्मीरूपी वधूका पाउ धुनुको आशय विष्णु र लक्ष्मीको सम्मान हो । वर विष्णुको रूप हो भन्ने कुरा कन्यादानपछि प्रार्थना गर्दा पढिने मन्त्रबाट थाहा हुन्छ ।

पाणिग्रहण

वरले वधूको दाहिने हात ग्रहण गरी मन्त्रद्वारा यसरी भाव व्यक्त गर्दछन्— हे कन्ये  सौभाग्य कामनाले म तिम्रो यो दाहिने हात समात्छु, मेरा साथ तिमी दीर्घायु होउ । भग, अर्यमा, सविता देवताहरूले मलाई सर्वोत्कृष्ठ एवं सर्वाधिक सुन्दर सम्झेर गार्हस्थ्य जीवनको आनन्द लिन तिमीलाई सुम्पिदिएका हुन् । यो नयाँ सम्बन्ध धेरै पवित्र होे भन्ने कुरा यसबाट स्पष्ट हुन्छ – कन्या बाबुले मात्र दिएका होइनन् अपि तु ती संरक्षक देवता अर्यमा, सविता आदि जो यस दैवी उत्सव (विवाह) मा साक्षी छन् ती अधिष्ठातृ देवताहरूद्वारा पनि दिइएको मानिन्छ । देवताले दिएकी कन्या पतिले पाउँछ भन्ने कुरा पनि पुष्टि हुन्छ । यसरी विवाह एक सामाजिक सम्झौता नभएर धार्मिक एवं पवित्र संस्कार हो ।

शिलारोहण

वरले आफुप्रति भक्ति तथा पातिव्रत्यमा पत्नीलाई सुदृढ गराउन वधूको दाहिनेगोडा शिलामाथि राख्न लगाएर –तिमी यो पत्थर माथि चढ । यो पत्थरझै स्थिर भएर मेरो घरमा बस । तिमीप्रति नराम्रो चेष्टा गर्ने मानिस आएमा रोक्न सक्ने होऊ । हे हंसवाहिनी वाग्देवता सरस्वती हाम्रो यो पाणीग्रहणरूप विवाह सम्बन्धको तिमी रक्षा गर । जु तिमीलाई यो सारा विश्वब्रम्हाण्डकी जननी भन्दछन् र फेरि जसमा यो स्थूलभूत लगायत सारा विश्वको प्रपञ्च सम्भव भएको छ त्यस्ती तिम्रो म गाथा गाउँदछु । जसले गर्दा स्त्री जातिको निम्ति एउटा ठूलो कीर्ति हो । आफ्नो कर्तव्यमा सर्वदा स्थिर एवं दृढ बन भन्दा यहाँ शिला (पत्थर) स्थिरताको प्रतिक हो ।

सप्तपदी

सप्तपदीको अर्थ हो विष्णु प्राप्तिका निमित्त, बलप्राप्तिका निमित्त, धनबृद्धिका निमित्त, सुखःबृद्धिका निमित्त, पशुुबृद्धिका निमित्त अघिबढाउन, हे सखे मेरो मित्र भएकी यसरी सात कदमसम्म चली अघिबढेकी तिमी सप्तपदा होऊ । मेरो विचार अनुसार चल्ने होऊ । विवाहमा सप्तपदीको आशय स्त्रीलाई सात ठाउँकी अधिकारिणी बनाएर उच्च पदमा प्रतिष्ठित गर्नु हो । यी साथ ठाउँ गृहस्थका ती साधन हुन् जसको रक्षा एवं दायित्व स्त्रीले वहन गर्नु पर्छ । वरले गृहस्थ जीवनमा अत्यावश्यक अन्न, बल, धन, सुख, पशुरक्षा र ऋतुहरूको अनुकूलता विष्णुले तिमीलाई प्राप्त गराउन् भनेर छ कदममा छ ठाउँको अधिकारिणी बनाएपछि सातौं कदममा आफ्नी सहधर्मिणी मित्र (सखा) पदको स्थान दिएर पूर्ण रूपले अर्धाङ्किनी बनाउँछ ।

सप्तपदीपछि वधू पुरुषकी सहधर्मिणी एवं अभिन्न आत्मा बन्छिन् । सप्तपदीपछि कन्या पितृगोत्रबाट छुटेर पतिका गोत्रकी हुन्छिन् । वाग्दानद्वारा नै कन्याको पति स्थिर गरिसकिएको हुन्छ भने त्यस कुरालाई दृढ बनाउन सप्तपदीलाई विवाहको प्रमुख अङ्क मानिएको छ । हाम्रो परम्परामा विवाहद्वारा स्त्रीलाई कुन स्थान दिइएको छ भन्ने कुरा सप्तपदीका वैवाहिक मन्त्रहरूबाट स्पष्ट हुन्छ । स्त्री घरकी रानी या महारानी होइन अपितु साम्राज्ञी अर्थात् सार्वभौमिक चक्रवर्तिनी बन । यसमा स्त्रीलाई आफ्ना पतिको घरमा कुनै हीनपद मिल्दैन किन्तु सर्वोत्तम पद श्रीमती एवं साम्राज्ञी नै मिल्दछ ।

हृदयस्पर्श

वधूका भावनाहरू जागृत भएर आफ्ना ह्दयका भावनासँग मिली वरवधू दुवैलाई स्नेहका संसारमा संयुक्त गराउने आशयले वरले वधूको ह्दयस्पर्श गर्दछ । ह्दय भावहरूको केन्द्र हो ।

सिन्दूरदान

कन्याका शिरमा वरले सिन्दूरको रेखा राखेपछि कन्यालाई दुलाहाको बायाँ भागमा बसाल्ने क्रमले स्त्री अब पुरुषकी अर्धाङ्किनी भइन् भन्ने बुझिन्छ । यति नै बेला सिउँदोमा सौभाग्यसूचक सिन्दूरको रेखा राख्दै वरले त्यहाँ उपस्थित मान्यजन, सम्बन्धी एवं सौभाग्यवती स्त्रीहरूसँग वधूलाई सौभाग्यको आशीर्वाद प्रदान गर्न अनुरोध गर्दछ । सिन्दूर सौभाग्यको प्रधान कारण एवं सौन्दर्यवद्र्धक मानिन्छ । स्त्रीको जुन स्थानमा सिन्दूर राखिन्छ त्यो ठाउँ पुरुषको अपेक्षा विशेष कोमल हुन्छ । सिन्दूरमा पारद जस्तो दुर्लभ धातु धेरै मात्रामा हुने र त्यसले स्त्रीका शरीरको त्यस मर्मस्थललाई बाहिरी दुष्प्रभाबबाट बचाउने हुँदा सिउँदोमा सिन्दूर राख्ने आज्ञा शास्त्रकारहरूले दिएका हुन् ।

धु्रवदर्शन या सूर्यदर्शन

ध्रुव स्थिरताको प्रतिक हो । पतिपत्नी दुवै प्रेमपूर्वक गृहस्थाश्रममा स्थिर भएर रहन सकून् भन्ने आशयले उनीहरूलाई ध्रुव दर्शन गराइन्छ । यतिबेला वरवधू ध्रुवको दर्शन गर्दै गृहस्थमा दृढ रहने पवित्र सन्देश पाउँछन् । दिनमा विवाह हुँदा सूर्य दर्शन गराइन्छ । सूर्य सबैका अत्मा, प्रकाशक एवं ज्ञानस्वरूप हुन् । अतः उनको दर्शन गर्दै वरवधूले ज्ञानी तथा प्रखरतेज सम्पन्न हुने पावन सन्देश पाउँछन् ।

खाँडो जगाउने
खड्ग पूजन प्रथा विवाह विधिभित्रै पर्छ। यही प्रथा पछि ‘खाँडो जगाउने प्रथा’ का रूपमा विकसित बनेको हो। ‘खड्ग’ शब्दबाटै ‘खाँडो’ बनेको हो। खाँडोमा जङ्गबहादुरको प्रशस्ति गाइन्छ र कुहिरेलाई गाली गरिन्छ। जसबाट नेपाल-अङ्ग्रेज युद्ध र जङ्गबहादुर शासक भएपछि यो खड्ग पुजन प्रथाले खाँडीको रूपमा लिएको हो भनेर अनुमान गर्न सकिन्छ। विवाहमा बेहुली बनेकी केटीलाई अपहरण गर्न आउने सम्भावनाबाट सचेत भई हतियार तयार पारेर बस्ने कार्य हो।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

कन्यादानमा कन्याको दहिने हातको बुढी औला नै किन ?

कन्यादान
मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

कन्यादानमा कन्याको दहिने हातको बुढी औला नै किन ? परमात्माको बायाँ अंशबाट उत्पन्न प्रकृतिका अंश भएकी कन्याको विवाह विधिद्वारा दायाँ अंश पुरुषसँग सम्बन्धन गराउँदा कन्याको दायाँहात दिनु स्वाभाविक प्रक्रिया हो । समान वस्तुको समानवस्तुसँग सम्बन्ध सुहाउँदो हुन्छ । दाहिने हात पतिकै हो भन्ने कुरा पार्वतीको दाहिने हात महादेवले ग्रहण गरेको कुराले पुष्टि हुन्छ ।

बूढी औंला ब्रम्हाको प्रतिक र बूढी औंलाको फेद ब्रम्हातीर्थ मानिन्छ । अतः ब्रम्हाविवाहमा ब्रम्हाको प्रतीक बूढी औंला ग्रहण गरी त्यसको फेद (ब्रम्हातीर्थ) मा जलधारा चुहाई सङ्गल्पपूर्वक कन्याको दायाँहात दायाँ अंश भएको पुरुषरूप वरलाई दिनुमा सृष्टि एवं रक्षा दुवै कुराको रहस्य छ । तसर्थ आज पनि यो कुरा थाहाभएकी महिलाले आफ्नो दायाँ हात कसैलाई छुन दिँदैनन् ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

विवाहको विदाइमा लाजा छर्कनाको कारण के हो ?

मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

विवाहको विदाइमा लाजा छर्कनाको कारण के हो ? दुलहादुलही अन्माउँदा उपस्थित जनसमुदायले लाजा छर्कनु, वरवधूको समृद्धिको निमित्त हो । जसरी भुटेका यी लाजा अब पुनः उम्रन सक्दैनन्, त्यसै गरी विवाह संस्कारद्वारा परिपक्व (भुटिएका) तिमी दुई दम्पत्तीको मनमा अर्को विपरीत विचार नउम्रोस् तथा भुटेका लाजाजस्तै तिमीहरूको दाम्पत्य जीवन उज्ज्वल होस् भन्ने मङ्कलमय कामना पनि रहेको छ । लाजाधानका हुन्छन् ।

अतः लाजाछर्कनुको अर्को आशय हो तिमीहरूको घर धनधान्यले परिपूर्ण होओस् । यसरी विवाहका हरेक अङ्कमा गरिने कार्यमा दैवी भवना नै प्रधान छ । वरवरणीदेखि लिएर विदाइसम्मका क्रियाकलापमा वरवधू दुवै साधारण मानव प्राणी नभई लक्ष्मीनारायणका जोडी मूर्ति, प्रकृति एवं पुरुषका सजीव प्रतिमा मानिन्छन् ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

विवाहमा लाजा भाई या दाईले नै दिनाको कारण के हो ?

विवाहमा लाजा
मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

विवाहमा लाजा भाई या दाईले  नै दिनाको कारण के हो ? जुन घरमा जन्मिन् जहाँ उनको पालन पोषण भयो, जुन घरको आँगनमा र छरछिमेकका सङ्की साथीसँग खेलेर बालककाल बित्यो, आज त्यस घरका मातापिता, भाई बहिनी एवं छरछिमेकी सबैलाई छोडेर अर्काकी भएर अपरिचित ठाउँमा जाँदैछिन् । गहभरी आँसु लिएकी ती कन्यालाई त्यतिवेला पितृगृहबाट मुक्तहुन सक्ने शक्ति एवं धैर्य चाहिएको छ । यस्तो अवस्थामा उनी स्वयं ती लाजाउठाउन असमर्थ हुन्छिन् । तसर्थ दिदी या बहिनीलाई सहाराको रूपमा भाई या दाईले नै लाजादिनुले दिदीभाईको परस्पर स्नेह झल्काउँछ । दाई या भाईको हातबाट दिदी या बहिनीको हातमा लाजा दिनु पनि दिदी या बहिनीको समृद्धिको कामना र तिमी यहाँबाट अपरिचित ठाउँमा गएपनि हाम्रो स्नेह र सहयोग सदा उर्वर रहने छ भन्ने आशय हो किनकि लाजा उर्वरताको प्रतीक हो । धान भुट्दा लाजा बढ्छ बढ्नु नै उर्वरता हो । लाजाहोममा कन्याले अर्यमा देवतासँग पितृघरबाट मुक्त हुने शक्ति, पतिको दीर्घायु र आमाबाबु, भाई वन्धु सबैको समृद्धिको आशीर्वाद मन्त्र पढेर मागेको हो ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।