धर्म-सस्कृति

ऋषि पञ्चमीमा कर्कलो किन खाइन्छ ?

ऋषि पञ्चमीमा कर्कलो किन खाइन्छ ? ऋषि पञ्चमी हिन्दु महिलाहरूको विशेष पर्व हो । यो दिन महिलाहरूले बिहान सबेरै उठी शरीरको शुद्धि गर्ने परम्परा छ । हिन्दू नारीको ठूलो चाड तीजको तेस्रो दिन अर्थात् ऋषि पञ्चमीका दिन कर्कलोको तरकारी खाने प्रचलन छ । अघिल्लो दिन निराहार ब्रत बसेर पञ्चमीको दिन नदी किनारमा नुवाई-धुवाई गरेर पूजा अर्चना गरेपछि कर्कलोको तरकारीसँग खाना खाने गरिन्छ । नुहाई-धुवाई र पूजाआजापछि शुद्ध कन्दमूल खाने मान्यताकै आधारमा कर्कलोको तरकारी खाने चलन सुरु भएको जानकारहरु बताउँछन् ।

ऋषि पञ्चमीको दिन ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । ऋषिपञ्चमीका दिन कर्कलो नै खानुपर्ने जबरजस्त धार्मिक मान्यता छैन । यद्यपि, सुइरो भएर उम्रिएका कन्दमूल सेवन गर्दा राम्रो हुने कुरा शास्त्रमा उल्लेख छ ।

धार्मिक मान्यतासँगै कर्कलोको तराकारी खानुका थुप्रै फाइदाहरु छन् । कर्कलोमा प्रशस्त मात्रामा आइरन, क्याल्सियम, भिटामिन ए, सी, के लगायत शरीरका लागि आवश्यक पौष्टिक तत्व पाइन्छ । चिकित्सकहरुका अनुसार कर्कलो खाने हो भने रक्त अल्पताबाट बच्न मद्दत पुग्छ । तीज र पञ्चमीको व्रतपछि शरीरलाई पोषण दिन भनेर कर्कलो भात खाने चलन चलेको हुनुपर्छ । ऋषि पञ्चमीमा जसरी कर्कलो खोजी-खोजी खाने हो भने रक्तअल्पताबाट बच्न मद्दत पुग्थ्यो ।

कर्कलोमा कम फ्याट र सोडियम र पोटासियम भने अत्यधिक हुन्छ । यहीं कारण यो उच्च रक्तचाप भएका ब्यक्तिका लागि अति उत्तम मानिन्छ । यसमा भएको फाइबर र कार्बोहाइट्रेडले रक्त प्रबाहलाई सरल बनाउछ र तनाबलाई पनि घटाउछ । जसले हृदयाघात हुनबाट बचाउँछ । कर्कलोमा हुने भिटामिन सि, ए र फेनोलिक एन्टिअक्सिडेन्टले क्यान्सरजन्य तन्तुहरुलाई निकालेर फ्याक्न मद्दत गर्छ र फेरि बढ्न दिदैन । त्यस्तै कर्कलोले तौल बढ्न दिँदैन । तर, घुँडा दुखाइको समस्या भएका मानिसले कर्कलो र पिँडालु कम खाएकै वा खान छाडेकै ठिक हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

ऋषि पञ्चमीमा दतिवनको प्रयोग किन गरिन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!