धर्म-सस्कृतिमुख्य समाचार

आज बडादशैंको सातौं दिन फूलपाती

१८ असोज, काठमाडौं । आज बडादशैंको सातौं दिन फूलपाती देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याईँदैछ । शास्त्रीय मान्यता अनुसार फूलपातीको रुपमा नौ थरीका फूलपाती भित्र्याउने गरिएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत फूलपातीका रुपमा भित्र्याउने गरिन्छ ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ  फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ । आज विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको समेत पूजा गर्ने प्रचलन छ ।

फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आरधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । घटस्थापनाका दिनदेखि नै दशैं सुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने आजदेखि घरघरमा सुरु हुन्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम शुरु भएको छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा भित्र्याउने परम्परा रहेको छ । फूलपातीमा गुर्जुको पल्टन गोर्खाली सेनाको प्रतीकका रुपमा अझै रहेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!