वेदहरूको महत्व
हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म-ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव-जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरूभन्दा प्राचीनतम कुनै पुस्तक छैन। आर्य-भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायक सिद्ध भएको छ ।
वेद सनातन धर्मकाे सबैभन्दा पुरानाे धर्मग्रन्थ मात्र हाेइन मानव सभ्यताकै सबैभन्दा पुरानाे पुस्तक पनि यही हाे । वेद विद शब्दबाट बनेकाे हाे जसकाे अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसकाे अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएकाे ज्ञान भन्ने हुन अाउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएकाे ज्ञान मार्ग । वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताकाे सबैभन्दा पुरानाे लिखित दस्तावेज हाे । वेदका २८ हजार पाण्डुलिपिहरू भारतकाे पुणे स्थित भण्डारकर अाेरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएकाे छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलार्इ युनेस्काेले अाफ्नाे सम्पदा सूचीमा समावेश गरेकाे छ ।
युनेस्काेले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलार्इ अाफ्नाे सांस्कृतिक धराेहरका रूपमा समावेश गरेकाे छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्काेका १५८ सांस्कृतिक धराेहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्याे सूचीमा सामेल भएका छन् । वेदलार्इ श्रुति पनि भनिन्छ । श्रु धातुबाट श्रुति बनेकाे छ । श्रु अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिराे तपस्यामा लीन भइरहेकाे समयमा यी मन्त्रहरू उनीहरूलार्इ स्वयं र्इश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम र्इश्वरले चार जना ऋषिहरूलार्इ वेदकाे ज्ञान दिएः अग्नि, वायु, अंगिरा र अादित्य । वेद वैदिककालीन वाचिक परम्पराकाे अनुपम कृति हाे जुन पछिल्लाे छ सात हजार इसा पूर्वबाट चलिरहेकाे छ । विद्वानहरूले संहिता, ब्राह्मण, अारण्यक र उपनिषद् यी चारकाे संयाेगलार्इ वेद भनेका छन् । यी चार भागलार्इ संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् ।
वेदकाे संहिता भनेकाे मन्त्र भाग हाे । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदकाे सस्वर पाठ गर्छन् त्याे सुनेर चित्त प्रफुल्ल हुन्छ। जसले सस्वर वेद पाठ सुन्छन् ती पनि मुग्ध हुन्छन् । वेदकाे ब्राह्मण भागमा यज्ञकाे बारेमा चर्चा गरिएकाे छ । यसमा वेदका मन्त्रहरूकाे व्याख्या गरिएकाे छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएकाे पाइन्छ । मुख्य ब्राह्मण ग्रन्थहरू यसप्रकार छः एेतरेय, तैत्तिरीय र शतपथ । अारण्यक पनि वेदकाे एक महत्वपूर्ण हिस्सा हाे । संस्कृतमा वनलार्इ अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै अारण्यक अन्तर्गत पर्दछन् । पाँच मुख्य अारण्यक यसप्रकार छन्ः एेतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार ।
उपनिषद वेदकाे शीर्ष भाग हाे । साथै उपनिषद वेदकाे सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलार्इ वेदान्त पनि भनिन्छ । यसमा र्इश्वर, सृष्टि र अात्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक वर्णन गरिएकाे छ । उपनिषदहरूकाे वास्तविक संख्या ११८० मानिन्छ तर हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद् यसप्रकार छन्ः र्इश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, एेतरेय, छान्दाेग्य,बृहदारण्यक र श्वेताश्वेर । असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, अारण्यक र उपनिषदहरू लाेप भइसकेका छन् । हाल अाएर ऋग्वेदका दस, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका साेह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् ।
प्राेफेसर विन्टरनिट्जले वैदिक साहित्यकाे रचनाकाल २००० देखि २५०० इसा पूर्व मानेका छन् । तर खासमा वेदकाे रचना कुनै एक निश्चित कालखण्डमा भएकाे हाेइन । अर्थात् याे त बिस्तारै बिस्तारै रचना हुँदै गयाे र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियाे जसमा ऋग्वेद, सामवेद र यजुर्वेदकाे संकलन भयाे । यसलार्इ वेदत्रयी पनि भनिन्छ । सनातन मान्यता अनुसार वेदकाे विभाजन रामचन्द्रकाे जन्मपूर्व पुरूरवा ऋषिकाे समयमा भएकाे हाे । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदकाे रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णकाे समय द्वापर युगकाे समाप्तिपछि महर्षि वेदव्यासले वेदलार्इ चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् ।
वेदव्यासले चार भागकाे शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलार्इ दिए । त्यस क्रममा उनले पैललार्इ ऋग्वेद, वैशम्पायनलार्इ यजुर्वेद, जैमिनीलार्इ सामवेद तथा सुमन्तुलार्इ अथर्ववेदकाे जिम्मेवारी दिए । यसकाे अाधारमा भन्दा वेद लिखित रूपमा अाजभन्दा ६५०८ वर्ष पुरानाे ग्रन्थ हाे । यसलार्इ पनि साेझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण अाजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएकाे तथ्य फेला परिसकेकाे छ । वेदका चार विभाग छन्: ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग-स्थिति, यजु-रूपान्तरण, साम-गतिशील र अथर्व-जड । ऋक भनेकाे धर्म, यजुः भनेकाे मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रकाे रचना भएकाे हाे ।