कालभैरवाष्टमी अथवा गोपाष्टमी
कालभैरवाष्टमी अथवा गोपाष्टमी को बारेमा चर्चा गरौ ।
भैरवः पूर्णरूपो हि शङ्गरस्य परात्मनः ।
मूढास्तं वे न जानन्ति मोहिताश्शिवमायया ।।
कार्तिक शुक्ल अष्टमीका दिन भैरव अथवा काल भैरवको उत्पति महादेवबाट भएको मानिन्छ । यी ज्यादै डरलाग्दा देवता हुन् र रक्तबाट नै सन्तुष्ट हुन्छन् । लडाइँको मैदानमा यिनी बराबर उपस्थित हुन्छन् । यिनी यस्तो रिसाहा छन् कि यिनले एक पल्ट रीस उठेर ब्रमहा को पाँचौं मुख आफ्नो बुढी औलाको नङ्कले काटेका थिए । पहिले ब्रमहा पञ्चानन हुनु हुन्थ्यो, अब चतुरानन मात्र हुनुहुन्छ । कुकुर भैरवको वाहन हो । यिनको एउटा हातमा त्रिशूल, एउटामा रक्त पीउने कचौरा, एउटामा तरवार र एउटामा मुर्दाको टाउको बनारस यिनको खासनिवासस्थान (बस्ने ठाउँ) मानिन्छ ।
यिनको उत्पत्तिको कथा यस प्रकार छ– एकपल्ट देवताहरूमा यस कुराको कथा चल्योकि कुन देवता सर्वश्रेष्ठ हुनुहुन्छ । ब्रमहा, विष्णु, शिव एक आपसमा यसरी कुरा कानी भइरहेको थियो । ब्रमहा आफ्नो श्रेष्ठतामा सारै बल गरी रहनु भएको थियो । महादेव यसलाई मान्नु हुन्न थियो, आफूलाई नै सर्वश्रेष्ठ भन्नु हुन्थ्यो । यसमा ब्रमहा जीलाई रीस उठ्यो, यिनले शिवजीको कुरा काट्न शुरु गर्नुभयो । उनले भन्नु भयो शिवलाई त मैले बनाएको हो र जब बनाएर तयार गरियो तब ऊ रुन थाल्यो, त्यसैले मैले यसको नाम रुद्र राखी दिए, आज यो मेरो बराबरी गर्छ । यो सुनेर शिवजीलाई पनि रीस उठ्यो, उनले झट्ट काल भैरवलाई उत्पत्ति गरे । शिवजीको आज्ञा पाएर भैरवले ब्रमहा को एउटा टाउको काटि दिए । फेरि शिवजीले भैरवलाई बनारसमा गएर बस्नको लागि आज्ञा दिनु भयो । कार्तिक शुक्लाष्टमीमा कालाष्टमी यिनकै नामबाट मनाइन्छ ।
त्यस्तै गोपाष्टमीमा गाईको महत्व लाई लिई भगवान् श्रीकृष्णको अतिप्रिय गोविन्द नाम गाईको रक्षा गर्नाको कारणले नै भएको हो । कार्तिक शुक्ल प्रतिपदादेखि लिएर सप्तमीसम्म गो—गोप—गोपिनीहरूको रक्षाको लागि श्रीकृष्णले गोवर्धन पर्वतको धारण गर्नु भएको हो । आठौं दिन इन्द्रको आँखा खुल्यो र अहङ्गार रहित भएर भगवान् श्रीकृष्णको शरणमा आउनु भयो कामधेनुले भगवान्को अभिषेक गर्नुभयो र त्यही दिन भगवान्को गोविन्द नाम रहयो ।
यसै वेलादेखि कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमी उत्सव मनाउन थालियो, र आजसम्म मनाउँदै आइरहेका छन् । यसदिन विहान गाईलाई स्नान गराएर गन्ध—पुष्पादिले उनको पूजा गर्ने र अनेक प्रकारको वस्त्रालङ्गारले अलङ्कृत गरेर ग्वालाको पनि पूजा गर्ने, गाईलाई गोग्रास दिएर उनको परिक्रमा गरी केही परसम्म उनको साथ गएमा सबै प्रकारको अभीष्टसिद्धि हुन्छ । गोपाष्टमीको सायंकाल गाई चरेर फर्किन्छिन्, त्यस समय पनि उनको आतिथ्य, अभिवादन र पञ्चोपचारबाट पूजा गरी केही भोजन गराउनु र उनको पाउको धूलो शीरमा धारण गर्नु यसबाट सौभाग्यको वृद्धि हुन्छ ।
प्रत्येक गौशालामा यस्को उत्सव मनाउने चलन पनि छ मनाउनु पनि पर्दछ । यस दिन सारा समय गाईको सम्वन्धमा प्रवचन गराउनु पर्दछ । यस्तो गरेमा नै गोवंशको सच्चा उ;ति हुन सक्दछ, जस्बाट हाम्रो पनि सत् प्रतिसत् उति हुन्छ । तसर्थ गोमातालाई हामीले सधै पालन पोषण तथा यिनको सदैव नाम जप्नु हाम्रो धर्म संस्कृति जोगाउनु हो यस्बाट हाम्रो कल्याण हुनेछ ।
मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।