अन्तर्राष्ट्रिय समाचार

सन् २०१६ को नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति सान्तोसलाई

आश्विन २१, २०७३। सन् २०१६ को नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति ज्वान म्यानवेल सान्तोसलाई प्रदान गरिने भएको छ । ५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्न सफल भएको भन्दै नोबेल कमिटीले शुक्रबार सान्तोसलाई शान्ति पुरस्कार दिने निर्णय गरेको हो । नोबेल पुरस्कार समितिकी अध्यक्ष कासी कुलमनले शुक्रबार बिहान यो घोषणा गरेकी हुन् । फार्क विद्रोही र कोलम्बिया सरकारबीच क्युबाको राजधानी हवानामा ४ वर्ष चलेको वार्तापछि गत महिना स्थायी शान्ति सम्झौता भएको थियो ।

तर यसै सप्तान्तमा गराइएको जनमत संग्रहमा अत्यन्तै सानो अन्तरले कोलम्बियाका जनताले उक्त सम्झौता अस्वीकार गरिदिएका छन् । राष्ट्रपति सान्तोसले भने अझै पनि देशमा शान्ति बहाली गर्नेतर्फ सक्दो प्रयास गर्ने बताए । ५२ वर्ष चलेको सशस्त्र द्वन्द्वका क्रममा कोलम्बियामा २ लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । संसारभरि ठूलो चासोका साथ हेरिने नोबेल शान्ति पुरस्कारका लागि यस वर्ष २ सय २८ व्यक्ति तथा १ सय ४८ संस्थासमेत ३ सय ७६ उम्मेदवारको सूची छनोट गरिएको थियो । (एजेन्सी)

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!