मुख्य समाचारसमाचार

नेपाल आजबाट लोडसेडिङमुक्त

३१ वैशाख, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले आज सोमबारदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताए ।

‘भोलि (सोमबार) बाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन’, घिसिङले आइतबार अन्नपूर्णसित भने, ‘विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण र मागमा आएको परिवर्तनका कारण लोडसेडिङमुक्त पार्न सम्भव भएको हो ।’

देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसंख्यालाई बिजुली पुगेको छ । अझैपनि ४० प्रतिशत जनसंख्या स्थायी लोडसेडिङमा छन् ।

प्राधिकरणले २०७३ तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरमा लोडसेडिङमुक्त गरेको थियो । प्राधिकरणले गार्हस्थ्य उपभोक्ताका लागि पूर्णरुपमा लोडसेडिङ अन्त्य गरे पनि औद्योगिक ग्राहकका हकमा दैनिक तीन घण्टा आपूर्ति कटौति गर्दै आएको थियो ।

गत चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!