विज्ञान जिज्ञासा

बोक्सीले रगत चुसेर शरीरमा निलो डाम आएको हो त ? यस्तो छ वैज्ञानिक कारण

Gopal Bhandari
गोपाल भण्डारी

गाउँघरतिर होस् वा शहरमा हाम्रो नेपाली समाजमा शरीरमा निलो डाम देखियो भने बोक्सीले रगत चुसेर भन्ने रुढिबादी सोचाई अझपनि कायम नै छ । नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले समाजमा रहेका यस्ता रुढिबादी सोचाई हटाउनतर्फ कुनै जनचेतनामूलक कार्यक्रम गरेको देखिदैन । सम्वधित निकायमा बसेका सरकारी कर्मचारीलाई पनि कुनै वास्ता छैन । तर जे भएपनि आउनु होस् यसको वास्तविकता बुझ्ने प्रयास गरौ ।

मानिसको शरीरमा पनि निलो डाम, दाग र धब्बा देखिन्छ भने सावधान भई हाल्नुहोस् किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ । विशेषगरी महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । तर, यसमा कुनै सत्यता हुँदैन । चिकित्सकहरु शरीरमा यस्तो निलो दाग यी कारणले देखिन सक्ने बताउँछन् । शरीरमा निलो डाम आउने वैज्ञानिक कारणहरु निम्न अनुसार छन् ।

१. छालामा चोट

आम रुपमा छालामा चोट लाग्दा यस्तो दागहरु देखिन्छ । कहिलेकाँही तपाईको आफ्नै शरीरको भागले पनि अर्को भाग थिच्चिने अवस्था हुन्छ । यस्तै कुनै बस्तुसँग ठक्कर खाँदा पनि यस्तो चोट लाग्न सक्छ । यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरीरमा निलो दाग देखिन्छ ।

२. खानामा पोषण तत्वको कमि

रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको महत्वपूर्ण भूमिका हुन्छ । यसकारण तपाईले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ । जस्तै भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।

३. क्यान्सर र किमोथेरापीका कारण

तपाई क्यान्सरपीडित हो र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दाग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।

४. औषधी सेवनका कारण

केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ ।

५. वंशाणुगत रोग हिमोफिलियाका कारण

वंशाणुगत रोग हिमोफिलियाका कारणले पनि शरीरमा निलो दाग देखिन्छ । यो रोगका कारण शरीरको बाहिरी भागमा रगत जम्ने समस्या हुन्छ । यो रोग रगतमा थ्राम्बोप्लास्टिन नामक पदार्थको कमिका कारण हुन्छ ।

६. बढ्दो उमरका कारण

बढ्दो उमेर र बुढ्यौलीका कारणले पनि तपाईको शरीरमा निलो दाग देखिन्छ । बढ्दो उमेरसँगै रगतका धमिनिहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरीरमा निलो दाग देखिन्छ ।

७. थ्रम्बोफिलियाको समस्याका कारण

थ्रम्बोफिलिया रगत जाम हुने एक प्रकारको समस्या हो । यसले रक्त प्रवाहमा असर पुर्याउने गर्छ । यसलाई ब्लिडिङ डिसअर्डर पनि भनिन्छ, जसका कारण ब्लड प्लेट्सहरु धेरै कम हुन्छ । ब्लड प्लेट कम हुँदा शरीरमा निलो दाग देखिन्छ ।

८. वोन विलिब्रान्ड रोगका कारण

वोन विलिब्रान्ड रोग एक यस्तो अवस्था हो, जसमा अत्यधिक र विस्तारित मात्रामा रक्तश्राव हुने गर्छ । यो रोग वोन विलिब्रान्ड नामक प्रोटिनको स्तरमा रगतको कमिका कारण लाग्ने गर्छ । यो समस्याबाट पीडित व्यक्तिको शरीरमा सामान्य चोट लाग्दा पनि शरीरमा ठूला निलडाम देखिने गर्छ । (बिभिन्न एजेन्सीहरुको सहयोगमा)

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!