कृष्णको चरित्र
कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिएको छ । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। कृष्णको चरित्र को बारेमा बुझौ । कृष्णमा बल, विद्या, चातुर्यता, कौशलता, युद्धकला सबैको अनौठो सम्मिश्रण थियो । कृष्ण राजनीति र कूटनीतिमा पनि पोख्त थिए । साम, दान, दण्ड, भेद नीतिमा चुस्त थिए ।
कृष्णको गोपिकाहरुसंगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । गोपी र राधासंगको प्रेम निश्चय पनि एक विशेष घटना हो र यदि कुनै प्रेमी र प्रेमिका त्यस उच्च कोटिमा पुगेका छन् जहां कृष्ण र गोपिकाहरु थिए भने त्यस प्रेमको वर्णन उनहरुले गर्न सक्छन् । श्रीकृष्ण एक पूर्ण पुरुष थिए । कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । गायक थिए, संगीतज्ञ थिए । नर्तक थिए ।
घिउ दूधमा बालबालिकाहरुको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक बनेका थिए । त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिकाहरु धन्य भएका थिए । राधा र कृष्णको प्रेमको अभिव्यक्ति पनि ज्यादै सुन्दर छ । कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन । गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ । जसले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन् ।
नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो । जसले कन्याहरुलाई जबरजस्ती पक्डिएर ल्याउंथ्यो र यौनसम्बन्ध राख्थ्यो । त्यसपछि जेलमा थुनेर राख्थ्यो । यसरी उसले हजारौं कन्याहरुलाई दूषित गरेका थियो । ती कन्याहरुलाई कसैले मुक्त गर्न सकेको थिएन । भगवान श्रीकृष्णले नरकासुर वध गरेर सबै कन्याहरुलाई मुक्त गरे अनि सबैका घरघर पठाई दिए । घर गएका कन्याहरु पुनः कृष्णकहां फर्के तथा भन्न थाले कि उनीहरुलाई न त समाजले स्वीकार गर्यो न परिवारले । अरु कसैले विवाह गर्न पनि मानेन । हजारौं नारीहरुको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे– तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ । कृष्ण पत्नी भएपछि तिमीहरुको सम्मानको जिम्मेवारी पनि मेरो भयो । यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे ।
कृष्णको मुखबाट व्यक्त गराइएको गीतामा प्रतिपादित दर्शनले कृष्णलाई अमर तुल्याएको छ । ज्ञान, भक्ति र कर्मको अनौठो संयोग यसमा फेला पर्छ । असाधारण व्यवहार, सार्वकालिक दर्शन र कर्तव्यप्रतिको लगावको प्रणेता भएका कारण मानिसले कृष्णलाई मानवताभन्दा माथि उठाएर सोच्न थाले । कविहरूले यसमा चार चाँद लगाइदिए । कृष्णको व्यक्तित्वको जुनसुकै आयाममा पनि दिव्यभाव देख्न थालियो । यशोदाको पुत्रभाव, अर्जुनको साख्यभाव, मीराको माधुर्यभाव जुनसुकै रूपमा पनि कृष्ण हाजिर भए ।