तीन अवस्था भनेको के हो?
भनेको के हो?
क) जाग्रत, ख) स्वप्न, ग) सुषुप्ति
क) जाग्रत अवस्था
जुन अवस्थामा शरीरलाई इन्द्रीयद्वारा स्थूल विषयको उपलब्धि सम्भव हुन्छ । पूर्वजन्ममा गरिएको पाप–पुण्यको फलभोग गर्न स्थूल शरीर खडा भएको हो । पुण्य–पापको न्यूनाधिकले देवता, मनुष्य, पंक्षीको शरीरको रूपमा उत्पत्ति हुन्छ । शरीर कर्मानुसार सुख, दुःख भोग गर्ने यन्त्र हो । जाग्रत अवस्थामा मानिसको यो स्थूल देहमा अभिमान हुन्छ अर्थात् यस अवस्थामा शरीरलाई नै आफू सम्झन्छ र उसले सम्पूर्ण भोग यसै शरीरबाट गर्दछ यस अवस्थाको साक्षीस्वरूप विश्व हो । ‘जाग्रत‘ अवस्थाको आत्मालाई ‘ वैश्वानर‘ भनिन्छ। यसलाई बिउँझिएको अवस्था भन्न सकिन्छ, जहाँ केवल बाह्य संसारको अनुभूती गर्न सकिन्छ।
ख) स्वप्न अवस्था
स्वप्न अवस्थामा स्थूलभोग विषय एवं इन्द्रियको अभाव हुन्छ तापनि वासनामय शब्दादि विषयको ग्रहण सम्भव हुन्छ । यस अवस्थामा स्थूल देहसँग मनको संयोग हुँदैन, त्यसैले स्वरूपको प्रतिफल हुन पनि सम्भव छैन । यो अवस्थामा अनेकन जन्मका वासनाद्वारा वासनामय देह इन्द्रिय खडा हुन्छन् र तिनैबाट विषयको भोग सम्भव हुन्छ । यस अवस्थाको साक्षी स्वरूप तैजस हो । ‘स्वप्न ‘ अवस्थाको आत्मालाई ‘तेजस ‘ भनिन्छ। यसलाई तन्द्रा अवस्था पनि भन्न सकिन्छ, जहाँ सपना अर्थात भौतिक संसारभन्दा भिन्नै दुनियाँको अनुभूती गर्न सकिन्छ, जहाँ मन प्रफुल्ल रहन्छ र शरीरभित्रै भोग गर्न थाल्छ।
ग) सुषुप्ति अवस्था
यस अवस्थामा न त कुनै विषयको कामना हुन्छ, न त स्वप्न नै देखिन्छ । यस्तो अवस्थालाई सुषुप्ति भनिन्छ । प्रतिबिम्बित चित् (चिदाभाष) लाई सुषुप्ति अवस्था भनिन्छ । जीवको स्थिति केवल यसैमा स्थित हुन्छ । यो अवस्थामा जीवलाई संसारको आनन्दको आभास हुन्छ । तर यस अवस्थामा प्रतीत भएको आनन्द तमोगुणबाट प्रकट भएको वृत्तिको कारण हो । यस अवस्थाको साक्षी ‘प्रज्ञ’हो । ‘सुषुप्ति‘ अवस्थाको आत्मालाई ‘प्रज्ञ‘ भनिन्छ। यसलाई प्रगाढ निन्द्राको रूपमा लिन सकिन्छ, जहाँ आनन्दमय ज्ञानको स्वरूप प्राप्त गर्न सकिन्छ, जहाँ इच्छा-आकाङ्क्षा लोप हुन्छ र सर्वेश्वर, सर्वज्ञ तथा अन्तर्यामी ज्ञानको अनुभूती हुन्छ।
केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।