ओबामालाई पत्र…
ओबामालाई पत्र …
प्रिय ओबामा,
नितान्त अन्तस्करणको आविर्भाव हो यो,
कसैको शुक्ति वा आख्यान हैन।
यतिबेला तिमी,
इश्तिफा चढाएर जागिरको खोजिमा रहेछौ, र
म पनि निरन्तर बेरोजगार नै छु।
मेरो नम्र निवेदन हो,
कुनै कपाली तमसुकमा लेखिएको
अन्तर्घातको जीरह हैन ।
कालो मसिको रङसँग,
तिमी शिखर सम्म पुग्यौ,
अन्तरदेशीय यात्रामा ।
कसैलाई आघात नपुर्याइ
उजाड हुँदै गरेका मनहरुसँग
उत्साह र प्रेरणाले आवाद लियौ र
नोवल पुरस्कार साझा तुल्यायौ।
माफ गर,
म स्निग्ध हिउँको वयान गर्न सक्दिन, न त
शुभ्र चन्द्रमाको मधुरतालाई
खोट हाल्न सक्छु !
यहाँ,
हाम्रो भावना र स्वतन्त्रता
जलिरहेछ बर्षौ देखि,
कहिले ननिभ्ने बनेर !
मारिएकाहरुको पीडा ओकल्न नसके पनि,
बाँच्नेहरुको वेदना उजागर गर्दैछु।
भाषामा समस्या होला,
गूगलको सहायताले बुझ्ने कोसिस गर !
साँच्चै,
हाम्रा शैक्षिक प्रमाणपत्र
तिथि हेर्ने क्यालेन्डर बनेका छन्,
राजनीतिको सिन्डिगेट प्रणालीले
यातायातलाई उछिनेको छ।
तल देखि माथि सम्म,
रकम बिना कुनै फाइल सर्दैनन् !
न्यायको आँखा खुल्न सकेको छैन, र
भाट भटेनीका बस्तुहरु झै
न्यायलयलाई ट्यागमा झुन्ड्याइएको छ।
प्रमाणपत्र र नागरिकता भन्दा,
संसदीय कलाकार
पटके पटकेमा बिक्रि हुन्छन् ।
बिक्रि नभए
सदन देखि सडक सम्म,
हेतु अनुशासन बेचिनका लागि
आन्दोलन गर्छन् ।
निर्माण, पुननिर्माण र विनिर्माणले
अभिषप्त काठमाडौ,
धूलाम्य, हिलाम्य र खाल्टाम्य बनेको छ।
नाक र फोक्सोहरु राख्ने ठाउँ भए,
केही बर्षलाई
त्यतै राख्ने वातावरण मिलाइदेउ।
प्रशश्तै खुलेका कोठे हस्पिटलमा
अन्य उपचार त गरौंला नी !
यतिबेला,
पुराना नेताहरुलाई निषेध नगरे पनि,
पुराना सवारीसाधन निषेध गरिदैछ।
अहिले,
कलिला सडकहरुलाई
छिप्पिएका टिपरले घाइते तुल्याएका छन्,
र बगाउँन खोजिदैछ जबर्जस्ति
अचेत बाग्मतीलाई !
हामीले बोकेको प्रदूषित लुतो झैँ,
पेटिका विरुवाहरु हाँस्न नसकेको,
बर्षौ भैसक्यो।
हे महामहिम,
पोहोर भूकम्पले कुट्यो,
त्यही बर्ष
भारतले दुख दियो।
भूकम्प र नाकाबन्दी भन्दा धेरै
हामी कुटिएका र लुटिएका छौँ,
अड्डा अदालत र न्यायलय देखि
बजार, बाटो र बासस्थान सम्म !
लुटिएर हामी अस्थिपञ्जर जस्तै
सर्वाङ्ग बनेका छौँ,
तर पनि हाँस्न बिर्सेका रहेनछौ।
हाम्रा बेदनाका पहाडहरु,
माउन्ट एभरेस्ट भन्दा चुलिएका छन्,
दैनिक हजारौलाई
आधुनिक दास बनाएर
कतै कर्मचारीको रुपमा, र
कतै बिना देशको नागरिकको रुपमा
लोड गरिरहेका छौँ,
विमानस्थल पुगेर !
प्रिय महामहीम,
तिमीले मारुनी नाच्न दियौ,
सारङ्गी बजाउँन दियौ,
तर
अरुले त बाँधे,
र जूवामा मात्र लगाए,
रुन पनि दिएनन् !
प्रिय ओबामा,
चीनले हामीलाई सुस्त हौसला नै गर्छ,
परन्तु भारतले सँधै
हैरान दिइरहन्छ।
कस्तो स्याल झै ढुकिरहेको !!
कहिले बुद्ध मेरो भन्छ,
कहिले हिमाल !
सीमाना सार्दा सार्दै,
तिमी सम्मै आउने रहेछ।
हरे कस्तो दुष्ट !
हे महामहीम
हामीले कर्याङ्कुरुङ्ग झै
उदास गीत गाइरहेका छौँ, र
आफू हुनुको,
स्वतन्त्रता खोजिरहेका छौ।
निर्भिक बनेर भन्दैछु,
हाम्रा हात खुट्टा बाधिएका छन्, र
असाध्यै दुखी भएका छौ,
आधा निलिएको भ्यागुतो जस्तै ।
हाम्रा पीडा र वाध्यता,
सहजै व्यक्त हुन सक्दैनन् ।
प्रिय महामहीम !
तिम्रो विद्द्ता र तार्किकतामा,
मैले शिर झुकाएर परेड खेलेको छु,
आफ्नो बौद्धिकतालाई हाम्रो लागि पनि
एक पटक प्रयोग गर्दै,
यो पत्र पढेर,
वाल स्ट्रीटबाट सबैलाई सुनाइदेउ !!
कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।