विज्ञान

ढुसी के हो ? कसरी लाग्छ ?

Trichandra "Pratiksha"
त्रिचन्द्र ‘प्रतीक्षा’

ढुसी के हो ? कसरी लाग्छ ?

ढुसी के हो ?

नेपाली शब्दसागरमा ढुसी शब्दको अर्थ ”ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी” भनेर उल्लेख गरिएको छ । आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्ट लगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् । अहिलेसम्म थाहा लागे अनुसार लगभग १०० प्रकारका फन्जाइले मात्र मानिस र जनावरलाई बिरामी बनाउँछन् ।

कसरी बन्छ ढुसी ?

ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट सुरु हुन्छ । यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् र खानेकुरा, तापक्रम, आद्रता जस्ता कुरा अनुकूल छ भने तुरुन्त अङ्कुराउँछन् आगोजस्तो देखिने यी टुसालाई च्याउबरेसा (हाइफा) भनिन्छ । धेरै च्याउबरेसा मिलेर मसिनो भुवाजस्तो देखिने च्याउबजाल (भाइमेलियम) बन्छ । यही च्याउबजाल नै नाङ्गो आँखाले पनि देख्न सकिने ढुसी हो ।

पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ । पाउरोटीमा देखिने स-साना काला धब्बा वास्तवमा ढुसीका बीजाणु थैली (स्पोरान्जिया) हुन् । अनौठो त एउटा मात्र धब्बामा ५० हजार भन्दा बढी बीजाणु रहेका हुन्छन् । अनि केही दिनभित्रै एउटा बीजाणुले करोडौं नयाँ बीजाणु उत्पादन गर्न सक्षम हुन्छन् । जंगलको काठ/मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएका किताव, जुत्ता, भित्ता जहाँसुकै खुसी पलाइहाल्छ ।

ढुसी र मावन जीवन

वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८ मा हरियो ढुसीमा कीटाणुनाशक शक्ति हुँदोरहेछ भन्ने कुरा पत्ता लगाए पछि ‘पेन्सिलियम नोटाटम’ नाउँ दिइएको यो ढुसी मानिस र जनावरका लागि वरदान सावित भयो । किनकि यो अनुसन्धानको परिणाम स्वरुप पेन्सिलिनको जन्म भयो जसलाई ”वर्तमान युगमा सबैभन्दा धेरै जीवन बचाउन सफल औषधि” भन्ने नाम दिइएको छ । यस खोजको लागि फ्लेमिङ र तिनका सहकर्मी होवार्ड फ्लोरे र अर्नस्ट चेनलाई सन् १९४५ मा चिकित्साशास्त्रका लागि नोवेल पुरस्कार प्रदान गरियो । त्यस बेलादेखि आजसम्म, ढुसीको उपयोग गरेर अरु पनि थुप्रै औषधि तयार पारिएका छन् । जस्तै, रगत जम्ने, माइग्रेन र पार्किन्सन्स रोगका औषधि ।

ढुसी र खानेकुरा

ढुसीका कारण हामीले आफ्नो जिब्रो पड्काउन पनि पाएका छौं । विशेषगरी हामीले खाने विभिन्न थरिका चीजको आ-आफ्नै खालको स्वाद हुनुमा ‘पेन्सिलियम’ नामक ढुसीका विभिन्न प्रजातिको हात छ भन्ने कुरा के तपाईंलाई थाहा थियो ? त्यसैगरी, ढुसी नहुँदो हो त हामीले सलामी अनि सोयासस चाख्नै पाउँदैनथ्यौ । अनि चिसो बियरको मीठो चुस्की ।

वाइन पनि त्यहि हो । कुनै खास प्रजातिको अङ्गुरमा ठिक्क मात्रामा ढुसी पलाएपछि टिपेर त्यसबाट मीठो वाइन बनाइन्छ । ‘बोट्राटिस सिनेरा’ नामको ढुसीले अङ्गुरमा गुलियोपनको मात्रा बढाइदिन्छ र वाइनलाई स्वादिलो बनाउँछ । छिप्पाएर राखिएको वाइनलाई स्वादको पराकाष्ठमा पुर्‍याउने काम पनि ‘क्लाडोस्पोरियम सिल्लार’ ढुसीले गर्छ । हाम्रो नेवारी समाजमा बनाइने भात पकाएर १५/२० दिन छिप्पाएर राखेर बनाइने जाँड (छ्याङ्ग) पनि एक प्रकारको ढुसीको कारण बन्छ ।

ढुसी र मानव स्वास्थ्य

केही वैगुणी ढुसीले लामो इतिहास बोकेका छन् । ईशापूर्व छैटौं शताब्दीमा अश्शुरीले आफ्ना शत्रुको इनारको पानीलाई विषालु बनाउन ‘क्लाभिसेप्स पुर्पुरेआ’ नामक ढुसी प्रयोग गर्थे । यसलाई प्राचीन जैविक हतियार भन्दा पनि फरक पर्दैन । सन् ५०० देखि १,५०० सम्मको अवधिमा गहुँको एक प्रजातिमा ढुसीले गर्दा थुप्रै मानिसलाई छारे रोग, शरीर भतभती पोल्ने, शरीरको मासु कुहिने र मानसिक शक्ति गुमाउने रोगले सताएको थियो ।

क्यान्सर गराउने सबैभन्दा खतरनाक तत्व एफ्लाटाक्सिन हो तर यसको जननी पनि ढुसी नै हो एक अध्ययनअनुसार एसियाली मुलुकमा एफ्लाटाक्सिनको कारण बर्सेनि ५० हजारको मृत्यु हुने गर्दछ । दम जस्ता फोक्सोसम्बन्धी रोग हुने, एजर्जी भएका, रसायन प्रति तुरुन्तै प्रतिक्रिया देखाइहाल्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएका अनि एकैचोटि धेरै ढुसीको सम्पर्कमा आउने कृषकलाई भने यसले नराम्रो असर गर्न सक्छ । बालक र बूढाबूढीलाई पनि ढुसीले सजिलै असर गर्न सक्छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित स्वास्थ्य सेवा विभागका अनुसार ढुसीले गर्दा छाति घ्यार घ्यार हुने, सास फेर्न गाह्रो देखिने, नाक बन्द हुने र पिनासले सताउने, आँखा पोल्ने, सुख्खा खोकी लाग्ने, नाक र घाँटी पोल्ने, छालामा डाबर देखिने वा चिलाउने आदी लक्षण देखिन सक्ने बताएका छन् ।

साभार : त्रिचन्द्र ‘प्रतीक्षा’, मझेरी डट कम/युवामञ्च, २०६७ चैत

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!