यौन जिज्ञासा

कन्डम च्यातिए वा फुटे के गर्नुपर्छ ?

कन्डम पुरुषहरूले यौनसम्पर्कका बेला एक विशेष किसिमको रवरले बनेको लिङ्गमा लगाउने पातलो खोल हो । अहिले बजारमा उपलब्ध कन्डम ल्याटेक्स रवरबाट तयार हुन्छ । अहिले महिला कन्डम पनि उपलब्ध हुन थालेको छ ।  सही तरिकाले प्रयोग गर्दा कन्डमको प्रभावकारिता उच्च छ ।
कन्डम फुटेको स्थितिमा यौन रोगको संक्रमण हुने वा गर्भरहने सम्भावना हुन्छ । कन्डम च्यातिए वा फुटे वीर्य योनिमा झरेको स्थितिमा गर्भ रहन सक्छ । सामान्यत: महिनावारी सुरु भएको यस्तै १४ दिनपहिले डिम्ब निस्कासन हुन्छ । यदि त्यस दिनको हाराहारीमा यौनसम्पर्क भै योनिमा वीर्यस्खलन भएको छ भने गर्भ रहने सम्भावना बढी हुन्छ ।

यौनसम्पर्कको बेला कतिपय स्थितिमा कन्डम फुट्न सक्छ । कन्डम फुट्दा सम्बन्धित दुवै व्यक्तिमा निकै चिन्ता हुन सक्छ । यस्तो स्थिति परे के गर्ने त ? कन्डम फुटेको स्थितिमा तपाईंकी केटी साथीको पनि विशेष सहयोग चाहिन्छ ।

  • कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहन प्रयास गर्नुपर्छ, जसले सही निर्णय गर्न सहयोग गर्छ ।
  • यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोक्नुपर्छ र लिङ्ग निकाल्नुपर्छ ।
  • वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई झिक्नुपर्छ ।
  • त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ ।
  • कन्डम फुटेको कुरा र त्यसको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत रूपमा कुराकानी गर्नुपर्छ । आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनुपर्छ ।

साभार : डा. राजेन्द्र भद्रा, साप्ताहिक प्रकाशित : श्रावण १३, २०७३

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!