जीवन-दर्शन

पञ्चकोष भनेको के हो ?

मधुसूदन सुवेदी
मधुसूदन सुवेदी

पञ्चकोष भनेको के हो ?  १) अन्नमयकोष      २) प्राणमयकोष       ३) मनोमयकोष       ४)  विज्ञानमयकोष  ५) आनन्दमय कोष ।

१) अन्नमय कोष

पितामाताले खाएको अन्नबाट बनेको वीर्य र रजबाट उत्पन्न भएको स्थूल शरीरलाई अन्नमय कोष भनिन्छ । यो अन्नको भरमा नै वाँचेको छ । यो पञ्चीकृत पञ्चमहाभूत अहङ्गारबाट उत्पन्न भएको स्थूल शरीर हो । यो नाशवान् स्थूलशरीर भएको र जन्म–मृत्यु भइरहने हुँदा आत्मा होइन ।

२) प्राणमय कोष

सूक्ष्म शरीरमा रहेको रजोगुणबाट निर्मित प्राण आदि पञ्चवायु र पञ्च–कर्मेन्द्रिय दशतत्व को नाम प्राणमय कोष हो । विकारले गर्दा सुनबाट  नाना रूप र आकार भए जस्तै प्राण पनि वृत्तिको भेदले गर्दा एउटै प्राणको पञ्चप्राण, भएको छ । आत्मा चैतन्यको अपेक्षाले प्राण चेष्टावान् हुन्छ तर आत्माको आवरण मात्र हो । स्वयं आत्मा होइन ।

३) मनोमय कोष

अपञ्चीकृत समष्टि सत्वगुणबाट उत्पन्न पाँच ज्ञानेन्द्रियका साथै एक मन हो । यसैबाट मनोमय कोष बनेको छ । यसले छिनमा घरको जग हालेर महल बनाउँछ र छिनमै महल भत्काउँछ । दृश्यको बीज मन नै हो । सुख, दुःख भोग्नु मनकै कुरा हुन् यो अन्नमय र प्राणमय कोषलाई व्याप्त गरेर रहेको छ । संसाररूपी दृश्य प्रपञ्च मनको वृत्ति रूप हो तर आत्मा होइन ।

४) विज्ञानमय कोष

पाँच ज्ञानेन्द्रिय र बुद्धि मिलेर यो कोष बनेको छ । चैतन्यस्वरूप आत्माको प्रतिबिम्बद्वारा आभाषित  नाम हो । कर्तापन  यसको स्वभाव हो । मनुष्यमा “म कर्ता हुँ” भन्ने अभिमान यही कोषमा हुन्छ । अज्ञानी मानिसलाई आत्मामा अविद्याको आवरण छ भन्ने कुरा थाहा हुँदैन । यसैले उ जन्ममरणको चक्रमा घुमि रहन्छ । आत्मा वृत्तिसँग सम्पर्क  युक्त भएर इहलोक र परलोक भ्रमण गर्दछ । मानिसको बुद्धिमा कर्तव्यको भावना र अहङ्गार पनि हुन्छ, तर यो अनित्य भएकोले आत्मा होइन ।

५) आनन्दमय कोष

आनन्द स्वरूप आत्माको प्रतिबिम्बले व्याप्त तमो गुणबाट प्रकट भएको वृत्ति नै आनन्दमय कोष हो । पुण्यकर्मको फलस्वरूप कुनै समयमा सुखको अनुभव गर्छ । त्यसवेलामा अन्तःकरणमा प्रिय, मोद, प्रमोद वृत्ति सर्जक भएर अन्तर्मुख हुन्छन् । ती वृत्तिमा नै परमात्माको प्रतिबिम्ब पर्छ र सुखको अनुभव हुन्छ  । यो सुख कोषमा पाइन्छ । तर यो कोष पनि अज्ञानले आच्छादित भएकोले आत्मा होइन यो प्रकृतिको विकार हो ।

 केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!