राष्ट्रिय समाचारसूचना प्रविधि

हराएको एन्ड्रोइड फोन यसरी पत्ता लगाउनुहोस्

हराएको एन्ड्रोइड फोन यसरी पत्ता लगाउनुहोस् । मोबाइल फोन सधैं आफूसँग सुरक्षित रहन्छ भन्ने छैन । हामी कहिले एउटा कोठामा राखिएको फोन अर्को कोठामा गएर खोज्ने गर्छौं । त्यसमाथि फोन साइलेन्टमा छ भने त झनै तनाव । अफिस, कलेज जान हतार भएको छ तर फोन कुन कोठाको कुन कुनामा छ, केही अत्तोपत्तो हुँदैन । लौ भएन त बर्बाद !

यस्तो समयमा वैकल्पिक समाधान भनेको गुगल प्रयोग गर्नु हो । धेरैलाई थाहा नहुन सक्छ, गुगलको सहायले पनि एन्ड्रोइड फोन कहाँ छ भनेर पत्ता लगाउन सकिन्छ । तर यसका लागि मोबाइलमा इन्टरनेट कनेक्सन मोबाइल डाटा वा वाइफाई हुन जरुरी छ । गुगल सर्च सामान्य रूपमा प्रयोग गरेकालाई यो विधि साह्रै सजिलो लाग्नेछ । आफ्नो मोबाइलमा जुन गुगल एकाउन्ट प्रयोग गरिएको छ, त्यही एकाउन्टमा आफ्नो कम्प्युटरबाट लगइन गरी गुगल डट कममा गएर ‘ह्वेर इज माई फोन’ सर्च गर्नुपर्छ ।

तस्बिरमा उल्लेख भएझैं त्यो गुगल एकाउन्ट जुन एन्ड्रोइड फोनमा प्रयोग गरिएको छ, उक्त फोन अन्तिमपटक कहाँ अनलाइन थियो भनेर देख्न सकिन्छ । छेउमा दुईवटा अप्सन्स देखिन्छन्, ‘रिङ’ र ‘रिकभर’ । फोन हराएको छैन तर आफ्नै कोठाको कुनै कुनामा छ भने पहिलो अप्सन ‘रिङ’को प्रयोग गर्नुपर्छ । ‘रिङ’ मा थिचेर फोनलाई ‘फुल भोल्युम’मा रिङ गराउन सकिन्छ । साइलेन्टमा भए पनि यो तरिकाले फोन कहाँ छ भनेर पत्ता लगाउन सकिन्छ ।

फोन हराएको खण्डमा ‘एन्ड्रोइड डिभाइस म्यानेजर’मा गएर आफ्नो फोन ‘लक’ पनि गर्न सकिन्छ । फोनको पासवर्ड फेरेर, लक स्क्रिनमा कुनै प्रकारको म्यासेज, उदाहरणका लागि ‘यो फोन मेरो हो, कृपया यो नम्बरमा सम्पर्क गरिदिनुहोला’ लेखेर फोन फिर्ता गरिदिन आग्रह गर्न सकिन्छ ।

चोरी भएपछि फोन फिर्ता आउने कुरै भएन । तर त्यस फोन मेमोरीमा भएका महत्त्वपूर्ण डेटा, एप्स, फोन नम्बर, फोटो, भिडियो हटाउन पनि सकिन्छ । यसरी डिभाइस रिमोट्ली वाइप गर्दा मेमोरी कार्डमा भएका डेटाचाहिँ हट्नेछैनन् ।

स्रोत तथा साभार : अन्नपूर्ण पोस्ट, रविन्द्र लम्साल शुक्रवार, भदौ १०, २०७३

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!