विज्ञान जिज्ञासा

स्त्रीमा किन हुन्छ मूत्र चुहिने समस्या ?

मूत्र चुहिने समस्या औधी मात्रामा देखा पर्ने गरेको छ । यो पुरुष तथा स्त्री दुवैमा देखा पर्छ । तर पनि पुरुषको अनुपातमा स्त्रीहरू यो समस्याबाट बढी प्रभावित हुन्छन् । स्त्रीमा यो अवस्था जति उमेर बढ्दै गयो त्यति बढी हुने गर्छ । कैयौं स्त्रीहरू यसलाई उमेर बढ्दै गएपछि अनुभव गर्नैपर्ने अवस्था भनेर स्वीकार गर्छन् ।

खास गरेर यो अवस्थाले सोझै ज्यानमा असर नपार्ने भएकाले पीडितहरू थोरैले मात्रै उपचारका लागि चिकित्सकसँग परामर्श गर्छन् । तर यो अवस्थाले स्त्रीको शारीरिक, मानसिक र सामाजिक सबै क्षेत्रमा नराम्रो प्रभाव पार्ने गर्छ । पश्चिमा देशहरूको तथ्यांकमा स्त्रीहरू कम्तीमा ३० प्रतिशतसम्म मूत्र चुहिने समस्याले ग्रस्त हुन्छन् ।

त्यसमध्ये ५० प्रतिशत भन्दा कम मात्रै उपचारबम निम्ति जाने गर्छन् । नेपालमा पिसाब चुहिने समस्याबाट कति प्रतिशत स्त्री पीडित छन् ? तीमध्ये उपचारका निम्ति चिकित्सककहाँ कति पुग्ने गर्छन् ? त्यसको कुनै लेखाजोखा छैन । स्त्रीमा विभिन्न प्रकारका पिसाब चुहिने अवस्था देखा पर्छन् । यो लेखमा एक्कासि पेटभित्र चाप बढेर उत्पन्न भएको पिसाब चुहिने समस्यालाई मात्र वर्णन गर्ने चेष्टा गरिएको छ ।

पेटभित्र एक्कासि चाप बढेर पिसाब चुहिने भनेको खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, शारीरिक व्यायाम गर्दा, भारी बोक्दा, सम्भोग गर्दा जब पेटभित्रको चाप एक्कासि बढ्छ; त्यस्तो अवस्थामा मूत्रथैलीमा पिसाब छ भने त्यो थोपा वा धाराकै रूपमा बाहिर निस्कन्छ । त्यस्तो भएमा योनीवरपर भिजेको अनुभव हुने, समयमै सफा गर्न नपाए मूत्र गनाउने, चिलाउने तथा संक्रमण हुनेजस्ता समस्या उत्पन्न हुन्छन् ।

 खोकी वा अरू कारणबाट बारबार पिसाब चुहिन थालेको खण्डमा भित्री लुगा नभिजोस् वा अरूको अगाडि नराम्रो नहोस् भन्न प्याड वा पिसाब सोस्ने कपडा राख्दा योनी वरिपरि घाउ हुनसक्ने, बाफिने र लामो समय फेर्न नपाउँदा पूरा ध्यान त्यतैतिर जानसक्ने हुँदा त्यस्तो समस्याबाट मुक्त हुन राम्रो हुन्छ ।

मूत्र चुहिने समस्या पुरुषमा भन्दा स्त्रीमा धेरै मात्रामा विद्यमान हुन्छ । खास गरेर पेटभित्र चाप बढ्दा मूत्र नियन्त्रण गर्न नसक्ने स्त्रीहरूले शारीरिक, मानसिक र सामाजिक व्यवधान बेहोर्नुपर्ने हुन्छ । यस्तो अवस्था बच्चा जन्माएका, शरीरको तौल धेरै भएका, मधुमेहबाट पीडित र पाठेघर निकालिएका स्त्रीहरूमा प्रायः देखा पर्छ ।

यसको मुख्य कारण मूत्रनलीको बीचको भागको प्राकृतिक झोलुंगे आधार कमजोर वा नष्ट हुनु हो । हाल शल्य विधिबाट कृत्तिम रूपमा जालीको पट्टी मूत्र नलीमुनि राखेर गुमेको प्राकृतिक झोलुंगे आधारलाई बलियो बनाएर स्त्रीलाई पिसाब नचुहिने अवस्थामा पु‍र्‌याइन्छ ।

साभार- अन्नपूर्ण पोस्ट, प्रा.डा. अर्जुनदेव भट्ट,  शुक्रवार, साउन २८, २०७३ प्रकाशित

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!