किन पिसाब रोक्न सकिँदैन ?
पिसाबसम्बन्धी विकारअन्तर्गत थुप्रै रोगहरू पर्दछन् । जसमा पिसाब पोल्नु,पिसाब रोक्न, पिसाब रोकिनु, पिसाब रोकी रोकीकन आउनु, पत्थरी हुनु र धेरै मात्रामा पिसाब लाग्नु (बहुमूत्र) हुनु, मधुमेह हुनु । यी सबै रोग बडो कष्टदायी हुन्छन् । यदि समयमा यसको उपचार गरिएन भने यसको परिणाम घातक पनि हुन सक्छ । अस्तव्यस्त तथा भागदौडको जीवनशैली बिताउने व्यक्तिमा प्रायः पिसाबसम्बन्धी समस्या देखिने गर्दछ । यी रोगहरूको सम्बन्ध तपाईंको जीवनशैलीसँग जोडिएको छ । मूत्रसम्बन्धी रोग लाग्नु वा नहुनु तपाईं लाइफस्टाइलमा भर पर्दछ ।
सामान्य अवस्थामा पेटभित्र जति चाप बढे पनि (खोक्दा, हाछ्युँ गर्दा, सम्भोग गर्दा) मूत्र नचुहिन कुनै उपाय अपनाई राख्नु पर्दैन । शरीरको बनोट यस्तो छ कि स्त्रीमा मूत्रनली पुरुषको दाँजोमा छोटो भए पनि पिसाब चुहिँदैन । त्यसका निम्ति निम्न शारीरिक बनोट उत्तरदायी छन्:
- मूत्र थौलीको घाँटी र मूत्र नलीको भित्री झिल्ली ।
– पिसाब थैली र मूत्र नलीका मांसपेशीहरू र तिनीहरूबीचको उचित समन्वय ।
– मूत्र नली र योनीको रक्तसञ्चार तथा स्नायु ।
– मूत्र नलीलाई उपयुक्त आधार प्रदान गर्ने योनीको भाग ।
– मांसपेशी र तन्तुहरूको पट्टाबाट बनेको मूत्र नलीलाई आधार दिने झोलुंगे आकारको संरचना ।
यो झोलुंगे बनावटमा योनी र मलद्वार खुम्च्याउने मांसपेशी तथा मूत्र नली अड्याउने तन्तुहरू संलग्न हुन्छन् । उल्लिखित सबै शारीरिक बनावटमा कुनै कमजोरी नहुँदा वा ती अंगको कुनै पनि भागमा क्षति नभए मूत्र नलीको बन्द अवस्थामा पिसाब थैली र पेटभित्र जति चाप बढे पनि त्योभन्दा बढी चाप मूत्र नलीभित्र उत्पादन हुने गर्छ र नलीको भित्री भाग एकआपसमा टाँसिएर बस्छ ।
यो अवस्थामा मूत्र नलीको प्वालभित्र चाप बढ्दा यो चुहिन नसक्ने गरेर बन्द रहन्छ । पेटभित्र चाप बढ्दा मांसपेशी र तन्तुबाट बनेको झोलुंगे संरचनाले मूत्र नलीलाई च्यापेर पिसाब चुहिनबाट रोक्छ ।
साभार- अन्नपूर्ण पोस्ट, प्रा.डा. अर्जुनदेव भट्ट, शुक्रवार, साउन २८, २०७३ प्रकाशित
यो पनि पढ्नुहोस्