जीवन-दर्शन

आत्मा भनेको के हो ?

Madhusudan Subedi
मधुसूदन सुवेदी

आत्मा भनेको के हो ? आत्मा भनेको स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीरदेखि भिन्न अन्नमयादि पाँचकोशदेखि विलक्षण छ । फेरि त्यो वस्तु जाग्रत्, स्वप्न, सुषुप्ति तीनै अवस्थाको साक्षी स्वयं प्रकाश वस्तु हो । जसलाई वाणीले यस्तो हो भनेर वर्णन गर्न सकिदैन । सबैको अन्तःकरणमा ‘म म’ भनेर फुरिराखेको छ । सबै भूतहरूको हृदयमा बस्नु भएको छ ।

बिभिन्न दर्शनशास्त्र र धर्मशास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अंग हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आजसम्म यसबारे केही पनि पतो लगाउन सकेको छैन, किनभने आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौं मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै नास्तिकहरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो। आत्माको बारेमा श्रीमद्भगवद गीताममा यसो भनिएको छ; किन व्यर्थ चिन्ता गर्छौ? को सग व्यर्थ डराउछौ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै।

स्थूल शरीर भनेको के हो ? पञ्चीकृत पञ्चमहाभूतले बनाइएको सत्कर्मबाट जन्मेको सुख दुःख भोग गर्ने जन्मनु, बढनु, परिवर्तन हुनु, घट्नु, नाश हुनु यस्ता छ विकारले युक्त भएको शरीर नै स्थूल शरीर हो । यो शरीर त्वक्, चर्म, मांस, रक्त, मेद, अस्थि, मज्जा, शुक्रले बनेको छ यो अन्नमय कोष हो । केवल अन्नको भरमा रहन्छ । स्थूल शरीर, मेरो शरीर भनी अभिमान गर्ने साक्षि स्वरूप आत्मालाई “विश्व” भनिन्छ । सांसारिक जीवनको समस्त विषय व्यापार र व्यवहार क्षेत्र स्थूल शरीर हो । यसै शरीरभित्र सम्पूर्ण अङ्कमा सूक्ष्मशरीर रहेको छ ।

सूक्ष्म शरीर भनेको के हो ? अपञ्चीकृत  पाँच महाभूतहरूबाट उत्पन्न भएको, सत्कर्मबाट बनेको, सुख दुःखको भोग गर्ने साधन नै पाँच कर्मेन्द्रिय, पाँच ज्ञानेन्द्रिय र पाँच प्राण तथा मन, बुद्धि समेत गरी सत्र (१७) कलाले युक्त भएकोलाई सूक्ष्म शरीर भनिन्छ । यसैलाई आतिवाहिक वा लिङ्कशरीर पनि भनिन्छ अज्ञानी जीव मृत्यु हुँदा  यही १७ सत्र चिज लिएर जानु पर्दछ ।

कारण शरीर के हो ? अविद्याको नाम नै कारण शरीर हो । अविद्यालाई कारण र तत्वज्ञानबाट नाश हुने हुनाले शरीर संज्ञा दिइएको हो । रुखको अङ्कुर पेड, फलफूलको कारण बीज भनेजस्तै, स्थूल सूक्ष्मको कारण नै कारण शरीर भनिएको हो । संस्कार (कारण) अन्तः करणमा रहन्छ र पेडको बीज भने जस्तै जीवको संस्कार हो । संस्कारबाटै कर्मफल भोग्नु पर्दछ । कारण शरीर दुई साँधको किलो जस्तो हो । यसलाई अज्ञानको बीज र सृष्टि पनि भनिन्छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!