राजनीतिराष्ट्रिय समाचार

मतदातालाई प्रभावमा पार्ने काम नहोस् : प्रमुख निर्वाचन आयुक्त यादव

कार्तिक १७, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट नमूना निर्वाचनका रुपमा सफल तुल्याउन निर्वाचन आयोग अर्जुनदृष्टिका साथ काम गरिरहेको बताउनुभएको छ । राजनीतिक दल सम्बद्ध युवाको लागि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै उहाँले पहिलो चरणको निर्वाचनको सामग्री व्यवस्थापन तथा मतपत्र प्याकिङ र ढुवानीको काम शुरु भएको हुँदा निर्वाचन कार्यक्रम मतदान केन्द्र केन्द्रित भइसकेको जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “उम्मेदवारी मनोनयन कार्य ज्यादै उल्लासपूर्ण रुपमा भएको छ, जसरी पवित्र भावना लिएर मनोनयनमा दर्तामा संलग्न हुनुभएको छ, त्यसरी नै राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिताको पालना होस् । भोज भतेर र टिसर्ट देखाएर मतदातालाई प्रभावमा पार्ने काम नहोस् ।” स्वच्छ, स्वतन्त्र, मितव्य र भयरहित निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो तुल्याउन सक्छ भन्दै उहाँले आगामी निर्वाचनमा अचारसंहिताको उल्लंघन गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिनुभयो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलले सरकार हाक्ने जिम्मेवारी पाएमा त्यसबाट न्याय र सदाचारको के अपेक्षा गर्न सकिएला भनी प्रश्न गर्दै निर्वाचनको मुख्य सरोकारवाला पक्ष राजनीतिक दलले यो कुरालाई राम्रोसँग हेक्का गर्न आवश्यक छ भन्नुभयो । आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बिहीबार भएको शान्तिपूर्ण, मर्यादित र व्यवस्थित उम्मेदवारी मनोनयनले सबैमा उत्साहित तुल्याएको धारणा व्यक्त गर्नुभयो ।

मतदानमा मतदाताको उपस्थिति र सदरमत संख्या बढाउन तथा बदर मत प्रतिशत घटाउन राजनीतिक दलका युवा नेताबाट महत्वपूर्ण भूमिका हुनसक्ने जनाउँदै आयोगले समयको निकै चाप रहेपनि मतदाता शिक्षाका लागि नमूना मतपत्रसहितका सामग्री घरघर पुर्याउने आयोगले अठोट व्यक्त गरेको छ । आगामी निर्वाचनमा भाग लिएका राजनीतिक दलका युवा उक्त प्रशिक्षणमा सहभागी हुनुहुन्छ । प्रशिक्षणमा उहाँलाई संवैधानिक तथा कानूनी व्यवस्था, निर्वाचनसम्बन्धी कानूनी संरचना, मतदान तथा मतगणना प्रक्रिया र आचारसंहिता पालना सम्बन्धमा ज्ञान दिइने छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!