राष्ट्रिय समाचारसमाचार

मोवाइल टावर विकट हिमाली क्षेत्रमा निर्माण हुँदै

१८ पुस, डोल्पा । विकट हिमाली जिल्ला डोल्पाको उत्तरी सीमा क्षेत्रमा पर्ने से–फोक्सुन्डो गाउँपालिकाका स्थानीयवासीको वर्षौंदेखिको मोबाइल फोनमा कुरा गर्ने सपना साकार हुने भएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं ३ साल्दाङ र वडा नं ८ मा पर्ने रिग्मो गाउँमा जिएसएम मोबाइल टावर बन्ने भएपछि स्थानीयवासीको मोबाइलमा कुराकानी गर्ने सपना साकार हुने भएको हो । टावर निर्माण भएपछि यसक्षेत्रका ४००० जनसङ्ख्या लाभान्वित हुनेछन् ।

गाउँपालिका सम्पूर्ण वडालाई सेवा पुग्ने गरी टावर निर्माण गर्न लागिए पनि भौगोलिक विकटताका कारण भिजेर र पुग्मोवासीले भने सुविधा लिन नपाउने गाउँपालिकाले जनाएको छ । टावर निर्माणका लागि सम्पूर्ण उपकरण सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको छ । सुर्खेतबाट हेलिकप्टरमा दुई दिन लगाएर सम्पूर्ण सामग्री उपल्लो डोल्पा ढुवानी गरिएको हो ।

अत्यधिक चिसोले गर्दा पुस र माघमा सिमेन्ट लगायतको काम नहुने भएकाले चैतसम्म सेवा सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ । गाउँमा मोबाइल सेवा सञ्चालनमा ल्याउनको लागि टावर बन्ने भएपछि अध्ययनका लागि नेपालगञ्ज, काठमाडौँ पुगेका बालबालिकासँग कुरा गर्न पाइने भन्दै स्थानीयवासी खुशी भएका छन् । टावर राख्नका लागि दुवै ठाउँमा भवन निर्माण भइसकेको बताइएको छ । मोबाइल टावर सञ्चालनमा आएपछि नेपालकै गहिरो फोक्सुण्डो ताल अवलोकन गर्न आउने पर्यटकलाई समेत सञ्चार सुविधा प्राप्त हुनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!