मुख्य समाचारशिक्षा

विराट क्याम्पसको अध्यक्षमा प्रा. डा देवेन्द्र अधिकारी र क्याम्पस प्रमुखमा आर.सी. कोईराला

विराटनगर, २९ चैत्र । गुणात्मक शिक्षा दिने हेतुले वि. सं. २०४८ सालमा स्थापना भएको विराट क्याम्पसको आज भएको विशेष साधारण सभाले विराट क्याम्पसको संरक्षण, सम्वर्धन तथा शैक्षिक विकासका लागि प्रा. डा. देवेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । क्याम्पसको क्याम्पस प्रमुखमा आर.सी. कोइरालालाई साधारण सभाले चयन गरेको छ ।

नयाँ कार्य समीतीमा क्रमशः प्रा. डा. खगेन्द्र आचार्य, प्रा. डा.प्रदिपराज प्रधान, प्रा. डा.दामोदर थापा, प्रा. डा. नागेन्द्रप्रसाद साह, डा. राजुराम थापा, डा. रामप्रसाद कोइराला, भुराज राई, महेन्द्र सिटौला, देवेश प्रधान र आर. सी. कोइराला समेत ११ सदस्य रहेका छन् ।

गुणात्मक शिक्षा दिने हेतुले वि. सं. २०४८ सालमा स्थापित विराट क्याम्पसले विशेष कार्यक्रम सहित साधारणसभा सम्पन्न गरेको छ । नेपालको पूर्व क्षेत्रकै शैक्षिक धरोहरको रुपमा रहेको यस क्याम्पसले २५ वर्ष पूरा गरेको अवसरमा शिक्षा क्षेत्रमा अनवरत लागी रहनु भएका १३ जना प्राध्यापक तथा शिक्षासेवीलाई नयाँ सदस्यको रुपमा प्रवेश गराएको छ ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षाप्रति प्रतिबद्ध यो क्याम्पस गुठीको रुपमा संचालन हुँदै आएकोमा शैक्षिक सत्र २०५९/२०६० देखि मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई संचालित छ ।

विराट क्याम्पस अन्तर्गत हाल स्कूल अफ म्यानेजमेन्ट स्टडिजद्वारा स्नातक तहका बि.बि.एस र बि.एड एवं स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत फिजिक्स, केमेस्ट्री, वोटनी, जुलोजी, म्याथ र वातावरण विज्ञानका कार्यक्रमहरु संचालित छन् । त्यसैगरी कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय संचालनमा छ भने सी.टी.ई.भी.टी. अन्तर्गतका डिप्लोमा इन सिभिल इन्जीनियरीङ र डिप्लोमा इन कम्प्युटर इन्जीनियरीङको सम्भाव्यता अध्ययन पूरा भइसकेको र सम्वन्धनको प्रकृयामा छ ।

कार्यक्रममा स्थापनाकालदेखिको इतिहास स्मरण गर्दै यो संस्था प्रदेश नं. १ को शैक्षिक गहना भएको संस्थापक सदस्य प्रा.डा. खगेन्द्र आचार्यले उल्लेख गर्नुभयो । हाल यस क्याम्पसको नाममा १६ कठ्ठा जमीन, २ तलाको ३२ कोठाको पक्की भवन, यथेस्ट उपकरण सहितको सुविधा सम्पन्न विज्ञान प्रयोगशालाहरु तथा लाईव्रेरी रहेका छन । नीजि क्षेत्रवाट सञ्चालित सम्पूर्ण पूर्वाधारयुक्त यस विराट क्याम्पसको यस क्षेत्रको शैक्षिक उत्थानका लागि अबको संघीय संरचनामा विशेष भुमिका रहने अध्यक्ष प्रा. डा. देवेन्द्र अधिकारीले बताउनु भयो ।

वर्तमान आधुनिक विश्वमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न अन्य थप शैक्षिक कार्यक्रमहरु समेत यस क्याम्पसमा सञ्चालन गरी यस क्याम्पसलाई नेपालको पुर्व क्षेत्रको नमूना शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजना रहेको क्याम्पस प्रमुख आर.सी. कोइरालाले वताउनुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!