पर्यटनराष्ट्रिय समाचार

पोखराको पुम्दीकोटमा १०८ फिट अग्लो शिवको मुर्ति बनाइने

पोखरा, ६ कत्तिक । पोखरा उपमहानगरपालिका २५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव  भगवानको १०८ फिट अग्लो बिशाल मुर्ति बनाउन लागिएको हो । पोखरा उपत्यका सहित हिमाली श्रृङखला प्रष्ट देख्न सकिने उत्कृष्ट भ्यू प्वाइन्ट पुम्दीकोटमा शिब भगवानको विशाल मुर्ती बन्ने भएको छ ।

पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किलोमिटर दक्षिण पश्चिममा पर्ने पुम्दीकोटलाई बिशेष पर्यटकिय क्षेत्र बनाउने योजना अनुसार मुर्ती स्थापना गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबद्र्धन समितिले पुम्दीकोटको पर्यटक प्रबद्र्धनका लागि आगामी पाँच बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २१ करोडको योजना अघि सारेको छ ।

समितिका संयोजक चन्द्रकान्त बरालले महादेवको मूर्ति सहित शहिद स्मृति पार्क आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने र त्यसको लागि मात्रै ५ करोड २५ लाख खर्च अनुमान गरिएको बताए । पुम्दीकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गरेर पर्यटन आगमनमा बृद्धि गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको शिव मुर्ति तथा स्मृति पार्क कुल १७ रोपनीमा बनाइन लागेको छ । जसमध्ये १२ रोपनीमा पूर्वाधार निर्माण गरिने पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिका संयोजक चन्द्रकान्त वरालले जानकारी दिए ।

जसको वरिपरी १०८ शिवलिङ्ग निर्माण गरिने र मुर्तिलाई डाईमार्फत गणेश भगवानले परिक्रमा गरिरहने शिव मुर्ति बनाइनेछ । टावर यथावत रहने भएको छ । जसबाट फेवाताल, अन्नपूर्ण हिमालका श्रृंखलाहरु, माछापुच्छ्रे हिमालसहित पोखराका विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । मुर्ति भन्दा केही अगाडिको भागमा दुइतले भवन बन्नेछ । जसको पहिलो तलामा पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिको कार्यालयसहित बहुउद्धेश्यी भवन रहनेछ भने दोश्रो तलामा मेडिटेसन हल बनाइनेछ ।

समुन्द्र सतहदेखि झण्डै १५ सय मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृष्यावलोकनको लागि यसअघि टावर निर्माण गरिसकिएको छ ।जहाबाट फेवाताल, हिमश्रृङखला , पोखरा उपत्यका प्रष्ट देख्न सकिन्छ । सराङकोटमा सम्पूर्ण पर्यटकिय पूर्वाधार तयार भएकाले पनि पर्यटकको सहज आवतजावत हुने गरेको तर पुम्दीकोटमा पर्यटकिय पूर्वाधार नहुदा पर्यटन पठाउन नसकिएको पर्यटन ब्यवसायीले बताए । पुम्दीकोट पुग्ने पर्यटकको लागि खाने, बस्ने र आवतजावतको लागि सहज सडक ब्यवस्था भए पर्यटक पुर्याउन सकिने उनीहरुको ठहर छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!