सलहेश फूलबारीको फूलको वैज्ञानिक आधार के त ?
सहलेस फुलबारी सिराहा जिल्लाको धार्मिक तथा ऐतिहासिक स्थल हो । करिब ९ बिघामा फैलिएको सो फुलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सहलेसको फुलबारीको रूपमा प्रसिद्ध रहेको छ । फूलबारीको मध्यभागमा रहेको हाराम नाउँको रुखको हाँगामा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन एकाबिहानै एकदिनका लागि माला आकारको सेतो फूल फूल्ने गरेको छ । अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छ । युवायुवतीले उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन । गहबरमा सहलेस र मालिनीको भव्य मूर्ति रहेको छ । पूजारीका अनुसार मन्दिर पछाडी इनार र बालीगंगा नदी बग्ने गरेको र इनार कहिलेकाँही अपर्झट रूपमा मात्र देखिने गरेको छ ।
सलहेश फूलबारीको वनस्पती सुनाखरी परिवार (Orchidaceae) मा पर्छ । यो वनस्पतिलाई विलियम रोक्सवर्गले पहिलो पटक पहिचान गरी प्लान्ट्स अफ द कोष्ट अफ कोरोमाण्डल भन्ने पुस्तकमा सन् १७९५ मा प्रकाशित गरेका थिए । रोक्सवर्गले कोरोमेन्डल कोष्टबाट यो वनस्पति संकलन भएको उल्लेख गरेका छन् जुन भू-भाग भारतको दक्षिणपूर्व समुद्री तटमा बंगालको खाडी र पूर्वी घाट बीचमा पर्छ। शुरुमा रोक्सवर्गले यसको नाम Limodorum Aphyllum राखेका थिए तर पछि यसलाई वर्गसँग मिल्ने भएकोले यसको नाम राखे अर्का वनस्पतिशास्त्री फिस्चरले। यो वनस्पतिशास्त्रमा सामान्य प्रचलन हो ।
यो वनस्पति प्रायः सुनाखरी परिवारका अन्य सदस्यहरु जस्तै अरु वनस्पतिहरुको सहारामा (Epiphyte) हुर्कन्छ । यो नेपाल बाहेक भुटान, वर्मा, चीन, थाइल्याण्ड, लाउस, कम्वोडिया, भियतनाम र मलेसियामा पाइन्छ । सामान्यतया १०० मिटरदेखि १६०० मिटरसम्मको उष्ण भू-भागमा यसलाई पाइएको छ । यसलाई कतिपय ठाउँमा हरितगृहभित्र खेती पनि गरिएको हुन्छ ।
Like & Follow us on Facebook
यसको फूल आर्कषक हुने भएकोले सजावटको लागि प्रयोग गरिन्छ । सुनाखरी परिवारको सम्पूर्ण वनस्पतिहरुलाई साइटिस सन्धिको अनुसूचिमा र यसलाई अनुसूचि दुईमा राखिएकोले यसको व्यापार गर्न पाइँदैन । यो वैशाखको आगमनसँगै सलहेश फूलबारीमा फुल्दछ । यसको साथै केहि वर्ष यतादेखि बैशाख आगमन साथै गोविन्दपुर मलहनमा साविकको गा. वि. स. को मानिकदह मलहन्मामा पनि यो फूल फूल्दै आँउदै गरेको पाइन्छ ।