विज्ञान जिज्ञासा

साइबर अपराध (Cyber Crime) भनेको के हो ?

विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कको प्रयोग गरेर हुने कुनै पनि किसिमका आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ । सामान्य अर्थमा भन्नुपर्दा कानुनद्वारा निषेधित कम्प्युटरसम्वन्धीत दुरुपयोग वा अपराधहरू नै साइबर अपराध हो । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याडउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।

नेपालको विद्युतीय कारोबार ऐन-२०६३ ले “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर” भनी परिभाषा गरेको छ । कम्प्युटर प्रविधिको प्रयोगमार्फत गरिने कुनै पनि आपराधिक क्रियाकलापलाई प्रहरीले साइबर क्राइमअन्र्तगत छुट्टै कारबाही चलाउँछ । फेसबुक, ट्विटर आदिमा हुने अपराध पनि यसैभित्र समेटिन्छन् । हामीलाई सामान्य र रमाइलो लाग्ने कतिपय गतिविधि सामाजिक सञ्जालमा वर्जित छ । कम्प्युटरलाई माध्यमको रूपमा प्रयोग गरेर गरिने साइबर अपराधहरू यस प्रकार छन् :

१.    समाजमा विकृति फैलाउने अश्लील तथा यौन जन्य सामग्रीहरू कम्प्युटर वा कुनै पनि माध्यमबाट इन्टरनेटमा प्रसारण, प्रकाशन, वितरण गर्ने क्रियाकलाप ।

२.    इन्टरनेटमा अर्को व्यक्तिको गतिविधिलाई निगरानी गरेर धम्कीपूर्ण सूचना पठाउनु ।

३.    मोबाइलमार्फत धम्कीपूर्ण एसएमएस पठाउने तथा एसएमएसमार्फत जुवा, लट्री सञ्चालन गर्ने ।

४.    धोखाधडी, क्रेडिट कार्ड जालसाजी अवैध रूपमा मुद्राको कारोबार आदिजस्ता कार्यहरू ।

५.    प्रतिबन्धित लागूपदार्थ, हातहतियार तथा संरक्षित वन्यजन्तुको अङ्ग, छालाहरू जस्ता सामग्रीहरूको खरिद बिक्री वा विज्ञापन इन्टरनेटको माध्यमबाट गर्नु ।

६.    सफ्टवेयरको अनधिकृत रूपबाट प्रतिलिपि बनाउनु, अरूको ट्रेडमार्क चोरी गर्नु आदि

७.    अन्य व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले वेबसाइट, सामाजिक सञ्जाल तथा इमेलको माध्यमद्वारा दुष्प्रचार गर्नु ।

८.    अरूको इमेल ठेगानामा ठूलो सङ्ख्यामा इमेलहरू पठाएर पीडितको इमेलखाता वा मेल सर्भरमा नै अवरोध खडा गर्ने ।

९.    यस्तो अपराधअन्तर्गत कसैले कुनै एउटा बैङ्कको सम्पूर्ण सूचना रहेको मुख्य कम्प्युटरभित्र कम्प्युटर नेटवर्कको माध्यमद्वारा अनधिकृत रूपमा प्रवेश गरेर बैङ्कको खाताहरूबाट थोरै थोरै रकम आफ्नो खातामा जम्मा गर्ने क्रियाकलापहरू ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!