राजनीतिराष्ट्रिय व्यक्तित्व

को हुन् नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री बन्ने डोरमणि पौडेल ?

प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेलको जीवनी

जन्म र पृष्ठभूमि

काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा २००२ साल चैत १५ गते जन्मनुभएका पौडेल हेटौंडा उपमहानगरपालिका–११, नवलपुरका स्थायी बासिन्दा हुनुहुन्छ । मायानाथ पौडेल र कुलकुमारी पौडेलका २ छोरामध्ये डोरमणि जेठा हुनुहुन्छ । उहाँका ५ दिदीबहिनी हुनुहुन्छ । बिजयलक्ष्मी पौडेलसंग बैबाहिक सम्वन्धमा बाधिनु भएका डोरमणिका प्रदिप पौडेल, नविन पौडेल र सुशिल पौडेल ३ जना छोराहरु हुनुहुन्छ । जेठा छोरा प्रदिप पौडेल काष्ठ उधोग संचालक, महिला नविन पौडेल संगम पब्लिकेशन संचालक तथा कान्छा सुशील पौडेल स्कुल संचालक हुनुहुन्छ ।

विकासका योजनाकार पौडेल २०४९ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयरमा निर्वाचत हुनुभयो । एक दशक मेयर बनेर काम गरेका उहाँलाई अबको पाँच वर्ष प्रदेश नम्बर ३ मुख्यमन्त्री बन्ने अवसर मिलेको छ । २०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लाग्नु भएको थियो । पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि पर्नुभयो । पौडेल एमालेभित्र सधैं केपी ओलीनिकट रहेर काम गरेका नेता हुन् । प्रदेश ३ को मुख्यमन्त्री बनेका पौ‌डेल नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री पनि हुन् सफल भएका छन् ।

शिक्षा

उहाँले प्रारम्भिक शिक्षा  फर्पिङको त्रिभुवन आदर्श बोर्डिङ स्कुलबाट लिनु भएको थियो । उहाँले मानविकी संकायमा स्नातक तहसम्मको शिक्षा हासिल गर्नु भएको छ ।

राजनीतिक यात्रा

२०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उहाँ २०३६ देखि पार्टी राजनीतिमा सक्रिय भएका हुनु भएको थियो । एमाले मकवानपुरका पूर्वजिल्ला सदस्य रहनु भएको उहाँ हाल पार्टी ३ नम्बर प्रदेश कमिटी सदस्य हुनुहुन्छ । पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर बन्नु भयो । उहाँकै पालामा हेटौंडा मुलुककै नमूना नगरपालिका बन्यो । उहाँ २०५४ सालदेखि नेपाल नगरपालिकाका संघको अध्यक्ष पनि हुनुहुन्छ ।

पौडेल ३ नम्बर प्रदेशसभाका ज्येष्ठ सदस्य हुनुहुन्छ । ज्येष्ठ सदस्यको हैसियतमा उहाँले प्रदेशसभा पहिलो बैठकको अध्यक्षता गर्दै सभामुखको भूमिका निर्वाह गर्नुभयो । आफ्ना कुरा प्रस्ट राख्ने पौडेलले जुनसुकै हालतमा पनि हेटौंडालाई यो प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने तर्क गर्दै आउनु भएको छ । उहाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सदस्यमा निर्वाचित हुनु भएको हो ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई चुनाव हराएर मुख्यमन्त्रीको बागडोर सम्हाल्न लागेका डोरमणि पौडेल एमालेभित्र होचो राजनीतिक कदका अग्ला नेता मानिनुहुन्छ । जसरी उहाँको उचाई र उमेरलाई अग्लो मान्न सकिन्छ, त्यसरी नै दिएको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पनि कहिल्यै असफल नहुने अग्ला नेता देखिनुहुन्छ ।

पार्टीमा उहाँ केन्द्रीय कमिटी सदस्यसम्म पनि हुनुभएको छैन तर जनप्रतिनिधिका रुपमा सफल नेताको परिचय स्थापित गर्नु भएको छ । उहाँको क्षमतामा शंका नभएरै एमालेको संस्थापन पक्षले मुख्यमन्त्रीका रुपमा अगाडि सारेको बुझ्न सकिन्छ ।

डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ । यसअघि पौडेललाई मुख्यमन्त्री बनाउन एमालेको सिफारिस र माओवादीको समर्थनपत्र प्रदेश प्रमुख कोइरालालाई बुझाइएको थियो । उहाँ नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री पनि बन्नुभएको छ । नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धनले सरकार गठनको दावी गरे अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

एमाले संसदीय दलका नेता पौडेलले एमालेका ५८ सांसदको हस्ताक्षर सहितको पत्र र माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कटेलको समर्थनपत्र दिउँसो साढे १ बजे प्रदेश प्रमुख कार्यालयमा बुझाएका थिए। नवनियुक्त मुख्यमन्त्री पौडेललाई प्रदेशप्रमुख कोइरालाले प्रदेश प्रमुखको कार्यालयमा सोमबार माघ २९ गते बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ गराएको थियो ।

सरकारी तथा अन्य सेवा

भूमिसुधार कार्यालय दाङ र त्यसपछि सडक विभागमा खरदार भएर केही वर्ष सरकारी जागिरे भएका उहाँ केही वर्ष शिक्षण पेसामा लाग्नु भएको थियो । उहाँले हेटौंडाको नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा २०३२ देखि १० वर्षसम्म पढाउनु भएको थियो । शिक्षक हुँदा उहाँनेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध हुनुहुन्थ्यो ।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसक्नु भएका पौडेल, स्थानीय सरकार तथा सहरहरुको विश्व संस्था (युसिएलजी) का एसिया प्यासिफिक उपाध्यक्ष, सिटीनेटका कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष, सहिद स्मारक विकास समितिको अध्यक्ष समेत हुनुहुन्छ ।

जेल जीवन

उहाँ पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि पर्नु भयो । राजनीतिक मुद्दामा चार पटक कैद सजाय र १८ पटक प्रहरी हिरासतमा पर्नु भएको छ । लामो समय अर्धभूमिगत र भूमिगत बिताउनु भएको थियो । उहाँको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालीन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा बस्नु भएको थियो ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!