कृषिलेखहरुविचार-विश्‍लेषण

नेपालको कृषि विकासमा विज्ञान र प्रविधि

Rajeshman KC
राजेशमान के.सी

नेपालको कृषि विकासमा विज्ञान प्रविधि । कुनै पनि मुलुकको समग्र विकासका लागि विज्ञानप्रविधिको विकास हुनु अति नै आवश्यक मानिन्छ । विज्ञान प्रविधिले कुनै पनि मुलुकको सामाजिक एवम् आर्थिक विकासमा अहम् भूमिका निर्वाह गरेको हुन्छ । केही दशकदेखि विज्ञानप्रविधिको समुचित विकास र प्रयोगले विश्वका धेरै मुलुक आफ्नो प्राकृतिक र मानवीय स्रोतहरूको अधिकतम उपयोगद्वारा जनताको जीवनस्तर माथि उकास्दै उन्नतिको शिखरमा पुग्न पूर्ण सफल भएका छन् ।

टाढाको कुरा नगरौं, हाम्रै दुइ छिमेकी मुलुक चीन र भारत पनि आज विज्ञान प्रविधिको यथोचित प्रयोगद्वारा सामाजिक तथा आर्थिक विकासको दिशामा प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेका छन् । त्यसैले हामीले पनि आफ्नो देशको उन्नतिका लागि विज्ञानप्रविधिको विकासमा यथेष्ट ध्यान दिनुपर्ने खाँचो देखिएको छ । हाम्रो देशमा पनि संविधानसभाको निर्वाचनपछि नयाँ नेपाल निर्माणको प्रसङ्ग उठिरहेका बेलामा समयको माग र आवश्यकतासँगै विज्ञान र प्रविधिको पनि विकास गरी यसलाई उचित प्रयोग गर्न सकिएको खण्डमा नै नेपाल र नेपाली जनताको आर्थिक र सामाजिक जीवनस्तर उकास्ने कार्यमा महत्वपूर्ण टेवा पुग्न जाने निर्विवाद छ ।

विज्ञानप्रविधि क्षेत्रको यति व्यापक महत्व र भूमिका रहँदारहँदै र जनताको आर्थिक-सामाजिक जीवनस्तर उकास्न गहन योगदान पुर्याउन सक्ने स्पष्ट हुँदाहुँदै राज्यबाट यसले उचित प्राथमिकता भने पाउन सकेको छैन । फलस्वरूप गम्भीर समस्याका रूपमा रहेको गरिबी न्यूनीकरण गर्न एवम् जनताको आर्थिकस्तर उकास्न नेपालले विज्ञानप्रविधिको अधिकतम् र समुचित उपयोग गर्न सकिरहेको छैन । जबकि विज्ञानप्रविधिको समुचित विकासले नै गरीबी निवारण गर्न, कृषि व्यवसायको आधुनिकीकरण गरी जनताको जीवनस्तर माथि उकास्न र वातावरणीय विनाशलाई रोक्न वा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग भइसकेको छ । हुन त विगत केही दशकयता नेपालले विज्ञानप्रविधिको क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

विज्ञान प्रविधिसँग सम्बन्धित केही राष्ट्रियस्तरका सङ्घसंस्थाहरू स्थापना भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)द्वारा प्रकाशित एक आधिकारिक विवरणअनुसार हाल नेपालमा विज्ञानप्रविधि क्षेत्रमा संलग्न जनशक्तिको सङ्ख्या २८ हजार १ सय ३४ छ । त्यसमध्ये पुरुष ८५ र महिला १५ प्रतिशत रहेका छन् । त्यस्तै केही वर्षयता विज्ञान प्रविधिसम्बन्धी अध्ययन संस्थाहरूमा विद्यार्थीको भर्ना सङ्ख्या जुन अनुपातमा बढेको छ, त्यसरी नै विभिन्न प्राविधिक शिक्षणसंस्थाको स्थापना गर्ने क्रम पनि बढिरहेको छ । यसबाट पनि विज्ञान प्रविधिसम्बन्धी जनशक्तिको विकास सङ्ख्यात्मक र गुणात्मक दुवै रूपमा उपलब्धिमूलक ढङ्गले अघि बढेको अनुमान गर्न सकिन्छ । विज्ञानप्रविधिको महइभ्व यस क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी र अभिभावकवर्गको यसप्रति बढ्दो अभिरुचिबाट पनि स्पष्ट बुझ्न सकिन्छ ।

विज्ञान र प्रविधिसम्बन्धी अध्ययन अनुसन्धान छोटो वा अल्प समयमै पूरा हुने कुरा होइन । यसका लागि निकै लामो समय, श्रम र लगानीको आवश्यकता पर्छ । त्यसमाथि विज्ञानप्रविधिको क्षेत्रमा राज्यले गर्ने लगानी अत्यन्त न्यून रहेको धारणा कतिपय बुद्धिजीवीको छ । तर, एउटा यथार्थ र व्यावहारिक कुराचाहिँ नेपालजस्तो गरीब मुलुकले आफ्नो राष्ट्रिय बजेटको ठूलो अंश विज्ञानप्रविधिको क्षेत्रमा मात्र छुट्टयाउन सक्तैन । त्यसैले यसका लागि सामान्य नेपाली जनताको आधारभूत आवश्यकीय वस्तु परिपूर्ति गरी उनीहरूको जीवनस्तर माथि उकास्न सघाउ पुग्ने क्षेत्रहरू जस्तैः कृषि र कृषिमा आधारित आधुनिक उपकरण, जैविक प्रविधिको संरक्षण र विकास, वन र वनस्पतिजन्य औषधिको पहिचान एवम् प्रशोधन । यस्तै वैकल्पिक ऊर्जास्रोत जस्तैः सौर्य ऊर्जा, वायु ऊर्जा, बायो ग्यासजस्ता क्षेत्रमा केन्द्रित रहेर लगानी बढाउन सकियो भने देशको सामाजिक-आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने ठहर विज्ञहरूको रहेको छ ।

अर्को महत्वपूर्ण पक्ष के हो भने हाम्रो अर्थ व्यवस्था कृषिमा आधारित छ । त्यसैले हाम्रोजस्तो कृषिप्रधान मुलुकमा कृषि पैदावार बढाउने र यसमा आधारित उद्योगधन्दाको खाँचो हुन्छ । यसर्थ पशुपालन, उन्नत नश्ल, माटोको उर्वराशक्तिको अध्ययन विश्लेषण, उन्नत बीउबिजन, खनिज पदार्थको अन्वेषण, वन पैदावार, जडीबुटीको प्रशोधन, सिँचाइ, खानेपानी, भौगोलिक वा भू-रासायनिक सर्वेक्षण, मौसमी जानकारी, जलस्रोतको उपयोग एवम् वैकल्पिक ऊर्जा विकासजस्ता कुराहरूमा सुहाउँदो प्रविधिलाई प्राथमिकता दिनु अत्यावश्यक छ । नेपालको सन्दर्भमा भन्नुपर्दा कृषिक्षेत्रलाई आधुनिकीकरण गर्नु तथा वैज्ञानिक कृषिप्रणालीलाई बढी महत्व दिनु आवश्यक हुन्छ । त्यसका लागि स्थानीय कच्चा पदार्थलाई नै अधिकतम प्रयोग गर्न सकिने किसिमको निर्माण प्रविधिलाई बढावा दिनुपर्छ ।

त्यसपछि वैकल्पिक ऊर्जास्रोत जस्तैः सौर्य शक्तिलाई अधिकतम उपयोग गर्ने, प्रशोधन वा अर्धप्रशोधन, चिस्याउने, सुकाउने, संरक्षण गर्नेजस्ता विज्ञानप्रविधिको माध्यमबाट गर्नुपर्ने कार्यलाई पनि हामीले प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ । त्यस्तै वर्तमान समयलाई सूचनाप्रविधिको युग पनि भनिन्छ । साँच्चै भन्ने हो भने विश्वमा एक प्रकारको नयाँ क्रान्ति नै ल्याएको छ सूचनाप्रविधिले । सूचनाप्रविधिको विकासले नै आज सिङ्गो मुलुक एउटा सानो गाउँमा परिणत भएको छ र हामी घरको एउटा सानो कोठामा बसेर विश्वका कुनाकुनामा सन्देश आदानप्रदान गर्न र विश्व गतिविधि हेर्न र बुझ्न समर्थ भएका छौं । त्यसैले सूचनाप्रविधिको यो व्यापकतालाई हृदयङ्गम गरी हामीले विज्ञानप्रविधिको माध्यमबाट मुलुकको समग्र विकासका लागि यस क्षेत्रको अधिकतम उपयोगतर्फ यथोचित् ध्यान पुर्याउनु अत्यावश्यक देखिन्छ । खासगरी मुलुकमा विद्युतीय शासनपद्धतिलाई प्रभावकारी रूपमा लागू गर्न विज्ञानप्रविधिको प्रयोग आवश्यक मात्र नभई अपरिहार्य नै देखिन्छ ।

निश्चित रूपमा विज्ञान र प्रविधिको विकासले विश्वमा मानवीय जीवन सरल र सहज बन्दै गएको छ । मानिसको भौतिक सुविधामा वृद्धि हुनुका साथै जीवनशैली परिवर्तन हुनुमा समेत विज्ञानप्रविधिको देन महत्वपूर्ण रहेको छ । यसरी विज्ञानप्रविधिको चामत्कारिक विकासले एकातिर विश्वमा मानव जीवनशैलीमा नै कायापलट भएको छ भने अर्कोतिर भोक, रोग, गरीबी र पछौटेपनजस्ता विसङ्गति र अकाल मृत्युजस्तो त्रासदी बेहोर्नु परेको अवस्था पनि हाम्रासामु विद्यमान छ । त्यसो त खाद्यान्न, लत्ताकपडा, आवास, शिक्षा एवम् स्वास्थ्यजस्ता नेपाली जनताका आधारभूत मानवीय आवश्यकता पूरा गर्न विज्ञान र प्रविधियुक्त सीप, कौशल र जनशक्तिको भूमिका महत्वपूर्ण रहन्छ ।

त्यसैले उन्नत प्रविधिको हस्तान्तरण, आर्थिक स्रोतको व्यवस्थित परिचालन तथा नयाँ अन्तरराष्ट्रिय व्यवस्थाका माग वास्तवमा विज्ञान एवम् प्रविधिको पृष्ठभूमिको सन्दर्भमा सोच्नुपर्ने कुरा हुन् । तथापि नेपालजस्तो अल्पविकसित मुलुकको हकमा भने हाम्रो आफ्नै स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी विज्ञानप्रविधिको विकासद्वारा नयाँ नेपाल निर्माणतर्फ अग्रसर हुनुपर्ने खाँचो देखिएको छ । यहाँ उल्लेख गर्नैपर्ने एउटा महत्वपूर्ण कुरा के पनि छ भने हाम्रोजस्तो भौगोलिक विकटता र प्राकृतिक विविधता भएको मुलुकमा विश्वबजारबाट आयातित सबै प्रविधि उपयुक्त र उपलब्धिमूलक हुन्छ भन्न सकिँदैन । तिनलाई मुलुकको भौगोलिक स्थिति र वातावरण सुहाउँदो किसिमले परिवर्तन एवम् परियोजनापरक बनाउनु आवश्यक हुन्छ । जुन राष्ट्रको विज्ञान र प्रविधिको क्षमतामा नै निर्भर रहने कुराहरू हुन् ।

विज्ञानप्रविधिको सन्दर्भमा चर्चा गर्दा उल्लेख गर्नैपर्ने कुरा के पनि हो भने विज्ञानप्रविधिसम्बन्धी विकास, खोज, अनुसन्धान र प्रवर्द्धनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)  को स्थापना २०३९ साल मङ्सिर २० गते भएको हो । नाष्टको मुख्य उद्देश्य मुलुकमा विज्ञान तथा प्रविधिको विकासका निमित्त उपयुक्त वातावरणको सिर्जना गर्ने, राष्ट्रका लागि आवश्यक विज्ञान तथा प्रविधिसम्बन्धी नीति तथा योजना तर्जुमा गर्ने र वैज्ञानिक तथा प्राविधिक क्षमताको अभिवृद्धिमा उत्प्रेरकको भूमिका निर्वाह गर्ने रहेका छन् । नाष्टका गतिविधि मुख्यतः विज्ञानप्रविधिसम्बन्धी क्षेत्रकै अध्ययन र अनुसन्धानमा केन्द्रित छन् । नाष्टद्वारा सञ्चालित यस्ता अनुसन्धानमूलक गतिविधिहरूमा वैकल्पिक ऊर्जा जस्तैः सौर्य ऊर्जा, वायु ऊर्जा, हरित ऊर्जा, बायोग्यास आदि, औषधिजन्य वनस्पति, खेतबारीमा माटो मलिलो बनाउन प्रयोग गर्न सकिने एक किसिमको ढुसी (माइकोराइजा) आदि रहेका छन् । यसका अतिरिक्त ग्रामीण समुदायका लागि उपयुक्त हुने स्थानीय प्रविधिको विकार्सतर्फ पनि यसको अध्ययन अनुसन्धान केन्द्रित छ ।

यस संस्थाले अहिले क्यान्सरजस्तो घातक रोगको उपचारमा अत्यन्त उपयोगी मानिएको वनस्पति टयाक्सल अर्थात् लोठसल्लाबाट औषधि उत्पादन गर्ने कार्यसम्बन्धी अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । नाष्ट मूलतः सरकारी अनुदानमा चल्ने संस्था हो । तापनि वैज्ञानिक समुदायमा यो प्रतिष्ठान स्वशासित संस्थाकै रूपमा चिनिन्छ । खासगरी यसले अनावश्यक प्रचारमुखी कार्यक्रममा समय र पैसा खर्चनुभन्दा वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि हस्तान्तरणमै बढी जोड दिनु उपयुक्त हुने धारणा बुद्धिजीवीहरूमा पाइएको छ ।

समग्रमा भन्नु पर्दा देशमा विद्यमान गरीबी, बेरोजगारी र दक्ष जनशक्तिको अभावलाई अन्त्य गरी सामाजिक-आर्थिक विकासका गतिविधिहरूलाई अपेक्षित रूपमा अघि बढाउनुका साथै कृषि व्यवसायलाई आधुनिकीकरण एवम् व्यवसायीकरण गर्न समेत विज्ञान प्रविधिको विकार्सतर्फ राज्यको ध्यान पुग्नु आवश्यक मात्र होइन अपरिहार्य नै देखिन्छ ।

लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा प्रवर्द्धन अधिकृतमा रुपमा काम गरेका थिए ।

साभार : राजेशमान के.सी.,  आर्थिक अभियान 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!