खानपानलेखहरुविचार-विश्‍लेषणस्वास्थ्य

स्वास्थ्यको लागि शाकाहारी भोजन

स्वास्थ्यको लागि शाकाहारी भोजन। हामी जस्तो खानपीन गर्छौं त्यस्तै असर हाम्रो शरीर र मन मस्तिष्कमा पर्ने गर्दछ । यही कारणले गर्दा सामान्यतः शाकाहारी व्यक्तिहरू सरल, शान्त र विनम्र स्वभावका हुन्छन् भने मांसाहारी अलिक हिंस्रक, क्रुर र झगडालु स्वभावको हुने गरेको पाइन्छ । केही समय अघि भारतमा अनुसन्धानकर्ताद्धय डा. जस सिंह र सि.से. खवासले ग्वालियर जेलका ४०० कैदीहरूमा गरेको एउटा संयुक्त सर्वेक्षणबाट २५० मांसाहारीमध्ये ८५ प्रतिशत क्रुर, झगडालु र मानसिक तनावग्रस्त तथा बाँकी १५० जना शाकाहारीहरूमध्ये अधिकांश कैदीहरू सरल र मिलनसार स्वभावका भएको तथ्य पत्ता लगाएका थिए ।

त्यसो त मासुमा प्रचुर मात्रामा पोषक तत्व पाइने भएको हुँदा शरीरलाई बलियो र ह्रष्टपुष्ट तुल्याउन यसको सेवन प्रशस्त मात्रामा गर्नुपर्छ भन्ने आम धारणा नै रहेको पाइन्छ । यो धारणा कुनै पनि अर्थमा युक्तिसङ्गत देखिँदैन । किनकि मांसाहारबाट जति पोषक तत्व पाइन्छ त्यो भन्दा कैयौँ गुणा बढी पोषक तत्व भट्मास, दाल, मटरकोसा जस्ता गेडागुडीहरूबाट पाउन सकिन्छ । एक रासायनिक विश्लेषणबाट पत्ता लागे अनुसार १०० ग्राम कुखुराको मासुबाट ११४ ग्राम क्यालोरी र अण्डाबाट १६० ग्राम क्यालोरी प्राप्त हुन्छ भने दलहनबाट ३३० ग्राम, दूध र पनीरबाट ३५० ग्राम तथा बदामबाट ४०० ग्रामसम्म क्यालोरी प्राप्त गर्न सकिन्छ । यस्तै १०० ग्राम अण्डाबाट १३ ग्राम प्रोटिन प्राप्त हुन्छ । जबकि पनीरबाट २४ ग्राम, बदामबाट ३१ ग्राम र अझ दूधबाट त्यो भन्दा पनि बढी प्रोटिन पाउन सकिन्छ । यसको बिपरित १०० ग्राम कुखुराको मासु र अण्डामा कोलेष्ट्रोलको मात्रा क्रमशः ६० र ५५ प्रतिशतसम्म रहेको हुन्छ जुन मुटुको रोग निम्त्याउने प्रमुख कारकतत्व मानिन्छ । त्यसमा पनि बजारमा खुला रूपले बिक्रीको लागि राखिएको रातो रङ्गको देखिने राँगा भैँसीको मासुको सेवनबाट क्यान्सर जस्तो घातक रोग उत्पन्न हुने प्रवल सम्भावना रहेको कुरा स्वास्थ्य विशेषज्ञहरू बताउने गर्दछन् ।

विशेषज्ञहरूका अनुसार मांसाहार गर्ने व्यक्तिहरूलाई अनावश्यक मोटोपन, पिसाबसम्बन्धी रोग र छारे रोगका साथै मस्तिष्कमा ट्यूमर हुने सम्भावना पनि रहन्छ । स्मरण रहोस् ेजुनोसिस े नामक रोग मांसाहारकै कारण उत्पन्न हुने रोग हो । अर्को कुरा नेपालको कुनै पनि भागमा पशुपंक्षी काट्नुभन्दा पहिले ती पशुपंक्षीमा रोग छ कि छैन भनी परीक्षण गर्ने गरेको पाइँदैन । थुप्रै छारा र रोगी राँगा-भैँसीहरू काठमाडौँमा भित्र्याइने गरिन्छ । कतिपय यस्ता राँगा-भैँसीहरू त बाटोमै मर्ने गरेको समेत बेलाबखत सुन्ने गरिएको छ । फेरि मासुको लागि बध गरिँदा पशुपंक्षीहरू अत्यन्त तड्पिने र भयभीत हुने भएकाले तिनीहरूको रक्तप्रवाहमा पनि एक किसिमको विषाणु उत्पन्न हुन पूग्दछ जुन मांसाहारको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । त्यस्तै मासु चाँडै सड्ने खालको खाद्य पदार्थ भएको हुँदा यसमा विभिन्न हानिकारक जीवाणुहरूले हुर्कने मौका पाउंछन् जुन विभिन्न घातक रोगहरूको प्रमुख कारण बन्न पुग्दछ ।

अर्को तर्फ शाकाहारी भोजन मांसाहारीको तुलनामा अधिक गुणकारी, सात्विक र सुपाच्य हुन्छ । त्यसो त आर्थिक दृष्टिले पनि अपेक्षाकृति सस्तो र सुलभ मानिने शाकाहारी भोजनमा खनीज तत्त्व, भिटामिन, फलाम एबं् क्यालोरी पर्याप्त मात्रामा पाइन्छ । जसले शरीरलाई चुस्त र निरोगी राख्न निकै ठूलो मद्दत पुर्याउँछ । खासगरी शाकाहारी भोजनमा भिटामीन ‘सी’ प्रचुर मात्रामा पाइने भएको हुँदा यसले हाम्रो शरीरमा कोलेष्ट्रोलको अनावश्यक बृद्धिलाई नियन्त्रण गरी मुटुको रोगबाट बचाउँछ । यसमा फाइबर एबं् रेसा हुने भएकोले क्यान्सरजस्तो भयानक रोगबाट पनि धेरै हदसम्म बच्न सकिन्छ । पित्तासयमा पत्थरीको शिकायत पनि शाकाहारीमा कम हुने गरेको पाइएको छ । त्यस्तै दीर्घजीवी भएर बाँच्नेहरूमा पनि शाकाहारी ब्यक्तिहरूकै सङ्ख्या बढी देखिन्छ । सामान्यतया शाकाहारी व्यक्तिहरू म्ांासाहारीको तुलनामा १५ वर्ष बढी बाँच्ने विभिन्न अध्ययनहरूबाट थाहा हुन आएको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार भोजनमा भिटामीन, कार्वोहाइड्रेट, सागपात, सलाद तथा एकदलीय अनाज आदि पर्याप्त मात्रामा समाविष्ट भयो भने मस्तिष्कमा सेरोटिननको मात्रा बढ्न जान्छ जसको प्रत्यक्ष प्रभावबाट हाम्रो मस्तिष्क शान्त हुन पुग्छ । तर माछा-मासु, अण्डा आदि जस्ता उच्च प्रोटिनयुक्त भोजनमा ‘टि्रष्टोफन’ नामक एमिनो एसिड नपाइने भएको हुँदा यस्तो भोजनको सेवनले मस्तिष्कमा सेरोटिनन्को मात्रामा कमी हुन जान्छ जसले गर्दा मानसिक र शारीरिक गडबढी उत्पन्न हुन गई मानिसको आयुमा समेत ह्रास आउन थाल्छ ।

त्यसो त मानव शरीरको आन्तरिक संरचना पनि मांसाहार अनुकूलको देखिँदैन । जस्तो मानिसको पाचनक्रिया मुखबाट शुरू भएको छ जबकि मांसाहारी जीवको पाचनक्रिया आमाशयबाट सुरू हुन्छ । त्यस्तै शाकाहारी भोजनमा कार्बोहाइड्रेटको मात्रा पर्याप्त हुने भएकोले हाम्रो मुखभित्रको र्‍याल क्षारीय हुन्छ जबकि मांसाहारीको र्‍याल अम्लीय हुन्छ जसले मासुलाई गलाउन मद्धत गर्दछ । मांसाहारी जीव साधारणतया दाह्रायुक्त एवं हिंस्रक मनोबृत्तिका हुने गर्दछन् जबकि मानिसको तीखो दाह्रा हुँदैन । यसै सन्दर्भमा अमेरिकाका एकजना वैज्ञानिक वर्ग स्टार्कको भनाई पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक हुने देखिन्छ । उनी भन्छन् – अमेरिकामा मासु उपलव्ध गर्नका लागि प्रतिवर्ष जति खाद्यान्न वा अनाज पशुपंक्षीहरूलाई खुवाइन्छ त्यसले विश्वका झण्डै आधा जनसङ्ख्याको पेट भर्न सकिन्छ । अब फैसला आफैँ गर्नुस् तपाईं मांसाहारी बन्ने कि शाकाहारी? अनि जुन खानेकुरा खाँदा तपाईंको स्वास्थ्यमा दीर्घकालीन फाइदा पुग्छ, त्यही कुरालाई मीठो मान्नु बुद्धिमानी हुन्छ हैन र? त्यसैले छनौट तपाईं आफैँ गर्नुहोस् माछा-मासु मीठो कि मुला मटरकोसा? जय साइराम ।

पृथ्वीमा रहेका मानिस लगायत सबै जीवजन्तु र पशुपंक्षीहरू प्रकृतिका अनुपम उपहार हुन । सृष्टिका अमूल्य रचना हुन । त्यसैले मानिसलाई जस्तै सबै प्राणीलाई बांच्ने समान अधिकार हुन्छ । फेरि कुनै प्राणीलाई यदि हामी जीवन दिन सक्तैनौँ भने उसको जीवन लिने अधिकार पनि त हामीलाई हुँदैन । जीव वैज्ञानिकहरूले पनि भन्ने गरेका छन् कि पृथ्वी मानिसको मात्र पेवा नभई सबै जीवजन्तु र पशुपंक्षीहरूको साझा थलो हो । जैविक विविधताको दृष्टिकोणले समेत यस्ता जीवजन्तुहरूको संहार होइन बरू संरक्षणको आवश्यकता छ । त्यसैले विभिन्न चाडपर्व र परम्पराको नाममा गरिने पशुबली र मांसाहारलाई अब हामीले आध्यात्मिक, वैज्ञानिक र स्वास्थ्यको दृष्टिकोणले समेत विस्थापित गर्दै जानुपर्ने खाँचो देखिएको छ ।

साभार : राजेशमान के.सी.,  एनआरएनए साउदी अरब

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!