हरिभक्तेको यात्रा
हरिभक्तेको यात्रा
खुकुरी उध्याईरहेको बेला,
चट्याङको पीडा बोकेर
सबेरै मुग्लान पस्यो।
राइटर काका झैँ
बहादुरी देखाउने सपना उम्रन नसकेपछि,
उ जीवन यात्रामा निस्क्यो।
सिसिफसको दैनिकी जस्तो,
आफ्नो सीप दोहोर्याइ रहेछ,
निरस र निर्दयी मुग्लानमा।
र बारुद झैँ पड्कने शाहस थामेर
अमूक कवि बनेको छ अहिले।
न उ रमाउँन सकेको छ,
न बेरमाउँन।
निरन्तर यात्रामा,
अघिका सहपाठी सम्झदो हो।
खड्ग प्रसाद, नरनाथ, धर्मराज,
शंकर, मनमोहन र अन्य
के गर्दै होलान् ?
गाँउकी
जून्किरी, बचमाई, बुल्लु
भगेरी, टोमा, देउकी, झ्याप्पी, काली …….
अनुत्तरित अनुहार बनाउँदै
स्टाटसमा लेख्छ।
खबरदार!
मेरो यात्राको रचना कसैले चोर्लान!
हरदिन शोषणमा गुम्सिएको हरिभक्ते
प्रश्न गर्छ,
के जीवन करै करले भरिएको वस्तु हो?
एक्कासी उफ्रन्छ,
हे नेपाल सरकार!
श्रमको पूर्ण अंश मात्र हैन,
मरुभूमिमा खस्ने पसिनाको कर उठाउ,
पीडाले छ्ट्पटिएका घाउहरुको,
बलात्कृत महिलाको आँसुको,
विमानस्थलमा आउने मृत बाकसको,
अबोध बालकको औषधी र दूधमा,
बच्चा जन्मने प्रसय दु:खमा,
अनि विधवाको सिउँदोमा कर उठाउँ
र सबै जोडेर
करै करको महल बनाउ।
सबै कर भुक्तान गर्न
हरिभक्ते मरुभूमिको यात्रामा,
लागिरहेको छ।
द्रष्टव्य: वर्तमान परिवेशको यथार्तपरक नेपाली जनताको समस्या लाई प्रस्तुत गर्न खोजिएको हो। यहाँ भएका अन्य पात्रहरुले देशका मानिसहरुको प्रतिनिधित्व गर्दछन्।
कृष्ण प्रसाईं लेखक, साहित्यकार हुन् ।