घुँडा नटेकौ कसैका सामु
कुनै जूनकिरीको उज्यालोमा देश नखोज !
विहान धरामा झुल्कने सूर्यको प्रतापी ज्योतिमा देश खोज !!१
बरु मन, वचन र कर्मको प्रदीप्त दीयो बालेर देश खोज !
त्यहाँ देश जगमग बनेर तिम्रो हृदय आकाशमा हाँसेको पाउने छौ !!२
सर्व प्रथम त तिमी र हामी कुन देशका नागरिक हौँ ? !
स्वयं हामीले त्यो कुरा अन्तर हृदयबाटै बुझ्नु पर्छ र बुझ !!३
यो मातृभूमिको महिमा कति छ ?!
पहिला हामीले मात्र थाहा पाउनुपर्छ मनन् गर थाहा पाऊँ तिमी स्वयं !!४
यो तेरो र मेरो हो भनेर कहिल्यै पनि भन्दै नभन्नु !
विकास गर्न मात्र सँधै तत्पर बनेर अघि बरु सर्नु !!५
आत्मनिर्भरताको पाठ पहिला आफु पढौँ !
देश बनाऔँ र जनतालाई पढाऔँ हक़ अधिकार दिएर !!६
पराइलाई हाम्रो देश सुन्दर छ भनि हेर्न बोलाऊँ !
समृद्दिको चुलीमा देश पुर्साऔँ र बरु सुन्दरताके बखान गर्न लगाऊँ !!७
देश त हाम्रो हो नि; हामी पो त स्वाभिमानी शिर उठाऔँ, घुँडा नटेकौँ हामी पराइका सामु !
हाम्रो स्वाभिमान नै बन्दकी राखेर न झुकौँ न हामी नै कदापि !!८
यो देश त हाम्रो पो हो त ; देशको गरिमा हामी आफैँले पो राख्नु पर्छ !
पराइसित सम्वन्ध कसरी गाँस्ने र हाम्रो मान हामीले कसरी राख्ने यो कुरा त आफैँले पो बुझ्नु पर्छ !!९
झुक्नु हुन्न नेपाली स्वाभिमान कसैका सामु पराजित बनेर !
बरु झुक्न हुन्छ हाम्रो गौरवमय शिष्टता हामी असल हौँ र छौ भनेर !!१०
हामीले हाम्रो यो सगरमाथा झैँ शिरलाई जोगाउने पाठ पढेर !
यसलाई सजाएर शिरमा हाम्रो स्वाभिमान जोगाउनु पर्छ !!११
विश्व जगतलाई हाम्रो हिमवतखण्डको कथा र देशको महिमा सुनाउनु र बुझाउनु पो बरु पर्छ हामीले !
मानिस हौँ हामी यो देशका; स्वाभिमानी शिर छ सगरमाथाको झैँ हाम्रो सामु; यो शिर नझुक्ने र न झुकाउने कसम पनि हामीले मिलेर खानु पर्छ !!१२
लत्रक्क लत्रेको हिउँको स्वच्छ उपर्ना झैँ हाम्रा असल पन लत्रिए पनि; हामी झुक्न नहुने !
हो कसैका सामु; यो शिर हाम्रो सगरमाथा उठे झैँ पो त जगतका सामु उठाउनु पर्छ !!१३
हाम्रो सगरमाथा झैँ स्वाभिमानी पो छ त यो हाम्रो शिर; यसको मान हामीले राख्नु पर्छ !
जगतका सामु त हाम्रो एकता सद्दभाव र असल कर्म पनि पो गौरवान्वीत र प्रसंसित हुनु पर्छ !!१४
वीर अनि बहादुर हौँ हामी गोर्खाली !
यो देशको शान र मान हामीले जोगाउनु पनि हत्केलामै उचालेरै देश जोगाउनु पर्छ !!१५
*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।