वातावरण

बचाऔं वातावरण

हावा, पानी, माटो, वायुमण्डल, जीव, वनस्पति र खजिन पदार्थहरूको संयुक्त स्वरूप नै वातावरण हो । यिनीहरूको सन्तुलनलाई वातावरणीय सन्तुलन भनिन्छ । पृथ्वीमा रहेका सबै जैविक र अजैविक वस्तुहरूको सन्तुलन बिग्रन नदिनु नै वातावरण संरक्षण हो । मानिसका आवश्यकताहरू परिपूर्ति गर्दा अहिले मात्र नभई भोलिको पुस्ताका निम्ति समेत वातावरण नबिथोलियोस् भनेर नै यसको संरक्षण गर्नुपरेको हो ।

कुनै पनि मानवीय क्रियाकलाप गर्दा वा विकास निर्माण अघि बढाउँदा सम्बन्धित क्षेत्रको वातावरण, प्रकृति, भूगोल, जीवजन्तु वा वनस्पतिलाई नकारात्मक असर पुर्‍याउनु हुँदैन भन्ने सन्देश दिन यो दिवस मनाइन्छ । पृथ्वीको वातावरण खलबल्याइएन भने मात्रै मानिस, अन्य जीव र वनस्पतिहरू सहज तरिकाले बाँच्न सक्छन् ।  उद्योग, कलकारखाना र बढ्दो सवारी साधनलगायतका मानवीय गतिविधिहरू बढेसँगै पृथ्वीका यसका नकारात्मक असर पनि देखिन थालेका छन् ।

मानिसहरूले सुविधा प्रयोग गर्ने क्रममा निष्काशन हुने विकारयुक्त ग्यास र अन्य प्रदूषणका कारण पृथ्वीको वातावरण खलबलिन पुगेको छ । हानिकारक ग्यासले हाम्रो वायुमण्डललाई तताएको छ । हावापानी परिवर्तनको नियमित प्रक्रियामाथि नै असर पुर्‍याएको छ । पृथ्वीको वातावरण बिग्रँदै गयो भने त्यसले मानव जातिलाई मात्र नभई जीवजन्तु र वनस्पतिको जीवनचक्रमै नकारात्मक असर पुग्छ । तिनको बसोबास र जीवनयापन खलबलिन्छ । वातावरण खलबलिएपछि बाढीपहिरो जस्ता प्राकृतिक विपत्ति पनि बढ्छन् ।

  पृथ्वी यहाँ भएका सबै प्राणी र वनस्पतिहरूको साझा घर हो । त्यसैले यहाँको वातावरण खलबलिन नदिन कुनै एक व्यक्ति र राष्ट्रको पहलले मात्रै पुग्दैन । त्यसका लागि संसारभरिका मानिस वातावरणप्रति सचेत हुनुपर्छ । वातावरण संरक्षणमा हरेक मुलुकका बासिन्दा सचेत होऊन् भनेर नै विश्व वातावरण दिवस मनाउन थालिएको हो ।  वातावरण दिवस अरूले जस्तै तिमीहरू पनि विभिन्न तरिकाले मनाउन सक्छौ । मानिसलाई स्वस्थ हुन स्वच्छ हावा आवश्यक पर्छ । स्वच्छ हावाका लागि वरपरको वातावरण पनि सफा हुनुपर्छ ।

प्रशस्त मात्रामा हरिया रूख भयो भने हावा स्वच्छ हुन्छ । त्यसकारण वातावरण दिवसमा आफ्नो वरपर बिरुवा रोप्ने गरिएको हो । वरपरका फोहोर व्यवस्थापन गरियो भने पनि वातावरण स्वच्छ हुन्छ । वातावरण दिवसमा मात्र नभई आफ्नो जन्म दिन, अभिभावकको जन्म दिनजस्ता अवसर पारेर पनि बिरुवा रोप्ने र वातावरणलाई माया गर्ने बानी बसाल्न सकिन्छ । बिरुवा जहाँ पनि रोप्न सकिन्छ । खाली जमिन, विद्यालय परिसर वा सार्वजनिक स्थानमा ।

वातावरण दिवसका दिन मुलुकका विभिन्न स्थानमा सरसफाइ, र्‍याली, वृक्षरोपणजस्ता चेतनामूलक कार्यक्रमहरू गरिन्छन् । सरकार बाहेक वातावरण क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, क्लब र विद्यालयले पनि कार्यक्रमहरू गर्दै आएका छन् । यो वर्ष पनि जनसंख्या तथा वातावरण मन्त्रालयले विद्यालय हाता र सावर्जनिक स्थलमा वृक्षरोपण गर्न सबैलाई अपिल गरेको छ ।  सरकारको यो आग्रहमा हामी सबै सहभागी हुनुपर्छ । जुन धर्ती र वातावरणमा हामी जन्मी–हुर्की बाँचिरहेका छौं त्यसको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको दयित्व हो । त्यसैले पृथ्वीलाई माया गरौं । बिरुवा रोपौं । सरसफाइ गरौं । अरूलाई पनि त्यसै गर्न भनौं ।

साभार : कान्तिपुर कोपिला, जेष्ठ २३, २०७३

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!