विचार-विश्‍लेषणसम्पादकीय

नयाँ नेपाल निर्माणको एउटा सपना

Gopal Bhandari
गोपाल भण्डारी

पृष्ठभूमिः

नयाँ नेपाल निर्माणको एउटा सपना देखिरहँदा म हृदयदेखी सम्झना चाहन्छु तलको राष्ट्रिय गीतलाई एक पटक ।

छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा एउटा मानिस खोजिरहेछु ।

गीतकार तथा संगीतकार बिश्वनाथ वराल प्रेमले रचना र संगीत दिनुभएको तथा गायक शिशिर योगीले गाउँनु भएको राष्ट्रिय भावनाले ओतप्रोत उत्कृष्ट राष्ट्रिय गीत सच्चा देशभक्त नेपालीको नशानशामा रगत संगसंगै बग्छ । यो राष्ट्रिय गीतले देशको राष्ट्रियता, स्वाधीनालाई जोगाउने देशभक्त दुरदर्शी नयाँ राजनीतिक शक्तीलाई हाक्ने साहसी, परम प्रतापी महान मानव नेपालको छोरोको परिकल्पना गरेको छ । जसले शक्ति सत्ता पाउदा पनि त्यसको दुरुपयोग नगरोस, महेन्द्र मल्ल जस्तो अरुको दुखलाई आफ्नै दुख सम्झिीयोस । खाचो छ हाम्रो मातृभुमिलाई राजनेताको । नेपालमा बलियो इच्छाशक्तियुक्त प्रतिबद्ध र जुझारु साहसी राजनीतिक नेतृत्वको आवश्यकता हुन्छ । साच्चै देशको माया गर्ने यौटा महान् युगपुरुष (देशभक्त राजनेता) खोजी रहेछु ।
नेपालको इतिहासलाई फर्केर हेर्दा यो देशमा कुनै पनि शक्तिले आफ्नो सांम्राज्य खडा गर्न सके न कुनै संम्राज्यबादी शक्तिहरूसंग घुडा टेक्न बाध्य हुनुपर्याे । एसियामा कसैको पनि उपनिवेश नभएको दुई देशमध्ये नेपाल र थाइल्याण्ड हो। त्यसैले नेपालको गर्विलो इतिहास विश्वसामु उपस्थित छ । हाम्रो देश नेपालमा अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको खाँचो छ । डा. महाथीर विन मोहम्मद, वाराक ओबामा जस्ता प्रतिभाशाली नेताको जन्म हुनुपर्ने अत्यन्तै आवश्यक छ नेपाल आमालाई । यतिमात्र होइन अल्र्वट आइन्स्टाइन, कार्ल माक्स, विलियम शेक्सपियर, लियोनार्दो दा भिञ्ची, मदर टेरेसा, मेडम क्यूरी, अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको पनि आवश्यक पर्दछ । विश्वका महान् राजनेताहरू महात्मा गान्धी, अव्राहम लिङ्कन र नेल्सन मण्डेलाले आफ्नो देशको लागि दिइएको महत्वपूर्ण योगदानलाई विश्वले अनन्तकालसम्म स्मरण गरिरहने छ ।
ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन् । नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ । देशको भाग्य र भबिष्य निर्माणको लागि नेताको मात्र दोष नभई जनताको पनि उतिकै भूमिका हुन्छ । देशप्रतिको आफ्नो उत्तरदायित्व वोध भएका सच्चा असल नागरिक र राजनेताको खाँचो छ नेपाल आमालाई । प्रत्येक नागरिकमा देशले के दियो भन्दा पनि मैले देशको लागि के दिन सक्छु भन्ने भावनाको उजागर हुनु अत्यन्तै आवश्यक छ । नयाँ नेपाल निर्माणको भावना र सोच सबैमा सशक्त हिसाबले उजागर हुनुपर्छ ।

महान् वैज्ञानिक आन्इस्टाइनका अनुसार ज्ञानभन्दा कल्पनाशक्ति धेरै शक्तिशाली हुन्छ किनकि ज्ञान सीमितछ, तर कल्पनाशक्ति असीमित हुन्छ । महाकवि लक्ष्मिप्रसाद देवकोटाले उद्देश्य लिनु के उडी छुनु चन्द्र एक भनेको केही समयपछि मात्र निल आर्मस्ट्रङ चन्द्रमामा अवतरण भए । सोच नै कुनै सफलताको आधार अवश्य हो । दार्श्निक जी बद्रीलार्ड आफ्नो कृति ‘द सिमुलाक्रम’मा सोच व्यवहारभन्दा कैयौं गुणा शक्तिशाली हुन्छ भन्ने मान्यता राख्छन । विश्वका सफल व्यक्तिहरु भन्छन सपना देख, असफल व्यक्तिहरु भन्छन धेरै सपना नदेख । सपना देख्नुपर्छ, उदेश्य राख्नुपर्छ तर त्यस अनुसार कार्य सम्पादन गनुपर्दछ । हामी हाम्रो जीवनकालमा ३ भागको १ भाग सुतेर बिताउँछौं भने ६ वर्ष जति सपना देखेर । हाम्रो हरेक रातको औसत २ घण्टा सपनामा बित्छ । मानव मस्तिष्क र पशुपंक्षीको मस्तिष्कको बिचको अर्को एउटा ठुलो भिन्नता के पनि हो भने पशुपंछीलाई मैले सपना देखें भन्ने कुरा पनि थाहा हुँदैन, निद्रा खुलेपछि सपना नै पूर्णत बिर्सिहल्छन, र प्रभाव पनि शुन्य हुन्छ । जर्मन बैज्ञानिक Kekule ले Benzene को Molecule Structure पत्ता लगाउन कति कोशिस गरे, तर सकेनन् । सपनामा सर्पहरु मुखमा पुच्छर हाली गुजुल्टिएको देखे । जब बिउंझिए अरु Organic Compound जस्तै Linear Structure होइन की Benzene को Circular Structure हुँदोरहेछ भन्ने कुराको ज्ञान खुल्यो ।

हाम्रा नेताहरूले नेपाललाई आगामी १० वर्षभित्र सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने कल्पना गर्न थालेका छन् । साँच्चै नै नेपाललाई यी मुलुकहरूको स्तरमा पु¥याउने हो भने ती देशहरूमा विगतमा भएका विकास प्रक्रियालाई बुझ्नुपर्दछ र त्यसबाट पाठ पनि सिक्नुपर्दछ । यसका लागि उनीहरूले जस्तै हामीले पनि आफ्नो वैज्ञानिक दक्षतामा वृद्धि गर्नुपर्दछ । अहिले हामी सवै नयाँ नेपाल निर्माणको कुरा गरिरहेका छौं । अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा छ ।सपना सपना मात्र नहोस,सपना बिपना भई साकार बनोस । नेपाललाई सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने सबै नेपालीहरुको सपना साकार पार्नै पर्दछ । हिजो नमस्कार गरेर देवताको रुपमा पुजा गर्ने चन्द्रमामा मानिस पुगिसकेको छ । कतिपय असम्भव कुरालाई बिज्ञानले सम्भव बनाइ दिएको छ । तर त्यसको पछाडि बिकासित देशले चालेको दूरदर्शी बैज्ञानिक कदमको परिणाम हुन । हामीले आशा गरे जस्तो समृद्ध नेपालको निर्माण गर्ने हो भने हामीले हाम्रो वैज्ञानिक क्षमतामा द्रुतगतिले विकास गर्नै पर्छ र विज्ञान प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पार्नै पर्दछ । हाम्रो नेपाललाई विश्वको नमुना देश बनाउनुपर्दछ । नेपाल बनाउनको लागी हामीमा इच्छाशक्ति चाहिन्छ ।

१२ वैशाखमा आएको महाविनाशकारी भूकम्पले मुलुकको सम्पूर्ण संरचनालाई तहसनहस पार्नुका साथै मुलुकलाई महाविपत्तिमा धकेले पनि यसले नयाँ नेपालको निर्माण गर्नका लागि नयाँ आधारसमेत निर्माण गरिदिएको छ । यो प्राकृतिक विपद्ले महाविनाश ल्याए पनि यसलाई अवसर र चुनौतीको रूपमा लिएमा यसले समृद्ध र उन्नत नेपालको निर्माण गर्न सघाउ पु¥याउँछ । राजनीतिले गर्न नसकेको नवनिर्माण भूकम्पको झट्काले गर्न सक्ने सम्भावनाहरू छन । सबै नेपालीको ओठमा हाँसो फर्काउनु आवश्यक छ । शोकलाई शक्तिमा बदलौं र नयाँ नेपाल निर्माणमा जुटौं । नेपाल हाम्रो घर हो, सपना हो, यसको पुननिर्माण गरौ । सम्पुर्ण नेपालीहरुले पाठ सिकेर नयाँ नेपाल निर्माणमा एकजुट भएर अघि बढ्नुपर्दछ । नयाँ नेपाल निर्माणको विस्तृत खाँकासहितको योजना नै अघि सार्न सकेका छन् । हामी सबै नागरिकहरु आफूसँग जे स्रोत, साधन र क्षमता छ, त्यसलाई प्रयोग गर्दै नव नेपाल निर्माणका लागि अग्रसर हुनुपर्ने अवस्था आएको छ । नयाँ नेपाल निर्माणका लागि हामी कसरी अघि बढ्न सक्छौ त ? यसवारे गम्भीर छलफल र विचार विमर्श हुन जरुरी छ । जनता विकास चाहन्छ । विकास बिना सम्पन्नता सम्भव छैन । सिंगै नेपालको भुगोल, प्राकृतिक स्रोत साधन, जनशक्ति, आदिको राम्रो अध्ययन गरेर विस्तृत योजना तयार पार्नु पर्छ । विज्ञ, राजनीतिज्ञसहितको टिमवाट विस्तृत अध्ययन गरी तयार पारिएको यस्तो प्रारम्भिक योजनामाथि खुल्ला छलफल चलाइनु पर्छ र जनतावाट समेत सुझाव माग्नुपर्छ । सबैतिरको सुझाव प्राप्त भएपछि यो योजनालाई तत्कालिन (१– २ वर्षसम्म), अल्पकालीन (३–८ वर्षसम्म ) तथा दीर्घकालीन (१०–१५ वर्षसम्म) रुपमा पूरा गर्ने लक्ष्य तोकी कार्यान्वयनमा लगिहाल्नु पर्छ । हामी नेपालको विकासका लागि “एक गाउँ, एक समुह, एक एकीकृत योजना” को नीति अबलम्बन गर्नुपर्छ ।

हामी प्राकृतिक स्रोत, साधन र संस्कृतिमा संसारमै धनी छौ । नेपाललाई संसारकै सुन्दर र सर्वश्रेष्ठ देश बनाउन सकिन्छ । यस्तो मुलुक चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड भएको छ । जसद्धारा प्राकृतिक स्रोत, साधनको समुचित उपयोग गरेर तथा पर्यटकहरूलाई आर्क्षित गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यसबारेमा पनि राज्यले विशेष पहल गर्नु जरुरी देखिन्छ र त्यसको लागी उचित वातावरण बनाउनु पर्दछ । राज्यले चाहे जे पनि हुन्छ काम गर्ने इच्छाशक्ति हुनुपर्छ । हामी टाढा जानु पर्दैन, नजिकको देश भुटान हिजोसम्म कहाँ थियो ? उसले छोटो समयमा हाइड्रो पावरको बिकासले कति धेरै परिवर्तन गरिसक्यो । हामी भने अध्यारोमा छामछुम गरेर बसेका छौं । हामीभन्दा पछाडी बिजुली बाल्ने जापान कहाँ पुगिसक्यो ? हामी आधा दिन सधै बिजुलीबिना बस्नु परेको छ । केही दशक अघिसम्म विकासोन्मुख मुलुकको दर्जामा रहेका एसियाका कैयौं मुलुकहरू हाल विकसित मुलुकका सदस्य बनिसकेका छन् । हामीले सशस्त्र युद्घ भोगेको १० वर्षको अविधिमा नै थाइल्यान्ड, मलेसिया, सिंगापुर, ताइवानजस्ता छिमेकीको प्रगतिबाट हाम्रो गणतन्त्रले सिक्नुपथ्र्यो । ३ करोड जनसंख्या भएको मलेसियामा २ करोड सवारीसाधन रहेको तथ्यांक देखिन्छ । लगभग ३० वर्ष पहिले समान आर्थिक अवस्था रहेको मलेसिया २०२० बाट विकसित राष्ट्रमा उक्लने तयारीमा छ । हामीलाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुन पनि निकै कठिन छ ।

सरकारले पोखरा, धरान र ललितपुर उपमहानगरपालिकालार्ई हरित सहर’ र काठमाडौं उपत्यका, लुम्बिनी र निजगढलार्ई स्मार्ट सिटी’का रुपमा विकास गर्ने गरेको घोषणालाई अघि बढाई हाल्नुपर्छ । पूर्व पश्चिम बिधुतीय रेलमार्ग र उतर–दक्षिण करिडरको काम तिब्रताका साथ अघि बढाउनुपर्छ । नेपाल सरकारले सन् २०३० सम्ममा देशभर ९३५९३५ किलोमिटर सडक विस्तार गर्ने योजना र सन् २०३० सम्ममा नेपालका ९९% घरधुरीमा विधुत् सुविधा उपलब्ध गराउने योजना अघि बढाई हाल्नुपर्छ ।खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । सन् १९९० कै परीक्षण अनुसार मकवानपुर धियालको तीनभंगाले–कालोपानी खोला क्षेत्रमा करीब ५ सय १२ मिटरको लम्बाइ र १५ मिटर मोटाइमा युरेनियम भण्डार रहेको अन्वेषण गरिएको छ । भविष्यमा देश संघीयतामा गएर अद्योगिकरणतर्फ प्रवेश गर्दा हाम्रो पुरै ८३००० मेगावाट जलविद्युत क्षमता पर्याप्तनहुन सक्दछ । सानो १ मेगावाटको बिजुली उत्पादन गर्न समेत लगभग १५ करोड रुपैंया चाहिन्छ । यसको तुलनामा आणविक उर्जा धेरै सस्तो हुन जान्छ । पानी–पानी मात्र होइन अब खानीमा पनि लगानी गर्नुपर्छखानी, पानी, पर्यटन र मानव संशाधनको समूचित विकास एवम् दोहनबाट राष्ट्रलाई समृद्धिको बाटोमा अघि बढाउने सङ्कल्प राजनीतिक नेतृत्वले नगरेसम्म आर्थिक क्रान्ति कोरा कल्पनामात्र हुन्छ ।

दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र ताइवानजस्ता देशहरूले आफूलाई विकासोन्मुख देशको सूचीबाट विकसित देशको खुट्किलोमा पुयाई सकेका छन् भने हाम्रा निकट छिमेकी भारत र चीन अठोटका साथ प्रगतिका पथमा द्रूत गतिले लम्किरहेका छन् । यी दुवै राष्ट्र सन् २०२५ सम्ममा विश्वकै शक्तिशाली आर्थिक केन्द्रका रूपमा स्थापित हुने अनुमान अर्थशास्त्रीहरू गर्दछन् । यी देशहरूले प्राप्त गरेको आर्थिक उन्नतिका कारणहरू मध्ये एक प्रमुख कारण यिनीहरूले समयमा नै राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधिको महत्वलाई स्पष्ट बुझ्नु र आत्मसात् गर्नु हो । विगतका केही दशकमा यी मुलुकहरूले विज्ञान तथा प्रविधिका उच्चस्तरीय संरचनाहरूमा गरेको विकास अनुकरणीय छ । विकसित मुलुकहरूमा वैज्ञानिक क्षमताको विकास एकदिनमा भएको होइन । विज्ञान तथा प्रविधिका विकासका लागि दशकौंसम्म ती मुलुकका राजनीतिक नेतृत्वले लिएको दृढ अठोटका कारण यो सम्भव भएको हो । विश्वका उदाउँदा छिमेकी देशहरू भारत र चीन दुवै अन्तरिक्ष युगमा प्रवेश गरी सकेकोले गर्दा नेपालमा पनि विज्ञान प्रविधिको विकास गर्न इच्छाशक्ति भएको राजनेता, राजनीतिक प्रतिवद्धता र राष्ट्रिय विज्ञान नीति तत्कालै बनाई पाइला चाली हाल्नु पर्दछ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु पर्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!