मुख्य समाचार

स्थानीय चुनावमा सेना परिचालन हुन्छ : गृहराज्यमन्त्री बानियाँ

काठमाडौं, २३ चैत, २०७३ । गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय चुनावमा सुरक्षाका लागि नेपाली सेना परिचालन गरिने बताउनुभयो । साथै एक हप्ताभित्रै मतदान केन्द्र र निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहराज्यमन्त्री बानियाँले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन सुरक्षा विशेष योजना स्वीकृत गरेर मातहतमा पठाइसकेको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने बताउदै भन्नुभयो, ‘सेना परिचालन हुन्छ, सेनालाई कस्तो भूमिकामा परिचालन गर्ने भन्नेबारे सरकारले निर्णय गर्छ, सेना परिचालन गर्न आवश्यक छ ।’ गृहराज्यमन्त्री बानियाँले मधेसी मोर्चाले पनि चुनावमा भाग लिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘तराई मधेसमा अहिले चुनावको व्यापक तयारी भइरहेको छ, मोर्चाले पनि चुनावमा भाग लिन्छ, यसमा कुनै दुई मत छैन ।’ उहाँले मोर्चा चुनावमा सहभागी हुँदैन कि भनेर शंका नगर्न आग्रह पनि गर्नुभयो ।

सरकारले अहिले बैशाख ३१ गतेको निर्वाचनलाई दुई चरणमा गर्ने भनेर नभनेको समेत स्पष्ट पार्नुभयो । बानियाँले भन्नुभयो, ‘चुनाव एकै चरणमा हुन्छ, गृह प्रशासनको तयारी देशभरि बैशाख ३१ गते निर्वाचन सम्पन्न गर्ने रहेको छ, अहिले निर्वाचन दुई चरणमा गर्ने भनेर सरकारले परिकल्पना गरेको छैन ।’ राज्यमन्त्री बानियाँले नेपाल प्रहरीको आईजीपी चाडै नियुक्त गरिने बताएका छन् । उनले भने, ‘अदालतको निर्णय सम्मान गर्दै सरकारले चाडै आईजीपी नियुक्त गर्छ, अहिले नेपाल प्रहरी आईजीपीविहीन छैन ।’ कहिलेसम्म नियुक्त गर्नुहुन्छ त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘छिट्टै हुन्छ, तपाईहरुले यो खबर चाँडै थाहा पाउनुहुन्छ, एक दुई दिनमै पनि हुनसक्छ ।’

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!