मुख्य समाचार

अदालतको आदेश अनुसार छिट्टै आईजीपी नियुक्त हुन्छ : गृहराज्यमन्त्री बानियाँ

काठमाडौं, २३ चैत, २०७३ । गृहराज्यमन्त्री इन्द्र बहादुर बानियाँले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउनको लागि सरकारले स्थानीय तह सूरक्षा विशेष योजना स्वीकृत गरेर मातहतमा पठाईसकेको बताउनु भएको छ । मन्त्री बानियाँले एक हप्ताभित्रै मतदान केन्द्र र निर्वाचन क्षेत्रमा सूरक्षा निकायलाई परिचालन हुने समेत जानकारी दिनु भयो ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बानियाँले स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने बताउँदै भने,‘सेना परिचालन हुन्छ, सेनालाई कस्तो भूमिकामा परिचालन गर्ने भन्नेबारे सरकारले निर्णय गर्छ, सेना परिचालन गर्न आवश्यक छ, सबै सूरक्षा निकायलाई परिचालन गरेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुन्छ।’ तोकिएकै मिति बैशाख ३१ गते निर्वाचन सम्पन्न गर्नेगरी  गृह प्रशासन अघि बढिसकेको बताउनु भएको छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री बानियाँले मधेशी मोर्चाले पनि चुनावमा भाग लिने विश्वास दिलाउनु भयो । उहाँले ‘तराई मधेशमा अहिले चुनावको व्यापक तयारी भैरहेको छ, मोर्चाले पनि चुनावमा भाग लिन्छ, यसमा कुनै दुई मत छैन् भन्नु  भयो ।’ उहाँले मोर्चा चुनावमा सहभागी हुँदैन कि भनेर शंका नगर्न आग्रह पनि गर्नु भयो ।

त्यस्तै उहाँले सरकारले अहिले बैशाख ३१ गतेको निर्वाचनलाई दुई चरणमा गर्ने भनेर नभनेको समेत स्पष्ट पक्रनु भयो । बानियाँले चुनाव एकै चरणमा हुन्छ, गृह प्रशासनको तयारी देशभरी नै एकै चरणमा अर्थात बैशाख ३१ गते निर्वाचन सम्पन्न गर्ने रहेको र  अहिले निर्वाचन दुई चरणमा गर्ने भनेर सरकारले परिकल्पना नगरेको बताउनु भयो ।

उहाँले मधेशी मोर्चाको माँग सम्बोधन गर्नको लागि सरकारले आन्तरिक गृहकार्य गरिरहेको स्पष्ट पार्नु भयो । मन्त्री बानियाँले संविधान संशोधनमा पूर्ण प्रतिबद्ध छौं, हाललाई प्रदेशको सिमांकनलाई उच्चस्तरीय आयोग बनाएर टुँगो लगाउनेगरी अघि बढ्ने तयारी भैरहेको बताउनु भयो । फरक प्रसँगमा मन्त्री बानियाँले नेपाल प्रहरीको आईजीपी पनि चाँडै नियुक्ती हुने जनाउनु भयो । उहाँले सम्मानित अदालतको निर्णय सम्मान गर्दै सरकारले चाँडै आईजीपी नियुक्त गर्ने बताउनु भयो ।

कहिलेसम्म नियुक्ती गर्नुहुन्छ त भन्ने पत्रकारको एक प्रश्नमा उहाँले ‘छिट्टै हुन्छ, तपाईहरुले यो खबर चाँडै थाहा पाउनुहुन्छ, एक दुई दिनमै पनि हुनसक्छ । त्यस्तै उहाँले आईजीपी यसलाई नै बनाउनु भनेर अदालतले नाम किटान नगरेको समेत जिकिर गर्नु भयो । उहाँले अदालतले कसैको पनि नाम किटान गरेर यसलाई नै आईजीपी बनाउनुपर्छ भनेर निर्णय नगरेको बताउनु भयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!