अर्थ-वाणिज्य

६ दिनमा ५८ हजार खसीबोका बिके

आश्विन २८, २०७३ ।  दसैंको ६ दिनमा व्यवसायी र खाद्य संस्थानमार्फत करिब ५८ हजार खसीबोका र च्याङ्ग्रा बिक्री भएको छ । संस्थान र चौपाया व्यवसायी संघ कलंकीको तथ्यांक अनुसार ६ दिनमा करिब ४७ हजार ८ सय खसीबोका/च्याङ्ग्रा बिक्री भएको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी चौपाया संघले बिक्री गरेको छ । संघले फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलि पल्टसम्म ५५ हजार बिक्री गरेको संघका अध्यक्ष दीपक थापाले बताए । ‘दसैंका लागि फूलपातीको एक दिनअघिदेखि बिक्री सुरु गरेको थियो । करिब ६ दिनमा ५५ हजार बिक्री भयो,’ उनले भने । उनका अनुसार एउटा खसीबोकाको मूल्य औसतमा १४ हजार रुपैयाँ पर्छ । जसअनुसार कलंकीबाट मात्रै ७७ करोड रुपैयाँको खसीबोका/च्याङ्ग्रा बिक्री भएको छ । यो कलंकीबाट बिक्री भएको तथ्यांक मात्रै हो । यीबाहेक सडक पेटीमा खसीबोका राखेर व्यापार गर्ने व्यवसायी पनि छन् ।

थापाका अनुसार खसीबोका मुख्यत: भारतको लखनऊ, कर्नाटकलगायत १० स्थानबाट आयात गरी बिक्री गरेको हो । यस्तै, बर्दीया, सल्यान, सुर्खेत, कोहलपुर, कटहरी, गाईघाट, रामेछाप, चितवन, नुवाकोट लगायतबाट पनि राजधानी भित्र्याएर बिक्री गरेको व्यवसायीहरू बताउँछन् । संघका अनुसार उपत्यकाबाट धेरै मानिस दसैं मनाउन गाउँ जाने गरे पनि मासु खाने उपभोक्ताको संख्यामा वृद्धि भएको छ । ‘अघिल्लो वर्षको दसैंमा च्याङग्रा र खसीबोका गरी ४५ हजार बिक्री गरेको थियो । त्यस अवधिमा अधिकांशले पूजा गर्नका लागि बोका खरिद गगरेका थिए,’ उनले भने, ‘यसपालि ५५ हजारमध्ये अधिकांश खसी बिक्री भयो ।’

बिक्री भएका खसीबोकामध्ये ८५ प्रतिशत भारतबाट आयात गरिएको उनले बताए । ती खसीबोका किलोमा ५ सय १० रुपैयाँसम्ममा बिक्री भएको थियो । यसअघि खसीबोका किलोको ४ सय ६० रुपैयाँमा बिक्री गर्ने जनाएको थियो । तर, माग आकासिएपछि मूल्य बढाएर बिक्री गरेको थियो । संस्थानले भने २५ किलोसम्मका खसीबोकाको मूल्य ४ सय ४० र २५ किलोभन्दा माथिलाई ४ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । मागअनुसार सहज व्यवस्था मिलाउन संघले ७ हजार च्याङ्ग्रा समेत राजधानी भित्र्याइएको थियो । च्याङ्ग्रा किलोको ७ सय रुपैयाँमा बिक्री भएको थापाले बताए ।

सरकारले भने किलोको ६ सय ५० रुपैयाँमा च्याङ्ग्रा बिक्री गरेको थियो । चाडबाडमा हुने कालाबजारी रोक्न र बजार नियन्त्रण गर्न संस्थानले विभिन्न जिल्लाबाट खसीबोका राजधानी भित्र्याउने गर्छ । यसपालि पनि संस्थानले ३ हजार भित्र्याउने योजना बनाएको थियो । तर, करिब २८ सय मात्र भित्र्याएर बिक्री गरेको थियो । संस्थानले खसीबोका खरिद गर्न जिल्ला प्रमुख अधिकारीको सयोजकत्वमा खरिद कमिटी गठन गरिएको थियो । स्थानीय प्रशासनले बजार मूल्य निर्धारण गरेपछि काठमाडौंमा ल्याउन ढुवानी भाडा र बजार मूल्यअनुसार व्यवस्थापनले बिक्री मूल्य निर्धारण गरेको हो ।

‘करिब ३ हजार लक्ष्यमध्ये १३ सय खसीबोका र १४ सय ६२ च्याङग्रा ल्याउन सफल भयो । उपत्यका भित्रिएका खसीबोका र च्याङ्ग्रा व्यापारीको भन्दा धेरै सस्तोमा थियो,’ संस्थानका प्रवक्ता पवन कार्कीले भने, ‘मूल्य उद्देश्य बजार हस्तक्षेप गर्नु थियो । त्यसमा सफल भएका छौं ।’ संस्थानले खसीबोका किलोको ४ सय ५० र च्याङ्ग्रा ६ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । बजार भाउभन्दा सस्तोमा पाइन थाले पनि उपभोक्ताको भीड पनि बढेको थियो । तर, पर्याप्त मात्रामा खसी उपलब्ध गराउन नसक्दा अधिकांश उपभोक्ता रित्तै फर्किन बाध्य भएका छन् । संस्थानले बाँके, सुर्खेत, लहान, उदयपुर, सिराहा, जनकपुर, वीरगन्जलगायतबाट खसीबोका ल्यााएको थियो ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएर बिक्री गरेको थियो । यस्तै, दसैंमा कुखुराको मासुको कारोबार पनि बढेको व्यवसायीहरू बताउँछन् । नेपाल पेल्ट्री व्यवसायी संघका अनुसार फूलपातीदेखि ५ दिन उपत्यकामा दैनिक ३ लाख किलो मासु बिक्री भएको थियो । उपत्यका बाहिर भने २ लाख बिक्री भएको संघका अध्यक्ष जगबहादुर बीसीले बताए । चाडपर्वमा होटलहरू बन्द भए पनि खुुकुराको मासुको खपत २० प्रतिशतले बढेको उनले बताए । ‘दसैंमा मुख्यत: खसीबोकाको कारोबार हुने गर्छ । तर, गत वर्षको तुलनामा कुखुराको मासुको खपत २० प्रतिशतले बढेको छ,’ अध्यक्ष बीसीले भने । संघका अनुसार प्रतिकिलो मासुको औषत मूल्य २ सय ८५ रुपैयाँमा छ । जसअनुसार ५ दिनको अवधिमा उपत्यकामा मात्रै ४२ करोड ७५ लाख रुपैयाँको कारोबार भएको संघले जनाएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!