अर्थ-वाणिज्य

घरजग्गा कर्जा साढे २ खर्ब

आश्विन २८, २०७३। गत साउनसम्म घरजग्गा (रियल स्टेट) मा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ५३ अर्ब रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट प्रभावित कुल कर्जाको यो करिब १५ प्रतिशत हो । उक्त कर्जामा १ करोड रुपैयाँभन्दा कम मूल्यका घर वा आवास बनाउने प्रयोजनका लागि खरिद भएका घडेरीहरूमा प्रवाह भएको कर्जा पनि समावेश छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको बढीमा १० प्रतिशत रकम रियल स्टेटमा प्रवाह गर्न सक्छन् । गत असारमा रियल स्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी २ खर्ब ५० अर्ब रुपैयाँ थियो । यो कुल कर्जाको करिब १४ प्रतिशत भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष ०६४/६५ मा राष्ट्र बैंकले रियल स्टेटको लगानीमा कडाइ गरेकाले यो क्षेत्रमा वित्तीय संस्थाको लगानी घटेको थियो । तर, पछिल्ला एक/दुई वर्षयता यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो क्रममा छ । विगतमा कडाइ गरिएका केही व्यवस्थाहरूमा राष्ट्र बैंक लचिलो बन्दै गएकाले यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको हो । गत वर्षको विनाशकारी भूकम्पपछि केही समय घरजग्गा कारोबार केही सुस्ताए पनि पछिल्ला केही महिनायता फेरि बढ्दै गएको सरोकारवालाहरू बताउँछन् ।

०७३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले सेयर प्रमाणपत्र धितोमा ३७ अर्ब २८ करोड रुपैयाँ मार्जिन प्रकृतिको (मार्जिन लेन्डिङ) कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको २ दशमलव २ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । सेयर बजारको वृद्धिसँगै यस्तो कर्जा पनि बढ्दै गएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले मार्जिन लेन्डिङ कर्जा बढाएका हुन् ।

यस्तै, चालू आर्थिक वर्षको पहिलो महिनामा साना तथा मझौला व्यवसायमा वाणिज्य बैंकहरूले ३५ अर्ब ७४ करोड मात्र कर्जा प्रवाह गरेका छन् । यो कुल प्रवाहित कर्जाको साढे २ प्रतिशत हो । सोही अवधिमा आयात कर्जा ५ दशमलव ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत साउनसम्म वाणिज्य बैंकहरूले ४ अर्ब १५ करोड रुपैयाँ आयात कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षमा बैंकहरूको यस्तो कर्जा ७२ अर्ब ६८ करोड रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ० दशलमव ७ प्रतिशतले बढ्यो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ० दशमलव ४ प्रतिशतले घटेको थियो । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा ० दशमलव ९ र वित्त कम्पनीको ० दशमलव ५ प्रतिशतले बढ्यो । तर, विकास बैंकहरूको ० दशमलव ६ प्रतिशतले घट्यो ।

वार्षिक बिन्दुगत आधारमा गत साउनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा गएको कर्जा २५ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । ०७३ साउनसम्म कृषि क्षेत्रको कर्जा ० दशमलव ६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रको ० दशमलव ३ प्रतिशत, निर्माण क्षेत्रको १ दशमलव ४ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको ० दशमलव ३ प्रतिशत, सेवा उद्योगको १ दशमलव ७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रको कर्जा ० दशमलव ७ प्रतिशतले बढेको छ ।

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६० दशमलव ७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमश: ५९.३ प्रतिशत र १२.९ प्रतिशत थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!