वास्तुशास्त्रशास्त्र

ख्याल राख्नुहोस् ! घरजग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु

ख्याल राख्नुहोस् ! घरजग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु ! वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनीयरिंग र आकीटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास भइरहेको भन्न सकिन्छ । उद्योग, नहर, कुवा, इनार, मन्दिर, घर, अफिस, बजार आदिको निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको वर्णन वास्तुशास्त्रमा गरिएको हुन्छ ।

घर निर्माणको लागि जमीन खरिद गर्दा वास्तुमा आधारित कुराहरुको विशेष ध्यान राख्नु पर्दछ । आफ्नो घरमा खुशियाली बनाउनको लागि यी कुराहरुले महत्वपूर्ण भूमिका खेल्दछ । मानिसको सपना हुन्छ मेरो जग्गा होस, घर होस, गाडी होस, टन्न बैंक व्यालेन्स होस । यहि सपना पुरा गर्नको लागी मानिसहरु रातदिन, घामपानी, हुरीबतास नभनीकन धन, सम्पति, पैसा, मान, प्रतिष्ठा र इज्जत कमाउनको लागी दौडी रहेका हुन्छन् । यसरी धेरै दुःख गरी कमाएको धन, सम्पती, पैसाको सही सदुपयोग गर्नु आवश्यक छ । त्यसैले घरजग्गा किन्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

जग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरु

जग्गा भनेको जीवनमा एकचोटी मात्र किन्न सकिन्छ । यदि जग्गा किनेर बेचिहाल्ने हो भने पनि उपयुक्त जग्गा नै हुनुपर्छ । यदि जग्गा किनेर घर बनाएर बस्ने हो भने त झन धेरै कुरामा विचार पुयाएर मात्र किन्नु उपयुक्त हुन्छ ।

१. जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ ।

२. जग्गासम्म पुग्ने बाटो कति फिटको छ । मोटरसाइकल तथा गाडी जान्छ कि जादैन विचार पुयाएर मात्र छनौट गर्नुपर्छ ।

३. वास्तुशास्त्र अनुसारको जग्गा छ कि छैन त्यो कुरामा पनि विचार पुयाउनुपर्छ ।

४. सेवा र सुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः– ढल, विजुली, यातायाल, स्कुल, अस्पताल आदि ।

५. जग्गाको लोकेशन पनि ठीक ठाउँमा छ कि छैन । त्यो कुरामा पनि विचार पुयाउनु पर्छ ।

६. भीर पहिरो वा नदी कटानले असर नहुने खालको जग्गा हुनुपर्छ ।

७. जग्गाको तिरो तिरेको छ कि छैन । जग्गा रैकर अथवा गुठी कुनको हो त्यो पनि हेर्नुपर्छ । जग्गामा मोहीको हक छ कि छैन त्यो कुरामा पनि विचार पुयाएर मात्र जग्गा खरिद गर्नुपर्छ ।

८. नक्सा र भोग समान छ छैन जाँच्नुपर्छ । मुद्दा मामिला रोक्का भएको जग्गा लिनु हुदैन ।

९. उच्च विद्युत चाँप प्रसारण रेखा भन्दा १०-१५ मिटर टाढा जग्गा हुनुपर्दछ ।

घर किन्दा ध्यान दिनुपर्ने कुराहरु

१. घर कति सालमा बनेको हो, घर बनाउदा कस्तो किसिमको सामग्रीहरु प्रयोग गरिएको थियो आदि कुरा घर बनाउने व्यक्ति घर धनीलाई नै भेटेर सबै कुराकानी र विचार पुयाएर मात्र घर किन्नुपर्छ ।

२. घर पिलर सिस्टमको हो कि हैन त्यो कुरामा पनि विचार पुयाउनुपर्छ ।

३. भूकम्प प्रतिरोधात्मक घर बनेको छ कि छैन अथवा कति रेक्टर स्केल सम्मको भूकम्प थेग्न सक्छ त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ ।

४. घरको लोकेशन ठाउँ पनि विचार पुयाउनु पर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छोडेको छ छैन हेर्नुपर्छ ।

५. सेवा तथा सुविधाको हिसाबले कस्तो छ ? त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः पार्किङ्ग, बत्ती, पानी, ढल आदिको व्यवस्था कस्तो छ ? त्यो कुरामा पनि विचार पुयाउनु पर्छ ।

६. वास्तुशास्त्र अनुसारको जग्गाको लोकेसन तथा बास्तुशास्त्र अनुसार घर बनेको छ कि छैन त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ ।

७. घरको मोहडा काठमाण्डौको हिसाबले पूर्व, दक्षिण छ कि छैन । घाम र पर्ने पानीको हिसावले गर्दा पूर्व, दक्षिण फर्केको घर उपयुक्त हुने हुदाँ यस कुरामा पनि विचार पुयाएर मात्र घर किन्नु राम्रो हुन्छ ।

८. कति फीटको बाटोमा घर बनेको छ । घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल जान्छ कि जादैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।

९. सार्वजनिक सेवा र सुविधाको हिसाबले घर भएको ठाउ कतिको महत्वपूर्ण छ त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः– यातायातको सुविधा, विद्यालयको सुविधा, अस्पतालको सुविधा, किनमेल गर्नको लागी बजारको सुविधा, नगद कारोबार गर्नको लागी बैक तथा वित्तिय संस्थाहरुको सुविधा, सुरक्षाको सुविधा आदि धेरै कुरामा विचार पुयाएर घर किन्नुपर्छ ।

१०. समाजमा कस्ता किसिमका मानिसहरु बसोबास गर्छन । समाजमा आफु घुलमिल हुन सक्छु कि सक्दिन अर्थात त्यो किसिमको समाज मेरो लागी उपयुक्त छ कि छैन । त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ ।

११. प्राकृतिक तथा शान्त तथा सफा सुग्घरको वातावरण छ कि छैन । त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः– गाडीको आवाज, कलकारखानाको आवाज, अन्य मेसिनरी सामानहरु चलाउदा आउने आवाज, मान्छेहरुको आवाज होहल्ला हुन्छ कि हुदैन आदि धेरै कुरामा विचार पुयाएर उपयुक्त शान्त तथा हरियाली वातावरणमा घर छान्नु उपयुक्त हुन्छ ।

१२. घरको कर तिरेको छ कि छैन ? जग्गा रैकर वा गुठीको के हो ? घर जग्गामा मोहीको स्वामित्व छ कि छैन आदि सबै कुरामा विचार पुयाएर मात्र घर किन्नुपर्छ ।

१३. घर किनेको ठाउँ वरीपरि खुल्ला ठाउँ छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । भूकम्प आउदा भाग्नको लागी खुल्ला ठाउँ पनि हुन आवश्यक छ ।

१४. बर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो सो प्रयोजन गर्न पाइने हो होइन अध्ययन गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!