उर्जाविचार-विश्‍लेषण

ललितपुरको इमाडोलमा सफल नमुना परीक्षण गरिएको ग्यासको निष्कर्ष के ?

ललितपुर, ५ कात्तिक । ललितपुरको इमाडोलमा सफल नमुना परीक्षण गरिएको ग्यासको निष्कर्ष के ? १९७८ सालमा जापानी सहयोग नियोग (जाइका) ले काठमाडौ उपत्यकामा प्राकृतिक ग्‍यास भएको भन्दै अध्ययन सुरु गरेको थियो। जाइकाले गरेको अध्ययन अनुसार पानी र ग्यासको अनुपात १:४ थियो। खानी तथा भूगर्भ विभागले गरेको अध्ययन परिक्षण अनुसार पानी र ग्‍यासको अनुपात १५ इमाडोलमा १: १५ पाइएको छ।

भूगर्भ विभागले थापाथली इन्जिनियरिङसँगको सहकार्यमा बनाएको यो प्लान्टमा जमिन मुनिबाट ड्रील गरेर पाइपमा पानी सँगै ग्यास पनि आउँछ। एकातिर पानी पठाएर अर्कोतिर ग्यास भण्डारण गर्ने गरिन्छ। खानी तथा भूगर्भ विभागका प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार यो प्लान्टमा ३ सय ९० मिटर जमिन मुनी ड्रिल गरिएको छ।  पानी/ग्यासको अनुपात १: १५ रहेको छ। जुन थोरै भएको उनले बताए।

राजधानीमै भएको प्राकृतिक ग्यसको नमुना परीक्षणको शुक्रबार दिउँसो उद्योगमन्त्री नविन्द्रराज जोशीले निरीक्षण गरे । मन्त्री जोशीले प्राकृतिक ग्यासबाट आगो बालेर नमुना परीक्षण सफल भएको देखाए । यस अघि नेपालमा प्राकृतिक ग्यास परीक्षण गरिएको भए पनि सफल परीक्षण भएको थिएन।

भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास । यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए । तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउन असम्भव छैन भन्ने देखाएको छ । केही हदसम्म यो सपना यथार्थमा परिणत भएको छ ।

तर व्यवसायिक उत्पादन भने असम्भव 

उक्त अयोजनामा सक्रिय प्राविधिकहरुका अनुुसार यो एउटा परीक्षण प्लान्ट मात्र भएकोले यसबाट व्यवसायिक उत्पादन सम्भव भने छैन। व्यवसायिक उत्पादनको लागि जमिनुमुनीको ग्यास रिजरभायर कति छ भनेर अध्ययन गर्नुपर्ने जुन प्रविधि,लगानी र जनशक्तीको हिसाबले सम्भव नभएको बताउँछन् अयोजना प्रमुख पृथ्वीलाल श्रेष्ठ।

सन् १९७८ मा जाइकासँगको सहकार्यमा सुरु भएको ग्यास आयोजनाले उपत्यकामा १४ स्थानमा ड्रिल गरेर प्राकृतिक ग्यास भएको पत्ता लगाएको थियो। उक्त स्थानलाई तीन ब्लकमा विभाजन गरेको विभागले इमाडोललाई सी ब्लकमा राखेको छ जसको क्षेत्र ८ किलोमिटर रहेको छ।

व्यवसायिक उत्पादन सम्भव नभएपनि ग्यासको परीक्षण भने सहज भएको र सरकारले तदारुकता देखाए व्यवसायिक उत्पादन पनि सम्भव हुने अधिकारीहरुले बताएका छन्। मन्त्री जोशीले भने यही आर्थिक वर्षमा अर्को स्थानमा ड्रिल गरेर ग्यास उत्पादन थालिने र व्यवसायिक उत्पादनको लागि पनि अध्ययन प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!