मुख्य समाचार

ललितपुरको इमाडोलमा पाइपलाइनबाटै उद्योगमन्त्रीले ग्यास बालेर गरे उदघाटन

ललितपुर, ५ कात्तिक । ललितपुरको इमाडोलमा पाइपलाइनबाटै उद्योगमन्त्री नविन्द्रराज जोशीले ग्यास बालेर उदघाटन गरे। नेपालमा पहिलो पटक प्राकृतिक ग्यास (मिथेन) उत्खननको नमुना परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।  खानी तथा भूगर्भ विभागले शुक्रबार ललितपुरको इमाडाेलमा सफलतापूर्वक प्राकृतिक ग्यासको नमुना परीक्षण गरेको हो ।

खानी तथा भूगर्भ विभागले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसको सहयोगमा पहिलो पटक नेपालमै ग्यासको नमुना परीक्षण गरेको हो । सन् १९७८ मा स्थापित काठमाडौं ग्यास प्रोजेक्ट मार्फत् शुक्रबार ग्यासको नमुना परीक्षण गरिएको हो ।

विभागले इमाडोलसहित राजधानीका १४ स्थानबाट प्राकृतिक ग्यास उत्पादन गर्न सकिने बताएको छ । विभागले विभिन्न क्षेत्रको २६ वर्गाकिमीमा १४ वटा ग्यास वेल ड्रिल गरिसकेको छ । ग्यास वेल ड्रिल भएका क्षेत्रलाई तीन ब्लकमा बाँडिएको छ । इमाडोलमा तीन सय ५० मिटर गहिरो नयाँ वेल पछिल्लो वर्ष राखिएको हो ।

ग्यास उत्पादनको औपचारिक सुरुवात गर्दै मन्त्री जोशीले यो नेपाली सीप, प्रविधिको उच्चतम प्रयोगबाट सम्भव भएको  बताए। उत्साहजनक सुरुवात भएकोले प्राकृतिक ग्यासको क्षेत्रमा निकै सम्भावना देखाएको बताए।  जोशीले भने,‘यो हाम्रो सुरुवात हो यसले सम्भावनाको ढोका खोलेको छ।’

भूगर्भ विभागले थापाथली इन्जिनियरिङसँगको सहकार्यमा बनाएको यो प्लान्टमा जमिन मुनिबाट ड्रील गरेर पाइपमा पानीसँगै ग्यास पनि आउँछ। एकातिर पानी पठाएर अर्कोतिर ग्यास भण्डारण गर्ने गरिन्छ। खानी तथा भूगर्भ विभागका प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार यो प्लान्टमा ३९० मिटर जमिन मुनी ड्रिल गरिएको छ।  पानी/ग्यासको अनुपात १: १५ रहेको छ। जुन थोरै भएको उनले बताए।

राजधानीमै भएको प्राकृतिक ग्यसको नमुना परीक्षणको शुक्रबार दिउँसो उद्योगमन्त्री नविन्द्रराज जोशीले निरीक्षण गरे । मन्त्री जोशीले प्राकृतिक ग्यासबाट आगो बालेर नमुना परीक्षण सफल भएको देखाए । यस अघि नेपालमा प्राकृतिक ग्यास परीक्षण गरिएको भए पनि सफल परीक्षण भएको थिएन।

भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास । यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए । तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउन असम्भव छैन भन्ने देखाएको छ । केही हदसम्म यो सपना यथार्थमा परिणत भएको छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!