यौन जिज्ञासा

किन यौनसम्पर्क पीडादायी भएको होला ?

Dr. Rajendra Bhadra

 

 

 

 

 

  • डा. राजेन्द्र भद्रा

सामान्यत: यौनसम्पर्क सुखमय हुनुपर्ने हो र यसमा मानिसले उत्कृष्ट सुख प्राप्त गर्ने भएकाले यसलाई चरमसुख पनि भनिन्छ, तर सबैमा त्यस्तो हुँदैन । कतिपय कारणले यौनसम्पर्क पीडादायी हुनपुग्छ । पीडादायक तथा अप्ठयारो यौनसम्पर्कलाई चिकित्सकीय भाषामा Dyspareunia भनिन्छ ।
पुरुषमा पनि यस्तो विभिन्न कारणले हुन्छ, जसमध्ये आधाजसो शारीरिक कारणले भएको मानिन्छ भने आधाजसो मानसिक । लिङ्ग, अग्रचर्म, अण्डकोष, मूत्रनली वा पौरुष ग्रन्थिको शोथ वा संक्रमण पुरुषको यौनसम्पर्क पीडायुक्त हुने शारीरिक कारण हुन् । महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुन सक्छ । यसका पनि दर्जनौं शारीरिक कारण हुन सक्छन् भने मानसिक कारण पनि त्यति नै । यौनसम्पर्क पीडायुक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् ।
अन्य शारीरिक कारणहरूमा योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ । त्यसैगरी भगांकुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडायुक्त हुन सक्छ । योनिद्वार वा Bartholin’s Gland को संक्रमण पनि पीडाको कारण हुन सक्छ । मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि यौनसम्पर्क पीडादायक हुन सक्छ । योनिको संक्रमण वा कुनै रसायनका कारण शोथ भएको छ भने पनि पीडा हुने नै भयो । त्यसैगरी पाठेघरको मुख वा पाठेघरको संक्रमण वा अन्य खराबीमा पनि पीडा हुनसक्छ । तपार्इंले आफूमा कुनै यौन रोग नभएको बताउनुभएको छ तर एकपल्ट स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी रोगको निदान गर्नु बेस होला ।

अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो । यस किसिमको अवस्थालाई Vaginismus भनिन्छ । धेरैजसो अवस्थामा भय अर्थात् डर नै यसको कारण हुन्छ । कसरी मानसिक समस्याले यौनसम्पर्कमा पीडाको समस्या निम्त्याउँछ, यकिनका साथ भन्न गाह्रो छ, तर पहिलो यौनसम्पर्क शारीरिक तथा मानसिक रूपमा पीडादायक भएको स्थितिमा त्यसको असर लामो समयसम्म रहन सक्छ । तपाईंहरूको पहिलो यौनसम्पर्कको अनुभव कस्तो रह्यो, तपाईंले केही लेख्नुभएको छैन । त्यसैले तपाईंमा कुनै डर वा भय छ भने पत्ता लगाई त्यसलाई हटाउनु आवश्यक छ ।

योनिको सुख्खापन 
तपार्इंले योनिको सुख्खापन वा पर्याप्त रस नआउने विषयमा केही लेख्नुभएको छैन । थाहा भएकै कुरा हो, मानव जातिमा यौनसम्पर्कलाई सहज बनाउन योनिबाट प्रशस्त रस आउँछ । यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाव बढ्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन्, तर यसको भित्ता नै रसाएर आउँछ । सुरुमा यी रस योनिको भित्र मात्र रहे पनि निकै निस्किए योनिद्वारभन्दा बाहिर पनि आउँछ । योनिरस कति मात्रा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुन्छ ।

योनि सुख्खा भए यौनसम्पर्क नै पीडादायक बन्छ । आक्कल–झुक्कल योनि सुख्खा हुनु त्यति ठूलो समस्या नहुन सक्छ, तर निरन्तर रूपमा त्यस्तो भए यो चासो विषय बन्न पुग्छ । योनिरस नआए यौनसम्पर्क गर्न नै असजिलो हुन्छ । योनिरस पर्याप्त मात्रामा नभै यौनसम्पर्क गरेका कारणले यस्तो भएको हो र पर्याप्त मात्रामा योनिरस निस्कन्छ जस्तो लाग्दैन भने अन्य चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । त्यसका लागि भ्यासलिन वा त्यस्तै कुनै तेल युक्त चिल्लो पदार्थ उपयोगी हुन्छ, तर त्यसले हाम्रो शरीरमा भएका सूक्ष्म छिद्रलाई बन्द गर्ने सम्भावना भएकाले त्यसको तुलनामा पानीमा घुल्ने चिल्लो पदार्थ (K-Y jelly) प्रयोग गर्नु बढी उपयुक्त हुन सक्छ । कतिपयले थूकलाई राम्रो विकल्पका रूपमा प्रयोग गर्ने गरेका हुन्छन् ।

श्रीमान् रिसाउने कुरा
अपेक्षा गरेअनुसरूप यौन सुख प्राप्त गर्न नपाएको स्थितिमा रिस उठ्नु स्वभाविक हो, तर तपाईं तथा तपाईंको श्रीमान्ले बुझ्नुपर्ने कुरा के हो भने रिसाएर योसमस्या समाधान हुँदैन । तपाईंहरूबीच यो समस्याका बारेमा खुलस्त कुराकानी हुनुपर्छ । यो समस्या दुवैको हो, त्यसैले दुवैले समाधानका लागि प्रयासरत हुनुपर्छ ।

कसरी एक–अर्कालाई सहयोग गर्न सकिन्छ, त्यसका बारेमा छलफल गर्न सकिन्छ । यौन सुख प्राप्तिका लागि योनि–लिङ्ग यौन सम्पर्कलाई सहज बनाउनेदेखि मुख मैथुन वा अन्य यौन क्रियाकलापका बारेमा छलफल गरी सहमतिमा कार्यान्वयन गर्न सकिन्छ ।

साभार :  साप्ताहिक प्रकाशित : श्रावण ६, २०७३

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!