Featuredविज्ञान

नेपाली वैज्ञानिकले पत्ता लगाएका थप ४ क्षुद्रग्रहले पाए अस्थायी नाम

काठमाडौँ, माघ २ । सन् २०२० मा सञ्चालित राष्ट्रिय क्षुद्रग्रह खोज अभियान अन्तर्गत जम्मा ३८० नयाँ क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान गरिएको छ । सोमा चार वटा क्षुद्रग्रहलाई अस्थायी नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यी क्षुद्रग्रहका बारेमा https://minorplanetcenter.net/db_search गएर विस्तृत विवरण हेर्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

अमृत साइन्स क्याम्पसकी छात्रा रेजा थापाले २०२० एफओ ११, होराइजन गौतम बुद्ध सेकेण्डरी स्कूल बुटवल रुपन्देहीका विद्यार्थी आविष्कार पौड्याल, बृजेशराज फुल्लेल र अर्बिन्द पाण्डेको समूहले २०२० एचके ३४, सेन्ट जेभियर्स कलेज, माइतीघर काठमाडौँका प्रणव साह, सागर डङ्गोल, गौरव बराल र प्रसन्न ढुङ्गानाको समूहले २०२० एचटी ४९ र त्रिचन्द्र क्याम्पस काठमाडौँका विमल खड्का तथा इशिका पौडेलको समूहले २०२० पीजी १५ नामको क्षुद्र ग्रह पत्ता लगाएका हुन् ।

खोज गर्ने विद्यार्थीलाई सोसाइटीका तर्फबाट अध्यक्ष भट्टराईले पथ प्रदर्शन गर्नुभएको थियो । यदि कुनै क्षुद्रग्रह प्रारम्भिक पहिचान भएको ७÷१० दिनमा पुनः देखिए त्यसलाई अस्थायी नाम दिने गरिन्छ । यसरी अस्थायी नाम पाएका क्षुद्रग्रलाई निरन्तर अवलोकनमार्फत त्यसको कक्षको पर्याप्त जानकारीपछि इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले नम्बर दिएर सुचीकृत गर्छ ।

राष्ट्रिय क्षुद्रग्रह खोज अभियान अन्तर्गत यसरी सूचीकृत भएका क्षुद्रग्रहको नाम राख्ने मौका सम्बन्धित टोलीलाई दिइन्छ । हालसम्म यो कार्यक्रम मार्फत एक हजार ७२ क्षुद्रग्रहको प्रारम्भिक पहिचान भएको सोसाइटीले जनाएको छ । एघार वटा क्षुद्रग्रहले भने अस्थायी नाम पाइसकेका छन् ।

नेपाली वैज्ञानिकले पत्ता लगाएका थप ४ क्षुद्रग्रहले पाए अस्थायी नाम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!