विज्ञान जिज्ञासा

ब्ल्याक होल (Black Hole) भनेको के हो र यसले कसरी असर गर्दछ ?

Gopal Bhandari
गोपाल भण्डारी

ब्रम्हाण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण शक्ति भएको अन्धकारमय अदृश्य भागलाई नै ब्ल्याक होल भनिन्छ । यसले जुनसुकै वस्तुलाई पनि कुनै अस्तित्व बाँकी नराखी बेपत्ता पारिदिन सक्छ । ब्ल्याक होलका बारेमा सर्वप्रथम १८ औँ शताब्दीतिर चर्चा उठाइएको थियो । तथापि वैज्ञानिक आइन्स्टाइनले यसबारे पुनः अनुसन्धान गरेपछि वैज्ञानिक समुदायमा ठूलो कौतुहलता आयो । सन् १९६७ मा आएर भौतिकशास्त्री जोन ह्वीलरले यस बारेमा नयाँ जानकारी प्रकाशमा ल्याए । उनको भनाई अनुसार यसको गुरुत्वाकर्षण शक्ति यति भयानक हुन्छ कि यसले कुनै पनि वस्तु मात्र हैन प्रकाशलाई समेत सजिलै निल्न सक्छ ।

हालै प्रकाशमा आएको विवरण अनुसार हब्बल अन्तरिक्ष टेलिस्कोप मार्फत करीब पाँच करोड प्रकाश वर्ष टाढा ‘एम ८७’ नामको तारापुञ्जका केन्द्रबिन्दुमा केही अनौठो वस्तु देखिएको छ । सूर्यजत्रा करीब दुई अरब भन्दा बढी ताराहरुलाई हाम्रो सौर्य मण्डल जत्रो भागमा कोच्दा जति भार हुन्छ त्यति नै भार त्यसको भएको अनुमान गरिएको छ । वैज्ञानिकहरुको अनुमानमा त्यही नै विशाल ब्ल्याक होल हो । वैज्ञानिकले देखेको त्यो वस्तु वरीपरी घुमिरहेको ग्यासको बादल मात्र हो । त्यो बादल बाटुलो आकारको छ र १९ लाख किलो मिटर प्रतिघण्टाका दरले घुमिरहेको छ । त्यही बादलको घेरामा ब्ल्याक होल रहेको अनुमान गरिएको छ । यसले आफू वरपर आउने कुनै पनि वस्तुलाई आफ्नो शक्तिशाली गुरुत्वाकर्षण शक्तिले तान्ने र वस्तुलाई आफूभित्र हुत्याएर बेतोडले गुमाएर दृश्य जगतबाट बेपत्ता पार्दछ ।

Like & Follow us on Facebook

वैज्ञानिकहरुले ब्ल्याक होलको उत्पत्ति कुनै एउटा शक्तिशाली विशाल ताराको विष्फोटनबाट भएको अनुमान गरेका छन् । त्यस ताराको सबै आणविक ऊर्जा जलेर नष्ट भएका हुनुपर्छ र त्यसपछि सम्पूर्ण तारा नै निकै सानो आकारमा संकुचित भएर घनत्व र गुरुत्वाकर्षण शक्तिमा अति वृद्धि भएको जानकारी दिएका छन् । ब्ल्याक होल ब्रम्हाण्डको १५ अरब वर्षको इतिहासदेखि अनगिन्ती ताराहरुलाई आफूमा समाहित गर्दै शक्तिशाली र चमत्कारपूर्ण प्वाल बन्दै गइरहेको छ । अन्ततः वैज्ञानिकहरुले इतिहासमै पहिलो पटक नेपाली समय अनुसार २०७५ साल चैत्र २७ गते साँझ ६ बजेर ४५ मिनेटमा ब्ल्याक होल (कृष्ण छिद्र) को तस्बिर सार्वजनिक गरेका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!