कृषिराष्ट्रिय समाचार

रैथाने बाली लोप हुँदै

म्याग्दी, २४ असोज । नयाँ जातको विकास र विस्तारसँगै म्यग्दीमा रैथाने बाली लोपोन्मुख अवस्थामा पुगेका छन् । उत्पादन वृद्धिका लागि नयाँ जातको खेती गर्ने क्रमसंँगै स्थानीय घैया, आँगा, अनदी धान, जुनेलो, गहत लगायत जातका बाली लोप हुँदै गएका हुन् । पानी नचाहिने, ढिला रोपे पनि छिटो पाक्ने र सुख्खा सहने विशेषता बोकेका घैया र आँगा जातको धान अधिकांश स्थानबाट लोप भैसकेको छ ।

मध्यपहाडी क्षेत्रमा लगाउन सकिने आँगा धानको चामल र भात रातो रङको हुन्छ । उच्च पहाडी क्षेत्रमा गह्रा, फाँट नभएको ठाउँमा पनि हुने घैया धानका लागि सिंचाइ आवश्यक पर्दैन । पोसिलो मानिने घैया र आँगा औषधीय गुण बोकेका धान हुन् । तल्लो क्षेत्रमा हुने चोट पटक लागेको अवस्थामा औषधिका रूपमा प्रयोग गरिने अनदी जातको धान पनि बिस्तारै खेती हुन छाडेको बाबियाचौर–८, रणवाङका कृषक लक्षिनबहादुर मल्लले बताए ।

नयाँ बाली र बीउतर्फ बढेको आकर्षणसँंगै नयाँ पुस्तालाई पुरानो बालीका बारेमा ज्ञान नहुँदा लोप हुन थालेको मल्लको भनाइ छ । गहुँ, जौ र उवाको स्थानीय जातको खेती पनि घट्दो क्रममा छ । धार्मिक कार्यमा प्रसादका रूपमा प्रयोग हुने र खाँदा स्वादिलो मानिने फुला उठ्ने जुनेलो पनि लोप हुन लागेको अर्को बाली हो । बारीको डिलमा लगाइने जुनेलोसँगै दालका रूपमा उपभोग गर्न सकिने गहतको पनि खेती घट्दै गएको जिल्ला कृषि विकास कार्यालय, बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताएका छन् ।

कार्यालयले स्थानीय बालीको महत्वका बारेमा कृषकलाई जानकारी गराउने र संरक्षणमा अग्रसर बनाउन पहल थालेको छ । रैथाने बालीले स्थानीय हावापानी, वातावरण र मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन् । छिर्केमिर्के सिमी, मिठे र तिते फापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सी, दर्माली, गुडुरा, गौरीया, फुला उठ्ने साना दाना भएको मकै यहाँका रैथाने बाली हुन् । (रासस)

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!