अन्तर्राष्ट्रिय समाचार

सन् २०१६ को अर्थशास्त्रमा नोबेल पुरस्कार दुई अमेरिकी प्राध्यापकलाई

आश्विन २४,२०७३। सन् २०१६ को अर्थशास्त्रमा नोबेल पुरस्कार हार्वर्ड विश्वविद्यालयका ओलिभर हार्ट र म्यासेच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का वेन्ट होल्मस्ट्रोम दुई अमेरिकी प्राध्यापकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

स्विडेनको स्टक होममा नेपाली समय अनुसार सोमबार दिउँसो अर्थशास्त्र तर्फको विजेता घोषणा गरियो। कन्ट्रयाक्ट थ्यौरीमा दिएको योगदानको कदर स्वरुप उनीहरुलाई पुरस्कार दिएको नोवेल निर्णायक समितिले जनाएको छ। उनीहरुको अनुसन्धान ब्याङ्क्रप्ट सम्बन्धी कानुनी प्रावधान र यससँग जोडिएको राजनीतिक संरचनाहरुबारे नीतिगत कदम चाल्न बलियो ‘बौद्धिक पुर्वाधार’ बनेको निर्णायकहरुको मत छ।

उनीहरुको कामले कन्ट्रयाक्ट र इन्स्टिच्युसनको वास्तविक जीवन बुझाउन साँच्चिकै महत्वपुर्ण सावित भएको रोयल स्विडिस एकेडेमीले जनाएको छ। यसले कन्ट्रयाक्ट डिजाइनको नदेखिने चुनौती र जोखिमलाई समेत उजागर गरेको निर्णायक संस्थाको भनाइ छ। ‘उदाहरणका लागि उच्च कार्यकारीलाई कार्यक्षमताको आधारमा पारिश्रमीक दिन कन्ट्रयाक्ट थ्यौरीलाई प्रयोग गर्न सकिन्छ’ एकेडेमीले भनेको छ।

अर्थशास्त्र तर्फको नोवेल जित्ने दुबै प्राध्यापक युरोपमा जन्मिएका हुन्। सन् १९४८ मा बेलायतमा जन्मिएका हार्ट अहिले अमेरिका बसोबास गर्छन्। हार्वर्ड विश्वविद्यालय प्रवेश गर्नु अघि उनले लन्डन स्कुल अफ इकोनोमिक्स र एमआइटिमा समेत प्राध्यापन गरेका थिए।

होल्मस्ट्रोम फिनल्यान्डका नागरिक हुन्। उनी त्यहाँको स्विडिस मातृभाषा बोल्ने अल्पसंख्यक समुहमा पर्छन्। हाल उनी एमआइटीमा अर्थशास्त्र एवं व्यवस्थापन पढाउँछन्। एमआईटी जानु अघि उनले नर्थवेष्ट विश्वविद्यालय र याले विश्वविद्यालयमा प्राध्यापन गरेका थिए।

यो जोडीले पुरस्कार बापत करिब ८० लाख स्विडस क्रोनर (करिब १० करोड रुपैयाँ) पाउनेछन्। आउँदो १० डिसेम्बरमा आयोजना हुने भब्य समारोहमा यस बर्षका सबै नोवेल बिजेतालाई पुरस्कृत गरिनेछ। नर्वे र स्विडेनका सरकारी संस्थाहरुले यो पुरस्कार व्यवस्थापन एवं वितरण गर्छन्। यस बर्षको अर्थशास्त्र तर्फको पुरस्कार पाउनेमा हार्ट र होल्मस्ट्रोम जोडीको मुख्य प्रतिश्पर्धीको रुपमा विश्व बैंकका नयाँ चीफ इकोनोमिष्ट पउल रोमरलाई हेरिएको थियो। (एजेन्सी)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!