राजनीति

शीतल निवासमा प्रचण्ड, ओली र देउवाको जमघट

२७ असोज, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा विहीबार साँझ प्रमुख तीन दलका शीर्षनेताहरुवीच छलफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको शुभकामना आदान-प्रदानका लागि प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई शीतलनिवास बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिका स्वकीय सह-सचिव शिव भट्टराईले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंका अवसरमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरुसँग शुभकामना आदान-प्रदान गरेकी हुन् । राष्ट्रपतिको निम्तो मान्न प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र शेरबहादुर देउवा शीतलनिवास पुगेका थिए । उनीहरुवीच समसामयिक राजनीतिक विषयमा समेत राष्ट्रपतिसँग छलफल भएको स्रोतको भनाइ छ ।

तर, प्रधानमन्त्री कार्यालय स्रोतले भने प्रधानमन्त्रीले राष्ट्रपतिसँग नियमित भेटघाट गरेको जानकारी दिएको छ । मधेसी मोर्चालाई सहमतिमा ल्याउन र संविधान संशोधनको वातावरण बनाउन सरकारले नसकिरहेका बेला अब दशैंपछि नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने चिन्ता सबैमा छ । नेपालीहरुको महान पर्व विजया दशमी पनि अब लगभग सकिएको छ ।

यो अवस्थामा अब सरकार कसरी अघि बढ्ला भन्ने सबैतिर चासो भइरहेका बेला प्रमुख दलका नेताहरुलाई राष्ट्रपतिले एक ठाउँमा जुटाएकी हुन् । यसैवीच दशें सकिनासाथ राजनीतिक माहौल तात्नै लागेका बेला प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदैछन् । भारतको गोवामा हुन लागेको बि्रक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो मान्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

भारत भ्रमाका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई समेत भेट्नेछन् । उता दशैंको मुखमा बेलायत भ्रमणमा रहेका मधेसी गठबन्धनका नेता उपेन्द्र यादवसमेत काठमाडौं फर्किएका छन् । उनले संविधान संशोधन गर्न नसक्ने हो भने प्रचण्ड सरकारको औचित्य नरहने भन्दै काठमाडौं आउनासाथ धम्की दिएका छन् ।

यो अवस्थामा प्रधानमन्त्री प्रचण्डका लागि एमालेसमेतको सहमति जुटाएर संविधान संशोधनको वातावरण बनाउनु निकै चुनौतिपूर्ण देखिएको छ । प्रमुख  प्रतिपक्षी दल नेकपा एमालेले अहिलेसम्म संविधान संशोधनमा सरकारलाई सघाउने संकेत दिएको छैन । यसले गर्दा सरकार एकातिर मधेसी मोर्चाको र अर्कातिर प्रतिपक्षी दलको दाहोरो दबावमा फस्दै गएको छ । यही राजनीतिक गतिरोधका वीचमा राष्ट्रपतिले तीन नेतालाई एकठाउयँ जुटाउने प्रयास गरेकी छिन् । साथै शनिबार एमाले अध्यक्ष केपी ओलीले पनि दशैंको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम राखेका छन् ।

साभार : अनलाइनखबर

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!